कृषिमा आधुनिकीकरण

कृषि तथा सहकारीमन्त्रीको योजना
कान्तिपुर संवाददाता

धनगढी — थारू समुदायबाट पहिलोपटक मन्त्री भएकी कैलाली भजनीकी विनीता चौधरी पछाडि परेको वर्ग र समुदाय राज्य सञ्चालनको नेतृत्वमा आउनु नै लोकतन्त्रको सुन्दर उपहार भएको ठान्छिन् । प्रदेशमा ३७ प्रतिशतभन्दा बढी जनसंख्या रहेको थारू समुदायबाट चौधरी एक्ली मन्त्री हुन् । 

कृषिमा आधुनिकीकरण

जनयुद्धका क्रममा पक्राउ परेपछि सशस्त्र प्रहरीको चरम यातना भोग्दै उनले आफ्नो एक आँखा गुमाइन्, एक वर्षसम्म टीकापुरस्थित सशस्त्र प्रहरी क्याम्पमा उनले जुन यातना भोगिन्, अहिले उनी सम्झन पनि चाहँदिनन् । ‘हामी परिवर्तनका लागि ज्यानको बाजी लगाएर युद्धमा होमिएका हौं,’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीताले भनिन्, ‘अव विगत सम्झने भन्दा पनि जे भएन भनेर हामी लड्यौं त्यसका लागि संघर्ष गर्नुपर्छ ।’ थोरै समयमा धेरै गर्नुपर्ने बाध्यता रहेकाले बिगतमा के भयो भन्दा पनि जनतालाई दिन खोजेको सुन्दर भविष्यका विषयमा चिन्ता राख्नुपर्ने बेला आएको उनको बुझाइ छ । ‘मेरो पुरा समय हामीले उठाएका परिवर्तनका मुद्दालाई स्थापित गर्नमै खर्च हुनेछ,’ उनको योजना छ, ‘मेरो प्राथमिकतामा मुक्त कमैया, मुक्त हलिया र भूमिहीन छन् ।’


मन्त्री चौधरीले आफ्नै कार्यकालमा मुक्त कमैया, हलिया र भूमिहीनको व्यवस्थापन गर्नसके आफूले गरेको संघर्ष सार्थक भएको ठान्ने उनले भनिन्, ‘म पुस्तौंदेखि हेपिएको र केन्द्रीकृत राज्य व्यवस्थाबाट बँधुवा मजदुर, दास बनाइएको समुदायकी महिला हुँ ।’ उनले आफ्नो पद, प्रतिष्ठा सबै समाजमा अहिले पनि व्यावहारिक रूपमा हेपिएको र आर्थिक रूपमा परनिर्भर पारिएको समुदायको उत्थानका लागि प्रयोग गर्ने अठोट व्यक्त गरिन् । भनिन्, ‘इतिहासले केही गरेर देखाउने मौका दिएको छ, यसबाट चुक्ने हो भने पुस्तौं पुस्तासम्म जनताबाट श्रापित हुनेछौं ।’


दासत्ववाट मुक्त भएको दुई दशक बितिसक्दा पनि कमैयाले मुक्ति पाउन सकेका छैनन् । मन्त्री चौधरीले पहिलो प्राथमिकतामा उनीहरूको उचित व्यवस्थापन, रोजगारीको व्यवस्था, एउटा पुस्तालाई नि:शुल्क उच्च शिक्षाको व्यवस्थाका लागि आफूले योजना बनाउने दृढता व्यक्त गरिन् । ‘कमैया र हलिया मुक्त भए उचित व्यवस्थापन नहुँदा आज पनि उनीहरूले मुक्ति पाउन सकेका छैनन्,’ चौधरीले भनिन्, ‘कमैया र हलियाका नाममा धेरैले आर्थिक उन्नति गरे तर उनीहरू भने अहिले पनि सडक छेउमा जीवन काट्न बाध्य पारिएका छन् ।’


कृषिमा आधुनिकीकरण, सहकारी मार्फत कृषिमा रोजगारीको सिर्जना र वैज्ञानिक भूमिसुधारका लागि आफूले दीर्घकालीन कार्ययोजना निर्माण गर्न आवश्यक तयारी मन्त्री भएलगत्तै सुरु गरिसकेको पनि उनले बताइन् । ‘व्यावहारिक परिवर्तनका लागि नीतिगत सुधारसँगै कार्यान्वयन आवश्यक भएकाले कार्यान्वयनमुखी योजना बनाउने तयारीमा छौं,’ मन्त्री चौधरीले यसका लागि विज्ञहरूसँग आफूले छलफल सुरु गरिसकेको बताइन् । खण्डीकरणले उब्जाउ जमिन समाप्त हुँदै गएको छ, भूमिपूत्रका रूपमा परिचित थारू समुदायको अस्तित्व पनि उब्जाउ जमिन र कृषि पेसासँग जोडिएकाले यस विषयमा पनि उनले उचित योजना बनाएर अगाडि बढ्ने बताइन् ।


‘धेरै गर्ने इच्छाशक्ति छ तर राजनीतिक परिस्थिति र समयले कति गर्न सकिन्छ,’ उनले थपिन्, ‘जनतालाई परिवर्तनको अनुभूति हुने गरी केही गर्न सकिएन भने संघीयताको जग कमजोर हुन सक्ने हेक्का सबैले राख्नुपर्छ ।’ गर्नै नसकिने सपना बाँडेर जनतालाई बढी महत्त्वाकांक्षी नबनाउन पनि आफ्ना

सहकर्मीहरूलाई आग्रह गरिन् । ‘सबैले चमत्कारिक रूपमा समृद्धि र विकासका कुरा गरिरहेका छन्,’ चौधरी भन्छिन्, ‘तर पहिले हुन नसकेका आधारभूत कुरा गरौं, अनि मात्र समृद्धिका लागि विशेष योजना बनाउँदा जनताको विश्वास जित्न सकिन्छ ।’


माओवादी केन्द्रबाट समानुपातिक प्रदेश सांसद बनेकी ३२ वर्षीया विनीता पार्टीको केन्द्रीय आयोजक समिति सदस्य र जिल्ला सचिवालय सदस्य समेत हुन् । ०५७ सालमा विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेकी चौधरीले जनयुद्धकै क्रममा पर्शुराम चौधरीसँग जनवादी विवाह गरेकी हुन् ।

प्रकाशित : फाल्गुन १०, २०७४ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?