२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सुत्केरी र शिशुलाई कम्बल

मोहन शाही

डोटी — कर्मचारीले घरमै पुगेर न्यानो कम्बल उपलब्ध गराएपछि केआईसिंहस्थित दल्लकी लालमती ऐर खुसी देखिएकी छन् । असोजमा स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिएबापत केआईसिंह गाउँपालिकाले उनलाई कम्बल दिई प्रोत्साहन गरेको हो ।

लालमतीझंै देउरडीकी नन्दा भुलले जाडो याममा दिएको न्यानो कम्बलले सन्तान र आफूलाई सुत्केरी अवस्थामा राहत दिलाएको बताइन् । विपन्न परिवारकी नन्दाले गरिब परिवारका लागि कम्मलले ठूलै राहत पुर्‍याएको बताइन् ।

डोटीमा केआईसिंह गाउँपालिकाले घरमै सुत्केरी हुने प्रवृत्तिलाई निरुत्साहित गर्न कम्मल वितरण गर्ने प्रोत्साहन अभियान थालेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढाउन प्रोत्साहनका लागि न्यायो लुगा उपहारस्वरूप उपलब्ध गराउँछ । ‘आगामी वर्ष स्वास्थ्य संस्थामा प्रसूति गर्ने आमालाई प्रभावकारी प्रोत्साहनमूलक कार्यक्रम ल्याउनेछौं,’ गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले भने, ‘यस वर्ष ५ लाख विनियोजन गरेर न्यानो लुगा वितरण गर्ने अभियान सुरु गरेका हौं ।’

केआईसिंह गाउँपालिकाले वडा नं. ३ का २० र वडा नं. ४ का ४१ महिलालाई गाउँमै गएर कम्बल हस्तान्तरण गरिसकेको छ । गाउँपालिकाका ७ वटै वडामा अभियान चलाउने गाउँपालिकाका स्वास्थ्य संयोजक तिलक बोहराले जानकारी दिए । डोटीमा अझै २७ प्रतिशत महिला घरमै प्रसूति हुने गरेको जिल्ला स्वास्थ्यको तथ्यांक छ । साबिकका सबै ५० गाविसमा बर्थिङ सेन्टर स्थापना गरिएको भए पनि महिला विभिन्न कारणले अझै स्वास्थ्य संस्थामा आउन सक्दैनन् । भौगोलिक रूपले स्वास्थ्य संस्था टाढा रहेका ४ ठाउँमा थप बर्थिङ सेन्टर स्थापना भएका छन् । वरिष्ठ जनस्वास्थ्य प्रशासक सतीश बिष्ट अन्यत्रको तुलनामा डोटीमा उलेख्य प्रगति भएको भए पनि अझै मेहनत गर्नुपर्ने बताउँछन् ।

विगतमा सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन रकम तथा न्यानो झोला दिँदै आएको थियो । न्यानो झोलामा आमा तथा बच्चाका लागि उपयोगी लुगाकपडा हुने गरेको छ तर यसपटक उक्त कार्यक्रम एकपटकका लागि जिल्ला स्वास्थ्यले स्थानीय तहलाई हस्तान्तरण गरेको छ । ‘एकपटकलाई न्यानो झोलाका लागि सबै स्थानीय तहमा रकम पठाइएको छ, अब स्थानीय तहले आफैं व्यवस्था गर्नुपर्ने हुन सक्छ,’ वरिष्ठ जनस्वास्थ्य प्रशासक बिष्टले भने, ‘कतिपयले वितरण गरिसकेका छन्, केहीले अरू प्रभावकारी अभियान ल्याइरहेका छन् ।’

केआईसिंहले पहिलोपटक डोटीमा प्रोत्साहन अभियान थालेको हो । गाउँपालिका अध्यक्ष शाहीले प्रत्येक वडामा गएर न्यानो कम्बल वितरणको कार्यक्रम भइरहेको जानकारी दिए । गाउँमै गएर गाउँपालिका अध्यक्ष शाही, स्वास्थ्य संयोजक तिलकबहादुर बोहरालगायतले वितरण गरेका थिए । औपचारिक कार्यक्रमबीच महिलालाई कम्बल हस्तान्तरण गर्दा खुसी देखिएका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?