२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

प्रदेश ७ मा सरकार बनाउने तयारी, मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

डीआर पन्त

धनगढी — प्रदेश नं ७ का प्रमुख मोहनराज मल्लले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेका छन् ।

प्रदेश ७ मा सरकार बनाउने तयारी, मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुखको कार्यालय धनगढीले नेपालको संविधान २०७२ को धारा १८६ को उपधारा २ बमोजिम प्रदेशसभा सदस्यको बहुमत समर्थन स्पष्ट देखिने गरी फागुन ४ गते दिउँसो ११ बजेभित्र प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गर्न भनिएको छ । प्रदेश ७ मा कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकाले यसरी बहुमतसहित दाबी पेस गर्न भनिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले बताए । उनले भने, 'मुख्यमन्त्री नियुक्ति र प्रदेश सरकार गठनबारे राजनीतिक दलहरुसँग प्रदेश प्रमुख मोहनराज मल्लले बुधबार नै आफ्नो कार्यालयमा बोलाएर छलफल समेत गरेका छन् ।'


प्रदेशमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीसँग छलफल गरेका थिए । बुधवार बिहान ८ बजे प्रदेश प्रमुखको कार्यालयमा छलफल भएको थियो । निर्वाचन आयोगले मतपरिणाम बुझाएको एक महिनाभित्र मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था भएको र परिणाम बुझाएको एक महिना पुग्न लागेकाले मुख्यमन्त्री नियुक्तिबारे छलफल भएको हो ।


निर्वाचन आयोगले मतपरिणाम बुझाएको एक महिनाभित्र प्रदेशसभामा बहुमत प्राप्त दलको नेता वा दुई एवं दुईभन्दा बढी दलको समर्थन प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । कुनै पनि दलको बहुमत नभए वा निर्धारित अवधिमा दलहरुले बहुमत पुर्‍याएको पत्र प्रदेश प्रमुखलाई बुझाउन नसके प्रदेशको ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने र मुख्यमन्त्रीले ६ महिनाभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।


यता प्रदेशसभामा दुई तिहाई बहुमत रहेको वाम गठबन्धनले भने मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मल्ललाई पत्र पठाउने तयारी गरेको जनाएको छ । सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्री नियुक्त गर्न आफ्ना सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाई दुई दिनभित्रै बुझाउने तयारी एमाले र माओवादीले गरेका छन् । माओवादी केन्द्रका नेता भट्ट डोटीबाट निर्वाचित सांसद हुन् । ‘सर्वदलीय छलफलपछि संभवत: भोलि नै मुख्यमन्त्री चयनका लागि दुई दलका सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाउँछौं’माओवादी केन्द्रका सचिवालय सदस्य एवं प्रदेश नम्बर सातका ईन्चार्ज लेखराज भट्टले भने । एमाले र माओवादी दुवै दल आन्तरिक छलफलमा रहेकाले मुख्यमन्त्रीको सिफारिसमा केही ढिला भएको उनले बताए ।


पार्टी केन्द्रमा भएको सहमतिअनुसार मुख्यमन्त्री नियुक्तिका लागि दुवै दलका सांसदहरु हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाउन लागिएको एमाले सांसद दीर्घ सोडारीले बताए । प्रदेश नम्बर सातमा प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने सहमति एमाले र माओवादीबीच भएको थियो । माओवादी प्रदेश कमिटीले डोटीबाट निर्वाचित सांसद भट्टलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय यसअघि नै गरिसकेको छ ।


एमालेले संसदीय दलको नेता चयन गरिनसकेकाले पनि मुख्यमन्त्री नियुक्तिमा ढिलाई भएको हो । एमालेले संसदीय दलको नेता चयन नगरे पनि सांसदहरुको हस्ताक्षरमा मुख्यमन्त्रीका लागि दावी पेस गरिने माओवादीका एक सांसदले बताए । एमालेमा संसदीय दलको नेतामा दीर्घ सोडारी र प्रकाश शाहले दाबी गरेका छन् ।


प्रदेशसभामा एमालेका २५, माओवादीका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद छन् । प्रदेशसभाको सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । मन्त्रीका लागि पनि एमाले र माओवादीभित्र सांसदहरुले लबिइङ थालेका छन् ।


प्रकाशित : फाल्गुन २, २०७४ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?