सांसदलाई डेराकै पिरलो

अर्जुन शाह

धनगढी — सभामुखको निर्वाचन सम्पन्न गरिसकेको प्रदेशसभाका आगामी बैठकहरू नियमित रूपमा सञ्चालन हुने भएपछि सांसदहरू बासस्थानका लागि डेरा खोज्ने ध्याउन्नमा छन् ।

सोमवार सभामुखको निर्वाचन सम्पन्न गरिसकेपछि चियापसलमा भेला भएका सांसदहरू एक–आपसमा डेराकै चिन्ता व्यक्त गरिरहेका भेटिए । धेरैजसो सांसदहरू उपयुक्त घरमा डेरा पाउनै मुस्किल परेको आपसमा सुनाउँदै थिए । केही सांसदहरू फ्ल्याट लिएर बस्नु उपयुक्त हुने कुरा आपसमा सुझाउँदै थिए । केही भने पूरै घर लिएर ३–४ जना सांसद ‘संगै मिलेर बसौं’ भन्ने प्रस्ताव गर्दै थिए । केहीले भने २ कोठासम्मको डेरा खोजिरहेको बताइरहेका थिए । सांसदहरू आफूहरूले डेरा खोज्ने क्रममा देखेका आफूले घरधनीलाई डेरा मागिरहेको घरका फोटोहरूआफ्नो मोबायलबाट एकअर्कालाई देखाउँदै थिए ।
प्रदेशको राजधानी तोकिएपछि धनगढीमा घरभाडा र जग्गाको दररेट एकाएक उकालो लागेको छ । यहाँको प्रदेशसभामा ५३ सदस्य छन् । कैलालीको धनगढी आसपास क्षेत्रका सांसदबाहेक कसैको पनि धनगढीमा घर नभएको सांसदहरू बताउँछन् । सबै सांसदहरू डेराकै खोजीमा छन् । डेरा व्यवस्था नभएसम्म सांसदहरू आफन्त र होटलमा बसिरहेको बताउँछन् । ‘डेरा नपाउन्जेल आफन्तको घरमा आश्रय लिएर बसिरहेको छु,’ अछामकी सांसद दुर्गा विकले भनिन्, ‘डेरा खोज्न थालेको धेरै दिन भयो, भेटिएकै छैन ।’ कञ्चनपुर र टीकापुर क्षेत्रका सांसदहरू भने बैठक बसेको दिन घरबाटै आउने–जाने गरिरहेका छन् ।
तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर तथा पहाडका ७ जिल्लाबाट निर्वाचित सांसदहरूको यस प्रदेशसभामा उपस्थिति छ । ‘अहिले धेरैलाई डेरा खोज्ने चटारो परेको छ,’ बैतडीका सांसद लीलाधर भट्टले भने । सांसदहरूले धनगढी बजारमा भाडादर चर्को रहेको भनेका छन् । ‘४ कोठाको फ्ल्याट १६ हजार घटीमा पाउन मुस्किल देखियो,’ कञ्चनपुरका सांसद तारा लामा तामाङले भने, ‘एउटा मात्र कोठा लिनुपरे कम्तीमा ४ हजार पर्छ ।’
धनगढीका घरवालाले एकाएक भाडादर बढाएकोमा समेत केही सांसदहरू गुनासो गरिरहेका छन् । ‘सांसदले डेरा खोज्न गएपछि घरधनीले हवात्तै बढी भाडा भन्ने गरेको पाइयो,’ अछामकी सांसद दुर्गाले भनिन्, ‘जतिसुकै भाडादर कायम गरे पनि हुने भन्ने भावनासमेत कतिपयमा पाइयो ।’ अग्रपंक्तिका कतिपय सांसदहरू भने मन्त्री हुने आसमा डेराबारे दोधारमा छन् । मन्त्री पाइहाले भने आवाससमेतको व्यवस्था हुने भएकाले मन्त्रीको दौडधुपमा रहेका सांसदहरू भने अन्योलमा देखिएका छन् ।
धनगढीमा हसनपुर, शिवनगर, तारानगर, उत्तर बेहडी, बेहडीलगायतका क्षेत्रहरू आवासीय बस्तीहरू हुन् । डेरा खोज्नेहरूले सुरुमा यिनै क्षेत्रमा चहार्छन् । डेरा खोज्नेहरू धेरैले यी स्थानमा नपाए मात्र अन्यत्र खोजी गर्छन् । तर यी बस्तीहरूमा समेत डेरा पाउन सहज छैन । धनगढीमा अधिकांशले आफ्नो परिवारजन बस्ने प्रयोजनका लागि निजी घर निर्माण गरेको देखिन्छ । त्यसैले खोजेजस्तो घरमा डेरासमेत पाउन सजिलो छैन् । उप–नगरपालिकाको तथ्यांकअनुसार वार्षिक ७ सय घर निर्माण हुने गरेका भए पनि आवासका लागि भाडामा दिने उद्देश्यले घरहरू निर्माण गर्नेको संख्या न्यून छ । प्रदेशसभा सांसदहरूले पाउने सेवा सुविधा अहिलेसम्म निर्धारण गरिएको छैन । प्रदेशसभाले त्यससम्बन्धी आवश्यक नियमहरू बनाउन बाँकी छ । आफूहरूले प्राप्त गर्ने सेवासुविधाबारे हालसम्म कुनै ठेगान नभए पनि दैनिकी भने खर्चिलो भइरहेको कञ्चनपुरका लालबहादुर खड्काले बताए ।

प्रकाशित : फाल्गुन १, २०७४ ११:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

