१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

साइकल क्यारिङले थेगेको बजार

भवानी भट्ट

कञ्चनपुर — प्राय:जसो भन्सार कार्यालयहरूमा ठूलठूला ट्रक तथा अन्य मालबाहक साधन भरिभराउ हुन्छन् । अझ ठूला भन्सारहरूमा मालबाहक ट्रकहरूको लामो लाइन लाग्ने गर्छ । भन्सार काट्न घण्टौं कुर्नुपर्ने अवस्था हुन्छ । तर कञ्चनपुर भन्सार कार्यालयको अवस्था भने फरक छ ।

साइकल क्यारिङले थेगेको बजार

जब वनबासा पुलको गेट खुल्छ सयौंको संख्यामा मालसामान लोड गरिएका साइकलको ताँती नेपालतिर अघि बढ्छ ।

यसरी साइकलमा ढुवानी हुने मालसामानले यहाँका मुख्य बजार र भन्सारलाई चलायमान बनाएको छ । ट्रकमा सामान भित्रिएको त फाट्टफुट्ट मात्रै देखिन्छ ।

यसरी साइकलबाट हुने ढुवानीले बजार र भन्सारसँगै धेरै महिलाले आफ्नो गुजारासमेत चलाएका छन् । सय/डेढ सयको हाराहारीमा महिलाहरू वनबासादेखि महेन्द्रनगर बजारसम्म साइकलमा सामान ढुवानी गर्छन् । कतिपयले वनबासाबाट ल्याएको सामान गाउँगाउँ डुलेर बिक्री पनि गर्छन् । यसरी सामान बोक्ने अधिकांश विपन्न र एकल महिलाहरू छन् । बिहानै घरबाट निस्कने उनीहरू साँझ अबेर मात्रै घर फर्किने गर्छन् ।

‘यही पेसाले छोराछोरीको पढाइदेखि घर खर्च चलेको छ,’ १२ वर्षदेखि साइकलमा मालसामान बोक्ने काम गरिररहेकी दैजीकी ५० वर्षीया राधा खातीले भनिन्, ‘३–४ क्विन्टल सामान ल्याउन सके ६–७ सय बच्छ ।’ उनले यही काम गरेर पक्की घरसमेत बनाएकी छन् । महेन्द्रनगरका व्यापारीले दिएको अर्डरअनुसार मालासामान ल्याउने गरेको उनीहरू बताउँछन् । खासगरी चिनी, दाल, चामललगायतका खाद्यान्न तथा कपडा र विभिन्न किसिमका फास्टफुड ढुवानी गर्ने गरेको उनीहरू बताउँछन् ।

‘साइकलमा ३–४ क्विन्टलसम्म बोकेर ल्याउँछौं,’ ६–७ वर्षदेखि सामान बोक्ने काम गरिरहेकी भीमदत्त नगरपालिका ११ भुजेलाकी अञ्जु बुढा भन्छिन्, ‘अर्डरअनुसारको सामान ल्याउँछौं, प्राय:जसो दैनिक उपभोग्य सामान ओसार्छाैं ।’ उनले यही कर्मले घरखर्च धानेको बताइन् ।

वनबासा पुल दैनिक ४ पटक खुला हुन्छ । विगतमा दिनमा ३ पटक गरी ४ घण्टा मात्रै खुला रहने वनबासा पुल अहिले ४ पटक गरी दिनमा ७ घण्टा खुल्ने गरेको छ । बिहान साइकलमा समान नआए पनि दिउँसो र साँझको समयमा वनबासा पुलदेखि एक/डेढ किलोमिटरको दूरीमा रहेको गड्डाचौकी भन्सारसम्म सामानले भरिएका साइकलको लस्कर हुन्छ । कतिपय महिला भारी साइकल धकेल्नसमेत राजमार्गमा धकेल्न सकिरहेका हुँदैनन् । एक/डेढ वर्षअघिसम्म यसरी सामान बोक्ने महिलाको संख्या ३ सयभन्दा बढी पुगेको थियो ।

तर अहिले एक/डेढ सय मात्र रहेको बुढाले बताइन् । भारतमा जीएसटी प्रणाली लागू हुनु र भन्सार कार्यालयले समेत प्यान माग्न थालेपछि धेरैले यो पेसा छाडेका हुन् । अहिले १५/२० महिलाले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । उनीहरूले नै अन्यलाई समेत सामान बोक्ने काम दिन्छन् । कतिपय महिलाले भन्सारसम्म मात्रै बोक्ने र त्यसपछि प्यान भएकालाई जिम्मा लगाउँछन् ।

भन्सार कार्यालयका अनुसार दैनिक ७/८ लाखका हाराहारीमा राजस्व संकलन हुने गरेको छ । यसमा करिब १ लाख साइकलबाट मालसामान ओसार्नेहरूबाट हुने गरेको छ । ‘तरकारी, फलफूल र कपडालगायतका सामान ट्रकबाट आउँछ,’ प्रमुख भन्सार अधिकृत मदन दाहालले भने, ‘किराना सामान जति साइकलमै आउने गर्छ, विगतको तुलनामा साइकलमा सामान बोक्नेको संख्या घट्दै गएको छ ।’ यहाँको नाकाबाट तरकारी, खाद्यान्न, फलफूल र कपडा लगायतको सामान आयात हुन्छ ।

तर निश्चित समयका लागि मात्रै पुल खुल्ने भएकाले साना व्यवसायीहरूले सवारी साधनको प्रयोगको विकल्पमा साइकलबाटै सामान बोकाउने गर्छन् । करिब सय वर्षअघि निर्माण भएको शारदा ब्यारेजको पुल जीर्ण भएको भन्दै भारतीय पक्षले निश्चित समयावधि तोकेकाले व्यवसायीहरू निर्बाध सामान आयात गर्दैनन् ।

प्रकाशित : फाल्गुन १, २०७४ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?