१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रविधि र प्राविधिक छैनन् क्वारेन्टाइनमा

भवानी भट्ट

कञ्चनपुर — दिनहुँ लाखौंको तरकारी, खाद्यान्न, फलफूल र माछा आयात भइरहन्छ । तर, यिनमा रोग, किरा तथा विषादीको मात्रा अत्यधिक  भए/नभएको चेकजाँच गर्ने क्वारेन्टाइनमा न त प्रविधि छ न त प्राविधिज्ञ । तर ती कार्यालयहरूले उपकरणको अभावमा हेरेरै अड्कलबाजी गर्नुपर्ने बाध्यता छ । 

प्रविधि र प्राविधिक छैनन् क्वारेन्टाइनमा

कञ्चनपुर भन्सार कार्यालय रहेको गड्डाचौकीमा पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन छन् । तर चेकजाँचको औपचारिकता मात्रै पूरा गरेर भारतबाट आयात हुने सामानलाई उपभोग गर्न योग्य भएको ठहर्‍याउनुपर्ने अवस्था छ । ‘हामीले आँखाले हेरेर रोग/किरा भए/नभएको मात्रै जाँच गरिरहेका छौं,’ क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीका प्रमुख गजाधर जोशीले भने । प्लान्ट क्वारेन्टाइन कार्यालयमा विषादी परीक्षण गर्ने केही उपकरणहरू प्राविधिक नहुँदा गोदाममा थन्किएका छन् । परीक्षणकै लागि आएका ४/५ वटा उपकरणहरू प्रयोगविहीन छन् । जोशीले भने, ‘विभागमा प्राविधिक माग गरेको धेरै भइसक्यो तर आउँदैन ।’


खाद्य क्वारेन्टाइन कार्यालयको अवस्था पनि उस्तै छ । ‘सामान्य चेकजाँच भइरहेको छ, तर सम्पूर्ण रूपमा हेर्न सकिने अवस्था छैन,’ खाद्यका अधिकृत गणेशदत्त जोशीले भने । खाद्य क्वरोन्टाइनले माछा र तेलको परीक्षण गर्दै आएको छ । ‘खाद्य पदार्थमा धूलो, रंग, तथा अन्य मिसावट भए/नभएको हामीले हेर्छाैं,’ जोशीले भने, ‘भन्सार कार्यालयले चेकजाँचका लागि पठाएका खाद्य वस्तु यहाँ हेर्ने गरिन्छ ।’


भारतबाट बीउबिजन पनि आयत हुन्छन् । यिनीहरूबाटै नयाँनयाँ खालका रोग, किरा आउने गरेको कृषि प्राविधिकहरू बताउँछन् । सीमा क्षेत्रका कृषकहरूले भारतबाटै धान तथा गहुँको बीउ ल्याउने गरेका छन् । कहिलेकाहीं धान तथा गहुँमा नयाँ रोग देखिने मुख्य कारण पनि यही रहेको उनीहरू बताउँछन् । बर्सेनि आँप, लिची, मेवा, केरा र कागती लगायतका विभिन्न किसिमका फलफूलका बिरुवाहरू ठूलो मात्रामा आयात हुने गरेको छ । सीमा क्षेत्रका कृषकले पनि बोटबिरुवा ल्याउँछन् । तर ती बिरुवाको सही परीक्षण नहुँदा रोग भित्रिनुका साथै नफल्ने खालका समेत हुने गरेका छन् ।


५/७ वर्षअघिसम्म कञ्चनपुरको दोधाराचाँदनी क्षेत्र (हालको महाकाली नगरपालिका) मा ठूलो मात्रामा परवल उत्पादन हुने गर्दथ्यो । यहाँको परवल भारतको राजधानी दिल्लीसम्म पुग्थ्यो । दिल्लीका व्यवसायीहरू परवल किन्न किसानको खेतमै पुग्ने गर्थे । जब भारतले सीमा क्षेत्रमा एसएसबीको क्याम्प राखिएपछि परवल निर्यातमा कडाइ गरियो । कृषकहरूलाई क्वारेन्टाइन परीक्षणपछि मात्रै निर्यात गर्न दिन थालियो । सीमावर्ती क्षेत्रमा नजिक कतै पनि क्वारेन्टाइन जाँचका लागि प्रयोगशाला नहुँदा कृषकहरूको परवल खेतमै कुहियो । बिस्तारै यहाँका कृषकले परवल खेती लगाउनै छाड्नुपर्ने बाध्यता आयो । ‘यही उदाहरण हेरेर पनि सरकारले क्वारेन्टाइन जाँच गरेर मात्रै उपभोग्य वस्तु आयात गर्न दिनुपर्छ,’ महाकाली नगरपालिका ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षत्री भन्छन्, ‘रोगकिरा र विषादी भएको सामग्री आयातमा रोक लगाउनुपर्छ ।’

प्रकाशित : फाल्गुन ४, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?