सिंगो बस्ती मदिराको सिकार

-१० वर्षयता १६ जना सेवनकर्ताले ज्यान गुमाए -विधवा भएका महिला र बालबालिकाको बिचल्ली -महिलाले मानसिक तनाव, कुटपिट यातना सहनुपरेको छ 
खगेन्द्र अवस्थी

बाडिलेक (बैतडी) — सदरमुकामसँग जोडिएको गढीमुन्तिर ७२ दलित परिवारको बाडिलेक गाउँँ छ । दिनभर प्राय: सुनसान हुने बस्ती साँझ परेपछि मदिराले मातेकाहरूको होहल्लाले अशान्त बन्छ । 

सिंगो बस्ती मदिराको सिकार

दशरथचन्द नगरको बाडिलेक मदिरा पिएर मातेकाहरूको होहल्लाले प्रभावित हुने क्रम दशकभन्दा धेरै अघिदेखि हो । २ घरबाहेक पुरुष भएका सबै घरमा मदिरा नपिएका भेटिँदैनन् । धामी र पुजारी भएका २ परिवारमा मात्रै मदिरा चल्दैन । खेती गर्न जग्गा नहुँदा ज्याला–मजदुरी गरेर दैनिकी चलाउने यहाँका सबैजसो पुरुष दिनभर मजदुरीमा जान्छन् । केही परिवारका महिला र बालबालिका पनि मजदुरी गर्छन् ।

फर्कंदा मदिरा सेवन नगरी फर्कने प्राय: सबै हुन्छन् । कहिलेकाहीं काममा जान छाडेर पनि मदिरा पिएर घरमै बस्छन् । ‘कहिले दिउँसै गाउँमा बस्न नसकिने स्थिति बन्छ, हरेक राति गाउँ छाडेर जान मन लाग्छ ।’

दुरादेवी भुलले भनिन्, ‘गाउँमा नबसी कहाँ जानु, बेइज्जत हुने गरी हल्ला हुन्छ ।’

साँझ पर्दा मजदुरीबाट फर्कनेहरू मदिराका सिसी बोकेर आउँछन् । पुरुष काममा नगएका दिन महिलाले नै मदिरा ल्याइदिने गरेको स्थानीय बताउँछन् । एउटा परिवारमा झगडा हुँदा छिमेकी बोल्दैनन् । गाली र यातना पाउने डरले छिमेकमा भएको झगडमा कसैले नबोल्ने गरेको एक स्थानीयले बताए । गाउँ पुग्ने नयाँ जोकोहीलाई स्थानीय महिला र वृद्धवृद्धाले मदिरा नियन्त्रणकै माग राख्छन् । ‘समस्या त धेरै छन्, काम गर्न नसके चुलो बल्दैन, बल्लतल्ल आएको खानेपानीको महँगो बिल तिर्न धौधौ भएको छ,’ राधा भुलले भनिन्, ‘आम्दानी मदिरा र जुवातासमा सकिन्छ, मदिरा बन्द गरिदिए गाउँकै स्थिति सुध्रिन्थ्यो ।’

मदिरा सेवनकै कारण लडेर, बिरामी परेर १० वर्षयता १६ जनाको मृत्यु भइसकेको छ । मदिरा सेवनले केहीको राति घटनास्थलमै, कसैको उपचारका क्रममा र बिरामी परेर १६ जनाको ज्यान गएको स्थानीय शेरीराम भुलले बताए ।

‘मदिराका कारण बिहे गर्ने उमेर हुँदै गरेका बुहारीहरू विधवा बनेका छन्, साना बालबच्चाको बिचल्ली भएको छ ।’ शेरीरामले भने, ‘कमाउने सहारा गुमेका परिवारमा झन् बिजोग छ । ५/६ छोराछोरीसहित परिवारको जिम्मेवारी महिलाले सम्हाल्ने बाध्यता हुँदा सन्तानको पढाइ र घरायसी काम गर्न समस्या हुने गरेको उनले बताए ।