साइकल क्यारिङले थेगेको बजार

भवानी भट्ट

कञ्चनपुर — प्राय:जसो भन्सार कार्यालयहरूमा ठूलठूला ट्रक तथा अन्य मालबाहक साधन भरिभराउ हुन्छन् । अझ ठूला भन्सारहरूमा मालबाहक ट्रकहरूको लामो लाइन लाग्ने गर्छ । भन्सार काट्न घण्टौं कुर्नुपर्ने अवस्था हुन्छ । तर कञ्चनपुर भन्सार कार्यालयको अवस्था भने फरक छ ।

सामान लोड गरिएको साइकल भन्सारभित्र ल्याउँदै महिलाहरू । तस्बिर : भवानी/कान्तिपुर

जब वनबासा पुलको गेट खुल्छ सयौंको संख्यामा मालसामान लोड गरिएका साइकलको ताँती नेपालतिर अघि बढ्छ ।
यसरी साइकलमा ढुवानी हुने मालसामानले यहाँका मुख्य बजार र भन्सारलाई चलायमान बनाएको छ । ट्रकमा सामान भित्रिएको त फाट्टफुट्ट मात्रै देखिन्छ ।
यसरी साइकलबाट हुने ढुवानीले बजार र भन्सारसँगै धेरै महिलाले आफ्नो गुजारासमेत चलाएका छन् । सय/डेढ सयको हाराहारीमा महिलाहरू वनबासादेखि महेन्द्रनगर बजारसम्म साइकलमा सामान ढुवानी गर्छन् । कतिपयले वनबासाबाट ल्याएको सामान गाउँगाउँ डुलेर बिक्री पनि गर्छन् । यसरी सामान बोक्ने अधिकांश विपन्न र एकल महिलाहरू छन् । बिहानै घरबाट निस्कने उनीहरू साँझ अबेर मात्रै घर फर्किने गर्छन् ।
‘यही पेसाले छोराछोरीको पढाइदेखि घर खर्च चलेको छ,’ १२ वर्षदेखि साइकलमा मालसामान बोक्ने काम गरिररहेकी दैजीकी ५० वर्षीया राधा खातीले भनिन्, ‘३–४ क्विन्टल सामान ल्याउन सके ६–७ सय बच्छ ।’ उनले यही काम गरेर पक्की घरसमेत बनाएकी छन् । महेन्द्रनगरका व्यापारीले दिएको अर्डरअनुसार मालासामान ल्याउने गरेको उनीहरू बताउँछन् । खासगरी चिनी, दाल, चामललगायतका खाद्यान्न तथा कपडा र विभिन्न किसिमका फास्टफुड ढुवानी गर्ने गरेको उनीहरू बताउँछन् ।
‘साइकलमा ३–४ क्विन्टलसम्म बोकेर ल्याउँछौं,’ ६–७ वर्षदेखि सामान बोक्ने काम गरिरहेकी भीमदत्त नगरपालिका ११ भुजेलाकी अञ्जु बुढा भन्छिन्, ‘अर्डरअनुसारको सामान ल्याउँछौं, प्राय:जसो दैनिक उपभोग्य सामान ओसार्छाैं ।’ उनले यही कर्मले घरखर्च धानेको बताइन् ।
वनबासा पुल दैनिक ४ पटक खुला हुन्छ । विगतमा दिनमा ३ पटक गरी ४ घण्टा मात्रै खुला रहने वनबासा पुल अहिले ४ पटक गरी दिनमा ७ घण्टा खुल्ने गरेको छ । बिहान साइकलमा समान नआए पनि दिउँसो र साँझको समयमा वनबासा पुलदेखि एक/डेढ किलोमिटरको दूरीमा रहेको गड्डाचौकी भन्सारसम्म सामानले भरिएका साइकलको लस्कर हुन्छ । कतिपय महिला भारी साइकल धकेल्नसमेत राजमार्गमा धकेल्न सकिरहेका हुँदैनन् । एक/डेढ वर्षअघिसम्म यसरी सामान बोक्ने महिलाको संख्या ३ सयभन्दा बढी पुगेको थियो ।
तर अहिले एक/डेढ सय मात्र रहेको बुढाले बताइन् । भारतमा जीएसटी प्रणाली लागू हुनु र भन्सार कार्यालयले समेत प्यान माग्न थालेपछि धेरैले यो पेसा छाडेका हुन् । अहिले १५/२० महिलाले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । उनीहरूले नै अन्यलाई समेत सामान बोक्ने काम दिन्छन् । कतिपय महिलाले भन्सारसम्म मात्रै बोक्नेर त्यसपछि प्यान भएकालाईजिम्मा लगाउँछन् ।
भन्सार कार्यालयका अनुसार दैनिक ७/८ लाखका हाराहारीमा राजस्व संकलन हुने गरेको छ । यसमा करिब १ लाख साइकलबाट मालसामान ओसार्नेहरूबाट हुने गरेको छ । ‘तरकारी, फलफूल र कपडालगायतका सामान ट्रकबाट आउँछ,’ प्रमुख भन्सार अधिकृत मदन दाहालले भने, ‘किराना सामान जति साइकलमै आउने गर्छ, विगतको तुलनामा साइकलमा सामान बोक्नेको संख्या घट्दै गएको छ ।’ यहाँको नाकाबाट तरकारी, खाद्यान्न, फलफूल र कपडा लगायतको सामान आयात हुन्छ ।
तर निश्चित समयका लागि मात्रै पुल खुल्ने भएकाले साना व्यवसायीहरूले सवारी साधनको प्रयोगको विकल्पमा साइकलबाटै सामान बोकाउने गर्छन् । करिब सय वर्षअघि निर्माण भएको शारदा ब्यारेजको पुल जीर्ण भएको भन्दै भारतीय पक्षले निश्चित समयावधि तोकेकाले व्यवसायीहरू निर्बाध सामान आयात गर्दैनन् ।

प्रकाशित : फाल्गुन १, २०७४ ११:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT