सिंगो बस्ती मदिराको सिकार

-१० वर्षयता १६ जना सेवनकर्ताले ज्यान गुमाए -विधवा भएका महिला र बालबालिकाको बिचल्ली -महिलाले मानसिक तनाव, कुटपिट यातना सहनुपरेको छ 
खगेन्द्र अवस्थी

बाडिलेक (बैतडी) — सदरमुकामसँग जोडिएको गढीमुन्तिर ७२ दलित परिवारको बाडिलेक गाउँँ छ । दिनभर प्राय: सुनसान हुने बस्ती साँझ परेपछि मदिराले मातेकाहरूको होहल्लाले अशान्त बन्छ । 

बैतडीको दशरथचन्द नगरपालिका–४, बाडिलेक गाउँ ।तस्बिर : खगेन्द्र/कान्तिपुर

दशरथचन्द नगरको बाडिलेक मदिरा पिएर मातेकाहरूको होहल्लाले प्रभावित हुने क्रम दशकभन्दा धेरै अघिदेखि हो । २ घरबाहेक पुरुष भएका सबै घरमा मदिरा नपिएका भेटिँदैनन् । धामी र पुजारी भएका २ परिवारमा मात्रै मदिरा चल्दैन । खेती गर्न जग्गा नहुँदा ज्याला–मजदुरी गरेर दैनिकी चलाउने यहाँका सबैजसो पुरुष दिनभर मजदुरीमा जान्छन् । केही परिवारका महिला र बालबालिका पनि मजदुरी गर्छन् ।
फर्कंदा मदिरा सेवन नगरी फर्कने प्राय: सबै हुन्छन् । कहिलेकाहीं काममा जान छाडेर पनि मदिरा पिएर घरमै बस्छन् । ‘कहिले दिउँसै गाउँमा बस्न नसकिने स्थिति बन्छ, हरेक रातिगाउँ छाडेर जान मन लाग्छ ।’
दुरादेवी भुलले भनिन्, ‘गाउँमानबसी कहाँ जानु, बेइज्जत हुने गरी हल्ला हुन्छ ।’
साँझ पर्दा मजदुरीबाट फर्कनेहरू मदिराका सिसी बोकेर आउँछन् । पुरुष काममा नगएका दिन महिलाले नै मदिरा ल्याइदिने गरेको स्थानीय बताउँछन् । एउटा परिवारमा झगडा हुँदा छिमेकी बोल्दैनन् । गाली र यातना पाउने डरले छिमेकमा भएको झगडमा कसैले नबोल्ने गरेको एक स्थानीयले बताए । गाउँ पुग्ने नयाँ जोकोहीलाई स्थानीय महिला र वृद्धवृद्धाले मदिरा नियन्त्रणकै माग राख्छन् । ‘समस्या त धेरै छन्, काम गर्न नसके चुलो बल्दैन, बल्लतल्ल आएको खानेपानीको महँगो बिल तिर्न धौधौ भएको छ,’ राधा भुलले भनिन्, ‘आम्दानी मदिरा र जुवातासमा सकिन्छ, मदिरा बन्द गरिदिए गाउँकै स्थिति सुध्रिन्थ्यो ।’
मदिरा सेवनकै कारण लडेर, बिरामी परेर १० वर्षयता १६ जनाको मृत्यु भइसकेको छ । मदिरा सेवनले केहीको राति घटनास्थलमै, कसैको उपचारका क्रममा र बिरामी परेर १६ जनाको ज्यान गएको स्थानीय शेरीराम भुलले बताए ।
‘मदिराका कारण बिहे गर्ने उमेरहुँदै गरेका बुहारीहरू विधवाबनेका छन्, साना बालबच्चाको बिचल्ली भएको छ ।’ शेरीरामले भने,‘कमाउने सहारा गुमेका परिवारमा झन् बिजोग छ । ५/६ छोराछोरीसहित परिवारको जिम्मेवारी महिलाले सम्हाल्ने बाध्यता हुँदा सन्तानको पढाइ र घरायसी काम गर्न समस्या हुने गरेको उनले बताए ।
