३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अब जनताले प्रत्यक्ष विकास निगरानी गर्नेछन्

कान्तिपुर संवाददाता

काठमाडौँ — सुदूरपश्चिममा आर्थिक विकासका लागि लामो समयदेखि क्रियाशील रहेका झपट बोहरा विकास बैंक एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील उनी अछाम १ को क चुनाव क्षेत्रबाट माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसद हुन् ।

अब जनताले प्रत्यक्ष विकास निगरानी गर्नेछन्

बोहरा माओवादीका तर्फबाट प्रदेश ७ को मुख्यमन्त्रीको चर्चामा समेत रहेका थिए । कस्तो विकास ? कस्तो समृद्धि ? बारे बहस चलिरहेको सन्दर्भमा कान्तिपुरका धनगढी संवाददाता डीआर पन्तले सफल व्यवसायी, बैंकर्स, सामाजिक अभियन्तासमेत रहेका बोहरासँग कुराकानी गरेका छन् ।


नागरिकले अपेक्षा गरेजस्तो विकास र समृद्धि सम्भव छ ?

अहिले नै निराश हुनुपर्ने केही भएको छैन । भर्खर प्रदेशसभा बनेको छ । सरकार बन्दै छ । त्यसपछि मात्र संघीयताको अनुभूति सुरु हुन्छ । जनतालाई सहज सेवा, छिटोछरितो विकास, संस्थागत भ्रष्टाचारको अन्त्य र निर्यातमुखी उत्पादनमा विशेष जोड दिने हो भने चाँडै नै समृद्धि हासिल गर्न सकिन्छ । जनतालाई संघीय व्यवस्था लागू भएपछि परिवर्तनको अनुभूति हुने गरी इमानदारीसाथ काम गर्ने हो भने संघीय प्रणाली मात्र होइन समृद्धिका दीर्घकालीन आधार पनि तयार हुन सक्छन् ।


सबैले समृद्धिकै कुरा गरिरहेका छन् आधारभूत तत्त्व के–के हुन ?

हामीसँग २४ हजार मेगावाट बिजुली उत्पादन गर्ने क्षमता छ भनेर मात्र हुँदैन । विकासका आधार तयार गर्नुपर्‍यो । हामीसँग तत्काल समृद्धिका लागि गर्न सकिने के छ ? त्यसमा आधारित भएर समृद्धिका लागि दीर्घकालीन योजना बनाएर अगाडि जानुपर्छ । नयाँखाले मोडालिटी बनाउनुपर्छ विकासका लागि । हामी हरेक कुरामा परनिर्भर छौं । कृषिमा मात्र हामी आत्मनिर्भर हुन सक्ने हो भने रोजगारी सिर्जना हुन्छन् । दक्ष जनशक्तिले देशमा नै राम्रो कमाउन सक्छन् । आधुनिक कृषि खेती, प्राकृतिक साधन र स्रोतको उचित व्यवस्थापन, आन्तरिक लगानीमा वृद्धि, आन्तरिकसँगै आवश्यक वैदेशिक लगानी भित्र्याउन सकियो भने विकास र समृद्धिका आधार तयार हुन सक्छन् ।


आर्थिक कारणले संघीयता धान्न सक्दैन भन्ने सुनिन्छ, तपाईंको धारणा के हो ?

मलाई यस्तो लाग्दैन । संघीयता विकासका लागि हो । समृद्धिका लागि हो । पछाडि पारिएका समाजको हरेक वर्गको विकास र समृद्धिका लागि हो । यो आर्थिक कारणले धान्न सक्ने नसक्ने प्रश्न होइन । जनप्रतिनिधिमा इच्छाशक्ति, इमानदारी हुनुपर्‍यो । राजनीतिक स्थिरता हुनुपर्‍यो, जनतामा निराशा होइन उत्साह वृद्धि भइरहने किसिमले भ्रष्टाचारको अन्त्य हुनुपर्‍यो । प्रकृतिले हामीलाई दिएको अथाह स्रोत साधन हामीसँग छ व्यवस्थित तरिकाले यसबाट फाइदा लिनुपर्‍यो । संसारका दुई ठूला आर्थिक शक्तिका बीचमा रहेका हामीले यीबाट फाइदा लिन सक्नुपर्छ । सबैले सकारात्मक भिजन र दृष्टिकोण राख्ने हो भने संघीयता नै विकासका लागि उत्तम व्यवस्था हुन सक्छ ।


तर व्यवहारमा जनताले परिवर्तनको अनुभव कहिले गर्न पाउनेछन् ?

राजनीतिक अस्थिरताका कारण विगतमा जसरी विकास हुनुपथ्र्यो त्यो हुन सकेन । तर समय फेरिएको छ । जनताले प्रत्यक्ष सहभागी भएर आफ्नो गाउँ–नगर प्रदेशको विकास गर्ने नयाँ अवसर पाएका छन् । विगतवाट पाठ सिक्ने हो । सबैलै सचेत भएर यो अवसरलाई समृद्धिका लागि प्रयोग गर्ने हो । हामीसँग समृद्ध हुन सक्ने धेरै आधारहरू छन् ।

केन्द्रीकृत राज्यव्यवस्थाका कारण विगतमा जसरी विकास निर्माण हुन सकेन, समाज परिवर्तन हुन सकेन, आर्थिक समृद्धि हुन सकेन, अब संघीय व्यवस्थामा त्यो हुन सक्छ भन्ने निष्कर्ष हो । जनताले विकास निर्माणका हरेक विषयमा प्रत्यक्ष निगरानी गर्न सक्नेछन् । नीतिगत रूपमा हुने त्रुटि नहुने गरी सबै अधिकार बाँडिएको छ । तसर्थ अहिले नै निराश हुनुपर्ने, केही हुँदैन भन्ने मनोरोग हटाउनुपर्छ ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?