३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘पहिलो प्राथमिकता औद्योगिक क्षेत्र’

लगानीको वातावरण सिर्जना गर्न सरकारले आवश्यक कानुन निर्माण गर्ने
लघु तथा कुटीर उद्योगलाई प्राथमिकतामा राखेर उत्पादन बढाउन आवश्यक अनुदान दिनसक्ने नीति तर्जुमा गरिने
डीआर पन्त

धनगढी — मुख्यमन्त्री त्रिलोचन भट्टले औद्योगिकरणविना विकास सम्भव नभएकाले औद्योगिक क्षेत्र निर्माण सरकारको पहिलो प्राथमिकतामा भएको बताएका छन् । 

‘पहिलो प्राथमिकता औद्योगिक क्षेत्र’

नेपाल घरेलु तथा साना उद्योग महासंघले धनगढीमा गरेको कार्यक्रममा बोल्दै भट्टले ठूला कलकारखाना खोल्न नसकेपनि लघुु तथा कुटीर उद्योग विकास गर्न सके रोजगारीका धेरै सम्भावना बढ्न सक्ने बताए । लामो समयदेखि उपेक्षित सुदूरपश्चिममा लघु तथा कुटीर उद्योगका धेरै सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले भने, ‘औद्योगिक क्षेत्र निर्माण मात्र नभइ सरकारले लगानीको वातावरण समेत सिर्जना गर्न आवश्यक कानुन निर्माण गरिनेछ ।’ उद्योग स्थापनाका लागि उद्योगी तथा लगानीकर्तालाइ आकर्षित गर्न नीतिगत रुपमा गर्नुपर्ने परिवर्तनका लागि सरकार तयार रहेको उनले बताए ।


परनिर्भरता घटाउन उत्पादन र निर्यातमा जोड दिनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले उद्योगी ब्यवसायीहरूले समेत सरकारलाइ सहयोग गर्नुपर्ने वताए । उनले भने ‘यो क्षेत्रमा रहेका उद्योगका सम्भावना पहिल्याउन सरकारले उद्योगी ब्यवसायी र लगानीकर्तासंग आवश्यक छलफल गर्नेछ ।’


लघु तथा कुटीर उद्योगलाई प्राथमिकतामा राखेर उत्पादन वढाउनका लागि आवश्यक अनुदानसमेत दिनसक्ने नीतिको तुर्जमा गरिनेमा पनि सरकार खुला रहेको मुख्यमन्त्रीले वताए । वनपैदावार, जडीवुटी र कृषिमा आधारित लघु तथा कुटीर उद्योग स्थापनाका लागि उद्योगी ब्यवसायीलाई तयार रहन पनि मुख्यमन्त्री भट्टले आग्रह गरे ।


प्रदेश सरकारका सदस्यहरूको सम्मान तथा वधाइ कार्यक्रममा बोल्दै उद्योग मन्त्री माया भट्टले देशमा उद्योगमैत्री वातावरण नभएकाले अहिलेसम्म सुदूरपश्चिम पछाडी पारिएको वताइन । ‘प्राकृतिक स्रोत साधनमा सवैभन्दा धनी रहेको प्रदेशमा उद्योग स्थापनाको आधारशीला समेत तयार हुन सकेको छैन, ’ उनले भनिन् । प्रदेश ७ मा लघु तथा कुटीर उद्योगले रोजगारीका धेरै ढोका खोल्ने मन्त्री भट्टले दावी गरिन । उनले भनिन् ‘बझांगको सुनखानी, अछामको फलामखानी, डडेलधुराको अभ्रक खानी, तेलेलेकको तेलखानी जस्ता प्रदेशमा रहेका प्राकृतिक साधनको उपयोग गर्न सरकारले आवश्यक नीति र कानुन निर्माणलाइ प्राथमिकतामा राख्नेछ ।’


घरेलु तथा साना उद्योग महासंघका राष्ट्रिय उपाध्यक्ष तथा सांसद प्रकास रावलले उद्योग स्थापनाका क्षेत्रमा रहेका सम्भावना र समस्याका बिषयमा जानकारी गराएका थिए । ‘हालसम्म सरकारले उद्योगी ब्यवसायीलाइ सुरक्षा पनि दिन सकेन र उद्योग खोल्न प्रोत्साहन पनि दिन सकेन,’ रावलले भने ‘प्रदेश सरकार वनेपछि उद्योगी ब्यवसायीहरू उत्साहित भएर लगानी गर्न तयार छन् ।’


घरेलु तथा साना उद्योग महासंघ कंचनपुरका अध्यक्ष हरिप्रसाद जोशीले ८२ प्रतिशत वजेट घाटा देखिएको प्रदेश ७ को विकासमा लघु तथा कुटीर उद्योगको विकास हुन नसके आर्थिक चुनौती निकै बढी भएको जानकारी दिएका थिए ।

प्रकाशित : फाल्गुन १३, २०७४ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?