२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

अझै ढिके नुनकै प्रयोग

मेनुका ढुंगाना

ढुंंगाचाल्ना (अछाम) — मंगलसेनमा तामझामका साथ फ्रेब्रुअरीलाई आयोडिनयुक्त नुनको महिना मनाइँदै गर्दा सदरमुकामदेखि ७० किमि टाढा रहेको ढुंगाचाल्ना गाउँका बासिन्दा भने ढिके नुन खान बाध्य छन् ।

अझै ढिके नुनकै प्रयोग

ढकारी गाउँपालिका ६ मा पर्ने ढुंगाचाल्ना गाउँको स्थानीय बजारमा आयोडिनयुक्त नुन प्रतिपोका ३० देखि ४० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ढिके नुन भने प्रतिकेजी २० रुपैयाँमा पाइने भएकाले स्थानीय बासिन्दा यही प्रयोग गरिरहेका छन् । फेबु्रअरीलाई आयोडिनयुक्त नुुनको कमीबाट हुने असरबारे जनचेतना जगाउने महिनाका रूपमा विगतदेखि मनाइँदै आएको छ । तर ग्रामीण क्षेत्रमा भने स्थानीय बासिन्दाको पहुँचमा आयोडिनयुक्त नुन हुँदैन । ‘पोकामा पाइने नुन महँगो छ । ४० रुपैयाँले एक पोका नुन किन्नुभन्दा त्यसैले २ किलो ढिके नुन पाइन्छ,’ ढुंगाचाल्नाकी जुना विकले भनिन्, ‘ढिके नुन फारु पनि हुने भएकाले उहिल्यैदेखि खाइरहेका छाै‌ं।’


जुनाका १ छोरा र १ छोरी छन् । जेठो ७ वर्षका भए । तर उनको उमेरअनुसारको उचाइ र तौल छैन । भनेको कुरा पनि ढिलो बुझ्छन् । यसरी उमेरअनुसार तौल र उचाइ नहुनुमा आयोडिनयुक्त नुन अभावको कारण रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका पोषण सम्पर्क व्यक्ति भूमिनन्द ढुंगाना बताउँछन् । ‘आयोडिनयुक्त नुन अभावमा गलगाड मात्र हुन्छ भन्ने होइन । सुस्त मनस्थिति जस्तो देखिनु पनि त्यसैको असर हो,’ उनले भने । ढकारी गाउँपालिका ६, ढुंगाचाल्नाकी मातु विकलाई आयोडिन किन खानुपर्छ भन्ने थाहै छैन । वर्षाैंदेखि ढिके नुन खाइरहेको उनले सुनाइन् । ‘पोकामा पाइने नुन ल्यायो भने एक साता चल्दैन महँगो पनि छ,’ उनले भनिन्, ‘ढिके नुन सस्तो पनि पाइन्छ धेरै समय पनि चल्छ ।’ आयोडिनयुक्त नुन मात्र खानुपर्छ भनेर सुझाव सल्लाह दिए पनि गर्भवतीहरूसमेत ढिके नुन खाने गरेको ढुंगाचाल्ना स्वास्थ्य चौकीकी अनमी नीरा साउँदले बताइन् । ‘यहाँ कम्तीमा १ महिनामा १५ गर्भवती जाँच गराउन आउँछन् । उनीहरूले आयोडिन पाएका हुँदैनन्,’ साउँदले भनिन्, ‘गर्भवती र २ वर्षमुनिका बालबालिकाले आयोडिन नपाएपछि उनीहरूको स्वास्थ्य अवस्था खस्कँदै जान्छ ।’


सुनौला हजार दिनको अवधिमा पोषिलो खानासँगै आयोडिन आवश्यक पर्ने भए पनि यहाँका महिला र बालबालिकाले आयोडिनयुक्त नुन नपाउँदा उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको सुआहाराका पोषण अधिकृत रोशन पौडेलले बताए । आमा समूहका महिलाहरूबाट गाउँमा ढिके नुन प्रयोग गर्ने गरिएको थाहा पाएपछि आयोडिनयुक्त नुन खाने बानी बसाल्न साल्ट टेड्रिङ, जिल्ला स्वास्थ्यको समन्वय र सुआहाराको संयोजनमा १–१ पोका नुन पनि वितरण गरिएको थियो । ढुंगाचाल्नामा नुनको डिपो राखे मात्र सहज रूपमा आयोडिनयुक्त पाउने वडासदस्य माने साउँद बताउँछन् ।

प्रकाशित : फाल्गुन ८, २०७४ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?