कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाह्रैमास विपत्को त्रास

महाकाली बाढी
मनोज बडु

(भोल्यानी) दार्चुला — मालिकार्जुन गाउँपालिका ६ भोल्यानीकी लिला लुहारले घरभित्र बस्न छोडेको ४ वर्ष पुग्यो । अहिले पनि यिनको परिवार घरभित्र निर्धक्क बस्न सकिरहेको छैन । २०७० सालमा महाकाली नदीमा आएको बाढीले यहाँको जमिनमा दरार पर्नुका साथै घर चर्केका छन् ।

बाह्रैमास विपत्को त्रास

डेढ दर्जनभन्दा बढी घरपरिवार रहेको उक्त ठाउँका स्थानीयहरू विगत ४ वर्षदेखि बाढीको त्रासमै बसिरहेका छन् । बाढीले घरको आँगन भत्केको र घर चर्केपछि घरभित्र बस्न छोडेको उनको भनाइ छ । बाढी आएको वर्ष आँगनको डिल लग्यो । दोस्रो वर्ष आँगनको आधा भाग र यो वर्ष बर्खामा आगन पुरै भत्केको छ । लीलाले भनिन्, ‘आफ्नो घरमा नबसेको ४ वर्ष भयो । आफ्नो घर छोडेदेखि आफन्तको घरमा बस्दै आएको र गत वर्ष उक्त घर पनि चर्किन थालेपछि बाहिरै बसिरहेका छांै ।’ बर्खाबाहेकको समयमा यही पालमुनि बसिरहेका छांै । वर्षातमा महाकालीमा पानीको सतह बढ्नेबित्तिकै ओछ्यान, लुगाफाटो, गुन्टा कस्नुपर्ने अवस्था छ । पालभित्र बस्न पनि डराउनुपर्छ ।

घर खेत पुरै बाढी आएदेखि चर्केर दरार परेको छ । उब्जाउ जमिन बढी र पहिरोमा परिसक्यो । यही गाउँका वीरराम लुहारले भने, ‘बाढीले पुरै नलगेको हुनाले पीडितको सूचीमा आफ्नो नाम छैन । राहत पाइने कुनै ठाउँ नभएपछि अहिले आरा चलाएर घरखर्च चलाइरहेको छु ।’ एकै पटक पुरै जमिन पहिरो वा बाढीमा परे हुन्थ्यो । पीडा सुनाउँदै उनले भने, ‘वर्षभरि यहाँको जमिनबाट खान लाउन पुग्दैन । बाहिर जाऊँ भने परिवारै देख्न नपाइने हो कि भन्ने चिन्ताले सताउँछ ।’

यहाँको समस्या अवलोकन गर्न धेरै सरकारी/गैरसरकारी अधिकारीहरू आए पनि आफूहरूले ४ वर्षदेखि बाढी, पहिरो र खानेपानीको साह्रै समस्या भोग्दै आएको पुष्पादेवी टमटाले बताइन् । ‘बाढी गएदेखि पहिला गोठमा बस्थँे र अहिले झोपडीमा बस्छौं,’ उनले आफ्नो परिवार बस्ने झोपडी देखाउँदै भनिन्, ‘हिउँदमा यही झोपडीमा बस्छांै । वर्षात लागे बस्नलायक हुँदैनन् ।’ गाउँको समस्या बुझ्न सीडीओ, रेडक्रसलगायत धेरै संघसंस्था आएको तर आफूहरूले अहिलेसम्म कुनै निकायबाट सानो राहत तथा सेवासुविधा नपाएको उनले गुनासो गरिन् ।

बाढीपछि यहाँका मुहानको पानी सुकेको हुनाले हिउँद र सुक्खायाममा खानेपानीको चर्को समस्या भोग्नुपरेको भोल्यानीवासीको गुनासो छ । गाईभैंसी र सरसफाइ गर्न महाकाली नदी र खोलाबाट पानी बोकेर पूर्ति गरिरहेको र मानिसलाई भने खानेपानीको ठूलै समस्या रहेको स्थानीय नरिराम टमटाले बताए । ४ वर्षदेखि भगवान भरोसाले चर्केको घरमा बसिरहेका भल्यानीवासी सुरक्षित बासका लागि हारगुहार गर्दै आएका छन् । कुनै निकायको ध्यान यता पर्न सकेको छैन । गाउँलेले राज्यको उपस्थिति नरहेको आभास भइरहेको भनेका छन् ।

दुई/तीन पटक सीडीयो कार्यालय पुगेर सुरक्षित स्थान खोजिदिन अनुरोध गरेको भए पनि कुनै सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ । तत्कालीन कृष्णबहादुर कटुवाल प्रमुख जिल्ला अधिकारी भएको समयमा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले यहाँको बस्ती स्थानान्तरण गर्ने निर्णय गरेर सरकारलाई पत्राचार गरेको थियो । तर अहिलेसम्म कुनै सुनुवाइ नभएको रेडक्रसका मन्त्री दीपक अवस्थीले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?