कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साढे चार करोड राजस्व संकलन

साउनदेखि पुससम्म सबैभन्दा बढी वन पैदावार बिक्रीबापतको रकम जम्मा भएको छ 
मनोज बडू

दार्चुला — चालु आर्थिक वर्षको ६ महिना अवधिमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, दार्चुलाले साढे चार करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत संकलन गरिएको राजस्व रकमअनुसार साउनदेखि पुस महिनाको अवधिमा ४ करोड ५५ लाख ११ हजार ३३ रुपैयाँ संकलन गरिएको कार्यालयले जनाएको छ । करदाताले सीधै आन्तरिक राजस्व कार्यालयमा बुझाउने राजस्व रकम मात्र यसमा समावेश गरिएको छ । भन्सार कार्यालयलगायतका निकायबाट संकलित राजस्व रकम यसमा समावेश नगरिएको कोष नियन्त्रक जयानन्द जोशीले बताए ।


पुस महिनामा ५९ लाख ३७ हजार तीन सय २३ रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ । तीन दर्जन शीर्षकहरूमा कोलेनिका मार्फत जिल्ला तहमा राजस्व संकलन हुने गरेको छ । साउनदेखि पुस मसान्तसम्मको अवधिमा सबैभन्दा बढी वन तथा वनपैदावार बिक्री बापतको राजस्व एक करोड ५९ लाख ६४ हजार १ सय २४ रुपैयाँ रहेको छ ।


एकलौटी फर्म तथा व्यक्तिगत आयबाट ५० लाख ६६ हजार ९ सय ९८ र पारिश्रमिक करबाट ४७ लाख सात हजार ७२ रुपैयाँ राजस्व संकलन भएको छ । पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर ४५ लाख ५५ हजार ७ सय ६५, शिक्षा क्षेत्रको आम्दानी २१ लाख ५५ हजार ५ सय ५० रुपैयाँ र सम्पत्ति बहाल तथा पट्टाबापतको आयबाट १५ लाख ३३ हजार ४ सय ७९ रुपैयाँ संकलन गरिएको कोलेनिकाले जनाएको छ ।


यस्तै मदिराको राजस्व २१ लाख २३ हजार ३ सय १७ रुपैयाँ, सुर्तीजन्य पदार्थबाट ३६ हजार, नहर तथा कुलोको उपयोगबापत २ हजार ९ सय रुपैयाँ राजस्व उठेको छ । कोलेनिकाको विवरण अनुसार न्यायिक दस्तुर ४ लाख ९३ हजार ८ सय १२, हुलाक सेवा शुल्क २ लाख ४३ हजार सात सय ४७ र अन्य प्रशासनिक सेवा शुल्क तीन लाख तीन सय २३ रुपैयाँ संकलन भएको छ ।


न्यायिक दण्ड, जरिवाना र जफतबाट ३७ हजार ५ सय ५६, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट एक लाख ९८ हजार ५ तथा राहदानी शुल्कबाट ४ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । पर्वतारोहण र पदयात्रा स्वीकृतिको ३० हजार ५ सय र अन्य राजस्व शीर्षकमा पाँच लाख १० हजार ३४ रुपैयाँ उठेको कोष नियन्त्रक जोशीले जानकारी दिए ।


चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ३४ लाख ९४ हजार ७ सय ४ रुपैयाँ बेरुजु रकम राजस्वमा दाखिला भएको छ । लाभांशमा लाग्ने कर शीर्षकमा भने राजस्व उठेको छैन । योबाहेक अन्य ३३ शीर्षकमा राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?