कमाएको रकम मदिरा र जुवातासमा खर्चिंदा घरखर्च चलाउन समेत समस्या हुने गरेको महिलाहरूको गुनासो छ । गढी, गोठालापानी र शाहीलेक बजारमा कमसल तथा स्वास्थ्यलाई हानिकारक मदिरा छ्यापछ्याप्ती पाइन्छ । यो गाउँ आसपासमै ३ वटा मदिरा पसल थपिएका छन् । नियमित र बढी ग्राहक भएकाले व्यापारीले पसल खोलेको स्थानीयले बताए । ‘नुन/तेल उधारो पाइँदैन, मदिरा जति बेला पनि सजिलै दिन्छन् ।’ स्थानीय शान्ति भुलले भनिन्, ‘सहजै पाइँदा रातदिन सेवन गर्ने बढी छन् ।’
पुरुषहरूले खाए पनि मदिराको असर महिला र बालबालिकामा बढी छ । दिनभर कमाएको रकम साँझ सकिँदा आर्थिक अवस्थामा सुधार देखिन सकेको छैन । गाउँमा राति घरैपिच्छे झगडा र विवाद हुँदा पढाइमा असर परेको छ । मानसिक तनावसँगै कुटपिट र शारीरिक यातना सहन बाध्य रहेको स्थानीय महिलाले बताए । गढीस्थित दशरथ आधारभूत विद्यालय पढ्ने उनीहरूका छोराछोरी नियमित विद्यालय जाँदैनन् । केही अभिभावकसँगै मजदुरीमा र केही कक्षा छाडेर अन्यत्र जाने गरेका छन् । १३/१४ वर्षमै मदिरा खान सुरु गर्ने भएकाले युवा उमेरमा कुलतमा फस्ने र बिरामी पर्ने गरेका छन् ।
दैनिक ५ सयदेखि २ हजारसम्म कमाइ भए पनि खानपिन र जुवातासमै सकिँदा पारिवारिक अवस्था सुधार हुन नसकेको स्थानीयले बताए । ‘दिनभर काम गर्छन् आम्दानी राम्रै हुन्छ, खर्च घटाउन सके जागिरभन्दा बढी बचत गर्न सकिन्थ्यो ।’ राधाले भनिन्, ‘रातदिनको मदिरा, पैसा भए जुवातास । कसरी जोगिन्छ पैसा ?’
मदिरा नियन्त्रणको अनेक प्रयास गर्दा पनि सफल हुन नसकेको महिलाहरू बताउँछन् । मुक्त हलिया समूह, आमा समूह, लगायतका समूहमा आबद्ध छन् । समूहमा आबद्ध महिलाको मदिरा नियन्त्रण प्रयास असफल भएको उनले बताइन् । उनीहरूले मदिरा खाएर आउँनेलाई सिस्नो पानी लगाउने र प्रहरीमा बुझाएका थिए ।
भोलिपल्ट घरबाट जरिवाना रकम लगेर छुटाउनुपर्ने बाध्यताले अभियान छाडेको स्थानीय महिलाले बताउँछन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यो गाउँबाट सबैभन्दा बढी घरेलु र महिला हिंसाका उजुरी आउने गरेका छन् । परिवार र श्रीमान्बाट यातना पाएका महिनामा ८/१० उजुरी आउने र भोलिपल्ट मिलापत्र गरेर फर्कने गरेको प्रहरीले जनायो । महिलाहरूले बडा र नगरपालिका कार्यालयमा मदिरा नियन्त्रणको माग गर्ने योजना बनाएका छन् । ‘हाम्रादिन यस्तै गए, मदिरा बन्द गरे सन्ततिका दिन सुध्रेलान् ।’ दुराभुलले भनिन्, ‘कसैले बन्द गरिदिए भगवानै मान्थ्यौं ।’

