३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मन्त्रिपरिषद्को पहिलो बैठक: ३ आयोजना प्राथमिकतामा

डीआर पन्त

धनगढी — प्रदेश ७ को मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशमा सञ्चालनमा रहेका ३ वटा राष्ट्रिय गौरवका आयोजनाका साथै पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को पहिलो बैठक: ३ आयोजना प्राथमिकतामा

मुख्यमन्त्री तथा मन्त्रीहरूले पदभार ग्रहण गरेपछि आइतबार बसेको पहिलो बैठकले राष्ट्रिय गौरवका आयोजनाहरू सेती लोकमार्ग, महाकाली लोकमार्ग र खुटिया दिपायल फास्ट ट्रयाक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि वढाउने निर्णय गरिएको मन्त्रिपरिषद्का प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

‘ऐतिहासिक पहिलो बैठकले राष्ट्रिय गौरवका आयोजनासँगै भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन कायम गर्ने निर्णय गरिएको छ,’ प्रवक्ता शाहले भने, ‘राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमनका लागि प्रदेशस्तरमा एउटा संयन्त्र निर्माण गर्ने निर्णयसमेत भएको छ ।’ प्रदेश ७ को विकासका लागि कोसेढुंगा सावित हुने सेती लोकमार्ग, महाकाली लोकमार्ग र खुटिया दिपायल फास्ट ट्रयाकको काम द्रुत गतिमा अगाडि बढाउन केन्द्रिय सरकारसंग अनुरोध गर्ने निर्णय समेत गरिएको शाहले जानकारी दिए । जानकारी दिंदै शाहले भने, ‘राष्ट्रिय गौरवका ३ वटै योजनालाई समयमा काम सम्पन्न गर्न केन्द्रीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ’।

मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाहलाई तोकेको छ । बैठकले पर्यटनका तमाम सम्भावनालाई हेरी पर्यटकीय क्षेत्रको पहिचान गर्ने र त्यसको संरक्षण तथा प्रवद्र्धनमा जोड दिने निर्णय गरेको छ । कृषिको उत्पादकत्व बढाउन सरकारले पहिलो बैठकबाटै माटो परीक्षणलाई संस्थागत गर्न केन्द्रीय र स्थानीय सरकारसँग समन्वय गर्ने निर्णयसमेत गरेको छ । प्रवक्ता शाहले सूचना प्रविधिमा जोड दिन इ–अनुगमन गर्ने निर्णयसमेत गरेको जानकारी दिए । बैठकले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका जनआन्दोलन, जनयुद्ध र मधेस आन्दोलनलगायतका विभिन्न आन्दोलनमा ज्यान गुमाएका ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीहरूको पदभार ग्रहण

मन्त्रिपरिषद्को बैठकअघि आइतबार नै मुख्यमन्त्री त्रिलोचन भट्टसहित ६ वटै मन्त्रीले आआफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण्लगत्तै मुख्यमन्त्री भट्टले प्रदेशको एक मात्र रेफरल सेन्टरका रूपमा रहेको सेती अञ्चल अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षण गर्दै मुख्यमन्त्रीले अस्पतालमा उपलब्ध जनशक्तिको उपयोग गरेर सेवा प्रभावकारी बनाउन चिकित्सक तथा कर्मचारीलाई निर्देशन दिएका थिए । निरीक्षणका क्रममा मुख्यमन्त्रीले अस्पतालको सेवाप्रति सर्वसाधारणले गर्दै आएको गुनासो सम्बोधन गर्नसमेत निर्देशन दिएका थिए । प्रदेश सरकारले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र काम नगर्ने कर्मचारीलाई दण्डित गर्ने मुख्यमन्त्रीले चेतावनीसमेत दिए । मुख्यमन्त्रीले अस्पताल निरीक्षणका क्रममा उपचाररत बिरामीसँग अस्पतालको सेवाका विषयमा कुराकानी गरेका थिए ।

मुख्यमन्त्रीलाइ निरीक्षणका क्रममा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सजन केसीले चिकित्सक दरबन्दी कम रहेको र भएको दरबन्दीसमेत पूर्ति नहुँदा स्तरीय सेवा दिन समस्या भएको बताए । सरकारबाट स्वीकृत ५० शय्या र अस्पताल विकास समितिले आन्तरिक स्रोतमा ७५ शय्या गरी १ सय २५ शय्या रहेको अस्पतालमा बिरामीको चाप धान्न कठिन भएको डा. केसीले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

उपसभामुखमा जोशी निर्वाचित

प्रदेश नम्बर सातको प्रदेशसभाको बैठकले उपसभामुखमा निर्मला बडाल जोशीलाई निर्वाचित गरेको छ ।

उनी दार्चुलाबाट माओवादी केन्द्रको समानुपातिक प्रदेशसभा सांसद हुन् । उपसभामुखका लागि अन्य कसैको पनि उम्मेदवारी नपरेपछि आईतबार बसेको बैठकले जोशीलाई निर्विरोध निर्वाचित

गरेको हो ।

सभामुख अर्जुनबहादुर थापाले उपसभामुखमा जोशी निर्विरोध निर्वाचित भएको घोषणा गर्दा सांसदहरूले टेबुल बजाएर समर्थन गरेका थिए । माओवादी सांसद झपटबहादुर बोहरा प्रस्तावक र एमाले सांसद तारा लामा तामाङको समर्थनमा उपसभामुख जोशीको मनोनयन दर्ता भएको थियो । संसद् बैठकमा प्रस्तावक बोहरा उपस्थित नभएपछि माओवादी सांसद अक्कलबहादुर रावलले जोशीलाई उपसभामुखमा प्रस्ताव गरेका थिए ।

नवनिर्वाचित उपसभामुख जोशीलाई सभामुख थापाले आइतबार नै पद तथा गोपनीयताको शपथ गराएका छन् । करिब १० मिनेट चलेको संसद् बैठकले उपसभासमुख निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि सभामुख थापाले अर्को सूचना जारी नभएसम्मका लागि संसद् बैठक स्थगित भएको घोषणा गरेका थिए ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?