कमाएको रकम मदिरा र जुवातासमा खर्चिंदा घरखर्च चलाउन समेत समस्या हुने गरेको महिलाहरूको गुनासो छ । गढी, गोठालापानी र शाहीलेक बजारमा कमसल तथा स्वास्थ्यलाई हानिकारक मदिरा छ्यापछ्याप्ती पाइन्छ । यो गाउँ आसपासमै ३ वटा मदिरा पसल थपिएका छन् । नियमित र बढी ग्राहक भएकाले व्यापारीले पसल खोलेको स्थानीयले बताए । ‘नुन/तेल उधारो पाइँदैन, मदिरा जति बेला पनि सजिलै दिन्छन् ।’ स्थानीय शान्ति भुलले भनिन्, ‘सहजै पाइँदा रातदिन सेवन गर्ने बढी छन् ।’

पुरुषहरूले खाए पनि मदिराको असर महिला र बालबालिकामा बढी छ । दिनभर कमाएको रकम साँझ सकिँदा आर्थिक अवस्थामा सुधार देखिन सकेको छैन । गाउँमा राति घरैपिच्छे झगडा र विवाद हुँदा पढाइमा असर परेको छ । मानसिक तनावसँगै कुटपिट र शारीरिक यातना सहन बाध्य रहेको स्थानीय महिलाले बताए । गढीस्थित दशरथ आधारभूत विद्यालय पढ्ने उनीहरूका छोराछोरी नियमित विद्यालय जाँदैनन् । केही अभिभावकसँगै मजदुरीमा र केही कक्षा छाडेर अन्यत्र जाने गरेका छन् । १३/१४ वर्षमै मदिरा खान सुरु गर्ने भएकाले युवा उमेरमा कुलतमा फस्ने र बिरामी पर्ने गरेका छन् ।

दैनिक ५ सयदेखि २ हजारसम्म कमाइ भए पनि खानपिन र जुवातासमै सकिँदा पारिवारिक अवस्था सुधार हुन नसकेको स्थानीयले बताए । ‘दिनभर काम गर्छन् आम्दानी राम्रै हुन्छ, खर्च घटाउन सके जागिरभन्दा बढी बचत गर्न सकिन्थ्यो ।’ राधाले भनिन्, ‘रातदिनको मदिरा, पैसा भए जुवातास । कसरी जोगिन्छ पैसा ?’

मदिरा नियन्त्रणको अनेक प्रयास गर्दा पनि सफल हुन नसकेको महिलाहरू बताउँछन् । मुक्त हलिया समूह, आमा समूह, लगायतका समूहमा आबद्ध छन् । समूहमा आबद्ध महिलाको मदिरा नियन्त्रण प्रयास असफल भएको उनले बताइन् । उनीहरूले मदिरा खाएर आउँनेलाई सिस्नो पानी लगाउने र प्रहरीमा बुझाएका थिए ।

भोलिपल्ट घरबाट जरिवाना रकम लगेर छुटाउनुपर्ने बाध्यताले अभियान छाडेको स्थानीय महिलाले बताउँछन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यो गाउँबाट सबैभन्दा बढी घरेलु र महिला हिंसाका उजुरी आउने गरेका छन् । परिवार र श्रीमान्बाट यातना पाएका महिनामा ८/१० उजुरी आउने र भोलिपल्ट मिलापत्र गरेर फर्कने गरेको प्रहरीले जनायो । महिलाहरूले बडा र नगरपालिका कार्यालयमा मदिरा नियन्त्रणको माग गर्ने योजना बनाएका छन् । ‘हाम्रा दिन यस्तै गए, मदिरा बन्द गरे सन्ततिका दिन सुध्रेलान् ।’ दुरा भुलले भनिन्, ‘कसैले बन्द गरिदिए भगवानै मान्थ्यौं ।’

प्रकाशित : माघ २८, २०७४ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?