प्रकाशित : माघ २८, २०७४ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

३३ हजार घर बिजुलीविहीन

खगेन्द्र अवस्थी

काठमाडौँ — बैतडी– जिल्लाका ३३ हजार घरका बासिन्दा अहिले पनि झरो र टुकीको उज्यालोमा बस्नुपरेको छ। यीमध्ये केहीले सोलार बत्तीको प्रयोग गर्दै आए पनि आर्थिक अवस्था कमजोर भएका अँध्यारोमै बस्न बाध्य छन्।

सदरमुकाममा बिजुली पुगेको ३२ वर्षमा ३० प्रतिशत घरले मात्रै बिजुली प्रयोग गर्न पाएका छन्। स्थानीय उत्पादित, भारतबाट आयात गरेको, अपी हाइड्रोपावर, चमेलिया जलविद्युत् र राष्ट्रिय प्रसारण लाइन पुग्दा पनि गाउँमा विद्युत् लाइन विस्तार नहुँदा स्थानीय अँध्यारोमै बस्नुपरेको हो।

०४२ सालमा झुलाघाट हुँदै भारतबाट ११ केभी प्रसारण लाइन बैतडी सदरमुकाम जोडिएको थियो। ०४७ मा पाटनमा सुर्नयागाड साना जलविद्युतबाट २ सय किलोवाट उत्पादन गरियो। ०५६ सालमा ३३ केभी राष्ट्रिय प्रसारण लाइन जोडिए पनि ३३ हजार घरधुरीमा विद्युत् पुग्न सकेको छैन।

जिल्लाका ४५ हजार घरधुरीमध्ये १२ हजारमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ। ३ हजार घर लघु जलविद्युतबाट उत्पादित बिजुलीको आंशिक पहुँचमा छन्। राष्ट्रिय प्रसारण लाइन तथा भारतबाट आयात गरिएको बिजुली र पछिल्लो समय चमेलिया आयोजना सम्पन्न भएर बत्ती बले पनि ग्रामीण बस्तीसम्म पुग्न सकेको छैन। ४ नगर र ६ गाउँपालिका रहेको बैतडीमा नगरपालिकामा समेत बिजुली पुग्न नसक्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन्। ८ मेगावाटको अपी हाइड्रोपावर र ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको उत्पादनस्थल आसपासकै बासिन्दाले समेत बिजुली बाल्न नपाएको स्थानीयले बताए।

पुर्चौडी, मेलौली नगरपालिकामा राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन। पाटन र दशरथचन्द नगरपालिकाकै सबै गाउँमा विद्युत् पुगेको छैन। पोल गाडिएको वर्षौं बित्दासमेत बत्ती बल्न नसकेको पाटन नगरपालिका ४ का चक्रबहादुर चन्दले बताए।

जिल्लामा थोरै बजेट आउने भएकाले सीमित ठाउँमा मात्र विद्युत् विस्तार गरिँदै आएको वितरण केन्द्र बैतडीले जनाएको छ। केन्द्रका प्राविधिक महानन्द जोशीले जिल्लाका सबै घरमा विद्युत् पुर्‍याउन ५ अर्ब बजेट र ३ वर्ष समय लाग्ने बताए। विद्युत् सुविधा नहुँदा गाउँपालिका र बडा कार्यालयको काम प्रभावित हुने गरेको छ। ग्रामीण क्षेत्रमा स्थानीय खोलाबाट उत्पादन गरिएको लघु जलविद्युत् योजना मर्मतसम्भार र आर्थिक अभावमा बन्द छन्। ती योजना बन्द हुँदा बिजुली प्रयोग गर्दै आएकाले सोलार, मट्टितेलको भर पर्नुपर्छ।

लघु जलविद्युत् आयोजना बन्द भएसँगै गाउँमा बिजुलीबाट सञ्चालनमा आएका साना उद्योग, कुटानी पिसानी मेसिन बन्द भएको पुर्चौडी नगरपालिका ७ का गणेशदत्त जोशीले बताए। सिगास, डिलाशैनी, पञ्चेश्वर, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा बिजुली पुग्न सकेको छैन। सोलार जडान गरेर कामकाज गर्दै आए पनि हिउँदमा घाम लाग्न दिनुपर्ने कर्मचारी बताउँछन्। विद्युत् असुविधाका कारण गाउँपालिकामा बैंकिङ सेवा सुरु हुन सकेको छैन।

यो वर्ष सम्पन्न निर्वाचनका हरेक उम्मेदवारले गाउँमा सडक, बिजुली, खानेपानी, स्वास्थ्यलगायत आधारभूत सुविधा पुर्‍याउने बाचा गरेका थिए। सर्वसाधारण मतदाता भने उक्त बाचा पूरा हुने पर्खाइमा छन्। ‘गाउँमा सबै सुविधा ल्याउँछौं भनेका थिए, गाडी चढ्न र बिजुली बाल्न पाए सिंहदरबार नै पुगेको सम्झन्थ्यौं,’ सिगास ३ का वीरसिंह धामीले भने, ‘चुनाव जितेर जनप्रतिधिले भर्खर काम सुरु गरेका छन्, १/२ वर्ष हेरौं।’

प्रकाशित : माघ १३, २०७४ ११:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT