कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महोत्सवमा महिलाको आकर्षण

मेनुका ढुंगाना

अछाम — साँफेबगरमा चार दिनदेखि सञ्चालित प्रथम अछाम महोत्सवमा ग्रामीण क्षेत्रका महिलाहरू आकर्षित देखिएका छन् । महोत्सव हेर्न टाढा–टाढाबाट किशोरी उमेर समूहका देखि लठ्ठी टेक्ने उमेरका वृद्धाहरूको उपस्थिति बाक्लो रहने गरेको छ । 

महोत्सवमा महिलाको आकर्षण

जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा फागुन २ गतेदेखि सुरु भएको महोत्सवमा ग्रामीण क्षेत्रका महिलाहरूको उल्लेख्य सहभागिताले आयोजकलाई समेत हौस्याएको देखिन्छ । हिउँदको समय भएकाले खेतीपातीबाट फुर्सदिला हुने यहाँका महिलाहरू घरमा चुलोचौकाको काम भ्याएर मध्याहनतिर महोत्सवस्थलतिर आउने गरेका छन् । सामान्यत: गाउँमा बिहे व्रतबन्ध हँुदा देउडा र रत्यौलीमा मात्र रमाउन पाउने महिलाहरू पछिल्लो समयमा विभिन्न ठाउँमा सञ्चालन हुने महोत्सवमा उत्साहका साथ आउने गरेका हुन् ।

विगतमा मेला महोत्सव हुनेबित्तिकै युवाहरूको मात्र चहलपहल हुने यहाँकाु समाजको प्रचलन पछिल्ला दिनमा उल्टिएको देखिन्छ । प्राय:जसो मेलापात र चुलोचौकोमा सीमित रहने अछामी महिलाहरू हाल सञ्चालन हुने महोत्सव हेर्न छुटाउँदैनन् । ‘उहिले घरबाहिर जाने चलनै थिएन । महिलाहरूका लागि सुहाउँदो मनोरञ्जनका साधनहरूसमेत हुँदैनथे । अहिले दिन फेरिएका छन् र महोत्सवमा रमाइलो हुन्छ,’ महोत्सव हेर्न आएकी साँफेबगर नगरपालिका–४ की ७६ वर्षीया दिल्लीदेवी आउजीले भनिन् ।

महोत्सवहरूमा नाम चलेका र रेडियोमा सुनिएका कलाकारहरूका प्रस्तुति प्रत्यक्ष अवलोकन गर्न पाइने भएकाले पनि ग्रामीण क्षेत्रका महिलाहरू महोत्सवमा रमाउने गरेको बताउँछन् । गाउँघरमा बिजुली नपुगेका कारण टेलिभजिनसमेत हेर्न नपाएका बूढापाका महिला तथा बालबालिकाहरू कलाकारहरूलाई प्रत्यक्ष देख्न पाउनु ठूलै खुसीको कुरा हुने गरेको सुनाउँछन् ।

खेतीपाती लगाएर यहाँका धेरैजसो पुरुषहरू कामको खोजीमा भारत जाने र गाउँमा वृद्धवृद्धा र महिलाहरू मात्रै हुने भएकाले पनि महोत्सवमा महिलाहरूको बाक्लो उपस्थिति हुने गरेको महोत्सवका आयोजकहरू बताउँछन् । ‘हुन त कान पनि राम्ररी सुन्दिनँ र राम्रोसँग आँखा पनि देख्दिनँ तर जे जति देखे र सुने पनि मेरालागि सबै नयाँ र रमाइलो लागेको छ’ लठ्ठी टेकेर महोत्सवस्थल पुगेकी आउजी भन्छिन्, ‘गाउँमा कहिलेकाहीं लाग्ने जात्रामा रत्यौली, होलीमा मात्र रमाइलो भएको याद छ ।’

उद्योग वाणिज्य संघ अछामले आयोजना गरेको महोत्सवमा चौरपाटी, मंगलसेन, मेल्लेख, जयगढ, चौखुट्टे, रामारोशन, मुजाबगरसम्मका महिलाहरू बच्चा बोकेर पनि आउने गरेका छन् । चौरपाटी गाउँपालिका–४ कुस्कोटकी रंगी रावत आफ्ना ३ छोराछोरी साथमा ल्याएर महोत्सव हेर्न आएकी छन् । माइतीघर बयलपाटा भएकाले २ दिन यतै बसेर महोत्सव हेरेर फर्किने उनको योजना छ । ‘२ दिनसम्मका लागि गाईवस्तुलाई घाँस काटेर महोत्सव हेर्न आएकी छु,’ उनले भनिन्, ‘दसैं, तिहारमा मात्र माइत आउन पाइन्थ्यो, यो पटक महोत्सवले पनि माइत आउन जुरायो ।’

महोत्सव रमाइलो गर्ने माध्यम मात्र नभएर स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको उद्योग वाणीज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायतले बताए । करिब एक सय स्टल रहेको महोत्सवमा स्थानीय उत्पादन, जिल्लाका खप्तड, वैद्यनाथ, रामरोशनलगायतका पर्यटकीय स्थल झल्किने सामग्री, खानाका परिकार, स्थानीय तथा राष्ट्रिय कलाकारका प्रस्तुति रहेका छन् ।

महोत्सव आयोजना गर्न करिब ३० लाख खर्च भएको बताउँदै उद्योग वाणिज्य संघका अध्यक्ष कडायतले ४० लाख जति नाफा हुन सक्ने आकलन गरिएको बताए । ‘५० लाख दर्शकले महोत्सव हेर्ने आकलन गरेका छांै ।’ उनले भने, ‘शनिबार र बिदाको दिनलाई लक्षित गरेर त्यसैअनुसारका कलाकार बोलाएका छौं ।’

प्रथम अछाम महोत्सव सकिनेबित्तिकै अछाम क्षेत्र नम्बर २ को मुख्य व्यापारिक केन्द्र विनायकमा पनि महोत्सव आयोजना हुन थालेको छ । फागुन १८ गतेबाट सुरु हुने महोत्सवले अछाममा व्याप्त रहेको छाउपडी कुप्रथा हटाउन भूमिका खेल्ने आयोजकले जनाएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?