मुख्यमन्त्री भट्टको शनिबार सपथ 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश ७ को मुख्यमन्त्रीमा निर्वाचित प्रदेशसभा सदस्य त्रिलोचन भट्ट शनिबार शपथ लिँदै छन् । मुख्यमन्त्री नियुक्त भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अबका दिनमा यो प्रदेशका कुनै पनि नागरिकले भारतमा गएर चौकीदारी गर्नुपर्ने छैन ।’

‘उमेर पुग्नेबित्तिकै रोजगारीका लागि भारत जाने प्रथा’ को अन्त्य गर्ने उनको संकल्प रहेको छ । किशोर अवस्थामै रोजगारीका लागि भारत पलायन भएका मुख्यमन्त्रीले त्यहाँ लामो समय चौकीदारी पेसा अँगालेका थिए । २०४७ सालमा भट्टले चौकीदारको नोकरीमा छँदै अखिल नेपाल–भारत एकता समाजको सदस्यता लिई राजनीतिक यात्रा प्रारम्भ गरेका थिए ।


प्रकाशित : फाल्गुन ४, २०७४ ११:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मुख्यमन्त्रीमा शाही नियुक्त

कान्तिपुर संवाददाता

सुर्खेत — प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । एमाले र माओवादीका सांसदहरूको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएपछि प्रदेशसभा सदस्य शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले नेपालको संविधानको धारा १६८ (२) बमोजिम बिहीबार अपराह्न शाहीलाई मुख्यमन्त्रीमा नियुक्ति गरे । मुख्यमन्त्रीको शपथग्रहण शुक्रबार दिउँसो हुनेछ । एमालेले आलोपालो नेतृत्व माग राखेपछि प्रदेश ६ को मुख्यमन्त्रीमा ढिलाइ भएको हो । बिहीबार दिनभरको वार्तापछि अपराह्न सांसदहरूको हस्ताक्षरसहितको पत्र लिएर दुवै दलका सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

को हुन् शाही ?
कालीकोट प्रदेश सभा (ख) बाट निर्वाचित सांसद शाही पूर्व ऊर्जामन्त्रीसमेत हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेर चर्चामा आएका शाही माओवादी सेनाको छैटौं डिभिजन कमान्डर थिए । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाही ६ नम्बर र ७ नम्बर डिभिजनको कमान्डर बनेका थिए । सेना समायोजनमा सम्मानजनक पद नपाएपछि उनले पार्टी राजनीति रोजेका थिए ।
कालीकोटको पाँचलझरना गाउँपालिकासाबिकको नानीकोट ८ मा जन्मिएका ४१ वर्षीय शाही जनयुद्धको सुरुवातदेखि नै भूमिगत भएकाथिए । उनका बुवा लालबहादुर शाही पञ्चायतकालमा प्रधानपञ्च थिए । आफूलाई पढाउने शिक्षककैसल्लाहअनुसार ०४८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनलाई प्रहरीले लगत्तै वारेन्ट जारी गरेको थियो । उनले जनयुद्धको प्रारम्भमा छापामार र संगठनमा समानान्तर भूमिका निर्वाह गरे । जनसेनाको कमान्डर भएर दर्जनौं आक्रमणमा युद्ध मोर्चाको नेतृत्व गरेका थिए ।

केही मन्त्रीले शपथ लिने
मुख्यमन्त्रीसँगै शुक्रबार केही मन्त्री नियुक्त गर्ने सत्तासाझेदार दुई दलको तयारी छ । यसका लागि बिहीबार साँझदेखि नै गठबन्धनका नेताहरू छलफलमा जुटेका छन् । मन्त्रीका लागि एमालेमा दैलेखका अम्मरबहादुर थापा, मीनासिंह रखाल, सल्यानका गुलाबजंग शाह, मुगुका चन्द्रबहादुर शाही, हुम्लाका दल रावल, सुर्खेतका पद्मा खडका, खडक खत्रीले दाबी गर्दै आएका छन् । तीमध्ये शाही र थापा पूर्वसांसद हुन् । माओवादीमा सुर्खेतकी सीता नेपाली, रुकुमका गोपाल शर्मा, विमला केसी, सुर्खेतका विन्दमान विष्ट, ठम्मर विष्ट, दैलेखका धर्मराज रेग्मीलगायत दाबेदार छन् । आकांक्षीहरूले प्रदेशका दुई प्रभावशाली नेताहरू शक्ति बस्नेत र जनार्दन शर्मासमक्ष मन्त्रीका लागि चर्को लबिइङ गरिरहेको स्रोतले जनायो । मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् कार्यालयले तत्काललाई ६ मन्त्रालय स्थापना गर्ने तयारी छ । भौतिक पूर्वाधार मन्त्रालय, वन, वातावरण तथा विज्ञान मन्त्रालय, सहकारी, पशु सेवा, भूमि व्यवस्थापन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय रहनेछन् ।

प्रकाशित : फाल्गुन ४, २०७४ ११:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT