१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कर्मचारीप्रति प्रदेश सरकारको गुनासो

केन्द्रले खटाएका २ सय ५० मध्ये ४० जना मात्र कर्मचारी आएका छन्
डीआर पन्त

धनगढी — सरकार गठन भएको साता नबित्दै प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले राज्य व्यवस्था सञ्चालनमा केन्द्रीकृत मानसिकताका कारण सरकारले गति लिन नसकेको गुनासो गरेका छन् । 

प्रदेश सरकारका बिभिन्न मन्त्रालयमा खटिएका कर्मचारी बेलैमा नआउँदा प्रदेश सरकारले गति लिन नसकेको मुख्यमन्त्री तथा मन्त्रीहरूको भनाइ छ । उनीहरूले सरकार गठनको एकसाता बित्न लाग्दा पनि कर्मचारीतन्त्रले सहयोग नगर्दा मन्त्रालय अस्तव्यस्त अवस्थामा पुगेको गुनासोसमेत गरे ।


केन्द्रीय सरकारले खटाएका २ सय ५० कर्मचारीमध्ये अहिलेसम्म ४० जनाभन्दा बढी आएका छैनन् । भएका कर्मचारीहरूको कामले पनि गति नलिएको उनीहरूले पत्रकारसमक्ष गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ, कैलालीले प्रदेश सरकारका सदस्यलाई गरेको स्वागत कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले कर्मचारीप्रति इंकित गर्दै भने, ‘विकास, समृद्धि र सुशासन एक दुईजनाले गरेर सम्भव हुने विषय होइन ।’ सबैको साझा प्रयास र सहकार्यले मात्र अघि बढ्न सकिने भन्दै भट्टले भने, ‘देशमा सिस्टमले काम नगरे असफल हुन्छ ।’ विगतमा देशको सिस्टमले काम नगर्दा समस्या आएका प्रशस्त उदाहरण रहेको उनले बताए । संघिय ब्यबस्थाको जग मजवुत बनाउन सिस्टमलाई सही ढंगले चलाउनु आवश्यक रहेकोमा उनले जोड दिए ।


‘सुरुमा हामीले जस्तो जग बसाल्छौं त्यसको दीर्घकालीन असर पर्छ’, उनले पत्रकारहरूसँग भने । मुख्यमन्त्री भट्टले विगतमा आफूहरूले अरूलाई गाली गर्ने र औंला ठड्याउने काम भए पनि अहिले आफैंमा जिम्मेवारी आएकाले जिम्मेवार हुन सबैलाई सुझाए ।


कार्यक्रममा सामाजिक विकासमन्त्री दीर्घ सोडारीले कर्मचारीतन्त्रमा देखिएको केन्द्रीकृत मानसिकता कायम रहेकाले सरकार गठन भइसक्दा पनि एउटा कर्मचारीले हाकिमदेखि कार्यालय सहयोगीसम्मको काम गर्नुपर्ने वाध्यता आएको बताए । सोडारीले भने, ‘क्षमता नभएका र हेपिएको मानसिकता बोकेर आएका कर्मचारीले प्रदेश बन्न सक्दैन ।’


हिजोका दिनमा पनि सुदूरमा योग्य र क्षमता भएका कर्मचारी आउन नचाहेको भन्दै उनले मुलुकको संरचना फेरिंदा पनि कर्मचारीको मनस्थिति उस्तै रहेको दाबी गरे । सोडारीले मुख्यमन्त्री र मन्त्रीको कार्यालय तथा आवास व्यवस्थापनमा भएको बजेटको सदुपयोग भए–नभएको खोजविन गर्न सञ्चारकर्मीलाइ आग्रह गरे । ‘सरकारका विभिन्न कार्यालय र मन्त्रीहरूका आवासका नाममा गुणस्तरीय काम नगरी कतै बजेटको दुरुपयोग त भइरहेको छैन,’ उनले भने, ‘यो विषयमा निगरानी राख्न मेरो अनुरोध छ ।’


आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाहले संघीय व्यवस्थालाई अगाडि बढाउँदै समृद्धि प्राप्त गर्ने चर्चा गरिए पनि सकारात्मक भएर काम गर्न नसके सबै नारामा मात्र सिमिति हुने बताए । शाहले अहिले पनि भ्रष्टाचार समाजको समस्या बनेको औंल्याउँदै सेना, प्रहरी, कर्मचारी, प्रशासन, अदालत, राजनीति र पत्रकारिता क्षेत्रमा भएका अनियमितता समाप्त नगर्दासम्म प्रगति कठिन हुने उनले बताए ।


‘हाम्रो प्रदेशका अधिकांश जनता गरिबीको रेखामुनि छन्’, मन्त्री शाहले भने, ‘जुन गतिमा हाम्रो सुरुवात भएको छ, यही गतिले समृद्धि प्राप्त गर्न कठिन हुनेछ ।’ कार्यक्रममा अर्थमन्त्री झपट बोहराले विकास र समृद्धिका कुरा गरिरहँदा संघीय पद्धतिको सुरुवात कसरी हुन्छ भन्नेतिर पनि ध्यान दिनुपर्ने बताए । उनले भने, ‘छोटो अवधिमा धेरै कुरा नहुन सक्लान् तर संघिय व्यवस्थालाई बलियो बनाउन गरिनुपर्ने साझा प्रयास हुनु आवश्यक रहेको छ ।’

प्रकाशित : फाल्गुन ९, २०७४ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?