३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गाउँमा आमूल परिवर्तन

कान्तिपुर संवाददाता

डडेलधुरा — हरेक तेस्रो महिना चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुग्छ । प्रत्येक वडामा २/२ स्वास्थ्यकर्मीले दैनिकजसो ७० वर्षमाथिका वृद्धवृद्धा, गर्भवती, बालबालिकालाई घरमै पुगेर उपचार गर्छन् । टोल–टोलमा दैनिकजसो पोषण चौतारी लाग्ने गर्छ । जिल्लाको सबैभन्दा कम विकास भएको नवदुर्गा गाउँपालिकामा ७ महिनायता स्वास्थ्य क्षेत्रमा उदाहरणीय परिवर्तन भएको छ । 

गाउँमा आमूल परिवर्तन

पोषण चौतारी कार्यक्रमभित्र स्वास्थ्य परीक्षण, बालबालिका, गर्भवती र सुत्केरीको चेकजाँच, पोषणयुक्त खानेकुराका विषयमा जानकारी, सरसफाइसम्बन्धी विशेष प्रशिक्षण, नियमित चल्ने खोप कार्यक्रमको अनुगमन निरीक्षण, गाउँमा उपचार तथा पहिचान हुन नसक्ने बिरामीलाई सम्बन्धित ठाउँमा पठाउनेलगायत काम हुने गरेको छ । सामान्य उपचार र औषधि पनि उक्त कार्यक्रममा वितरण हुने गरिएको छ ।


साबिकका कोटेली, मणिलेक, बेलापुर र नवदुर्गा गाविस मिलेर बनेको नवदुर्गा स्वास्थ्य र शिक्षामा जिल्लामा निकै पछाडि रहेको गाउँपालिका हो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि स्वास्थ्य, सरसफाइ र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी काम सुरु भएपछि छोटो अवधिमै उल्लेख्य प्रगति भएको हो । ‘पोषण चौतारीले सर्वसाधारणको जीवनशैलीमा छोटो अवधिमा आमूल परिवर्तन भएको छ,’ स्थानीय अगुवा हरिसिंह ऐरले भने, ‘स्वास्थयकर्मी घर–घर पुगेर सरसफाइ, पोषणयुक्त खानेकुरा, बालबालिकाको स्वास्थ्यमा हेरविचार, गर्भवती र सुत्केरीलाई आवश्यक सुझावसँगै परीक्षणका लागि पठाउने गरेका कारण धेरै समस्या समाधान भएका छन् ।’


स्वास्थ्यकर्मीले घर–घर पुगेर वृद्धवृद्धाको सुगर, ब्लडप्रेसर, दम, आँखासम्बन्धी उपचार र अन्य रोगको उपचार गर्न थालेपछि गाउँपालिकाका सबै नागरिक स्वास्थ्य सेवाको प्रत्यक्ष लाभ लिइरहेका छन् । ‘उपचार पनि हुन्छ औषधि पनि पाइन्छ,’ मणिलेकका धर्मसिंह नागरी भन्छन्, ‘ठूला–ठूला दलित बस्ती रहेका यो गाउँपालिकामा पोषण चौतारी कार्यक्रम समाजको निम्न वर्गका लागि वरदान साबित भएको छ । सामान्य उपचारका लागि गाउँभन्दा वाहिर जानु पर्दैन नागरीले भने ‘हरेक ३/३ महिनामा चिकित्सकसहितको टोली गाउँमा आएर चेकजाँच गरी ठूला र दीर्घ रोगीलाई आवश्यक उपचारका लागि सम्बन्धित ठाउँमा पठाउने भएकाले सर्वसाधारणलाई निकै फाइदा भएको छ ।’ उपचार पनि हुन्छ र स्वास्थयकर्मीबाट जीवनशैली परिवर्तन गर्न गाउँ–गाउँमा जनचेतना फैलिन थालेपछि छोटो अवधिमा परिवर्तन भएको उनले बताए । ‘गाउँपालिकाको सामान्य बजेटबाट ठूलो उपलब्धि हासिल हुन सक्छ भन्ने नवदुर्गा गाउँपालिकामा देखिएको छ,’ स्थानीय शिक्षक यज्ञराज जोशीले भने, ‘पोषण चौतारी कार्यक्रम सुरु भएपछि अधिकांश गाउँ विगतको तुलनामा सरसफाइयुक्त भएका छन् ।’ स्वास्थ्यकर्मीको विशेष पहलमा बालबालिका विद्यालय जान थालेका छन् । गर्भवती र सुत्केरी नियमित स्वास्थ्य परीक्षण गर्न थालेका छन् । आमाहरूलाई स्वास्थ्यकर्मीले बालबालिकालाई गर्नुपर्ने व्यवहार, बालबालिकाको स्वास्थ्य र पोषणयुक्त खानेकुराका विषयमा जानकारी दिन थालेपछि विगतको तुलनामा धेरै परिवर्तन भएको देख्न सकिन्छ ।


‘मानवीय विकासका दृष्टिकोणले जिल्लाका अन्यभन्दा पछाडि रहेको गाउँपालिका हो,’ स्वास्थ्य अधिकृतको जागिर छाडेर गाउँपालिका अध्यक्ष भएका कविन्द्र विष्टले भने, ‘स्वास्थ्य, शिक्षा, सडक र कृषिलाई प्राथमिकतामा राखी हामीले गाउँपालिकामा विकास अभियान सुरु गरेका छौं ।’ १४ वर्ष उमेर हुनेबित्तिकै कामका लागि भारत जाने परम्परा रहेको यो क्षेत्रमा स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै समस्या भएकाले परिवर्तनका लागि प्रयास थालेको उनले बताए । स्वास्थ्य र शिक्षाका विषयमा जनचेतना नहुँदा अन्य विकास निर्माणले पनि गति लिन नसक्ने भएकाले पोषण चौतारी कार्यक्रममार्फत अहिले गाउँ–गाउँमा परिवर्तनको अभियान चलिरहेको अध्यक्ष विष्टले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७४ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?