कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्रदेशको नामबारे बहस सुरु

अर्जुन शाह

धनगढी — प्रदेश ६ को नामकरण ‘कर्णाली प्रदेश’ भएलगत्तै छिमेकी प्रदेश ७ को नाम के राख्दा उचित होला भनेर यहाँ चर्चा, परिचर्चा सुरु भएको छ ।

प्रदेशको नामबारे बहस सुरु

उपसभामुखको निर्वाचन सम्पन्न गरेर फागुन ६ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित छ । प्रदेशसभा सचिवालयले अर्को बैठकको मिति तय गरेको छैन । तर, प्रदेशसभाका सांसदलगायत नागरिक समाज र सर्वसाधारणबीच प्रदेशको नामकरणका सन्दर्भमा चासो र चर्चा भने बढिरहेको छ ।

कैलाली क्षेत्र नं. २ को प्रदेशसभा १ बाट निर्वाचित एमाले सांसद रतन थापाले प्रदेशसभा सदस्यबीच प्रदेशको नामकरण गर्ने सन्दर्भमा अनौपचारिक चर्चा र छलफल सुरु भएको बताए । ‘धेरैजसो प्रदेशसभा सांसदले प्रदेशको नयाँ नामबारे चासो दिइरहेका छन्,’ सांसद थापाले भने, ‘सम्भवत: अब बस्ने प्रदेशसभा बैठकमा यो विषयले प्रवेश पाउनेछ ।’ नागरिक समाजका प्रतिनिधिलगायत सर्वसाधारणले समेत सामाजिक सञ्जाल र एक–आपसमा उपयुक्त हुन सक्ने नामबारे धारणा सार्वजनिक गर्न थालेका हुन् ।

प्रदेश ७ लाई खप्तड, सेती–महाकाली, मानसखण्ड र डोटीमध्ये कुनै एक नाम राख्न सकिने धारणा आएका छन् । चर्चामा आएका सबै नामको उत्तिकै ऐतिहासिक मर्म र गरिमा भएकाले चर्चामा आएका नाममध्ये जुनसुकै नाम उपयुक्त हुने स्थानीयको बुझाइ छ ।

‘खप्तड’ नाम राख्दा यस प्रदेशको महत्त्व अझ बढ्नेमा समेत केही प्रदेशसभा सांसद तथा नागरिक समाजका प्रतिनिधि बताउँछन् । यस प्रदेशको आर्थिक विकासका मूल आधार पर्यटन क्षेत्रको विकास मुख्य भएकाले ‘धर्तीको स्वर्ग’ उपमा चिनिएको खप्तड क्षेत्रकै नामबाट प्रदेशको नाम राख्दा राम्रो हुने भन्नेमा जोड दिनेसमेत बाक्लो संख्यामा भेटिए । सांसद थापाले भने, ‘खप्तड नाम राख्नेमा धेरै सांसदको एकमत होला जस्तो छ ।’

प्रमुख प्रतिपक्षी कांग्रेस डोटीबाट निर्वाचित सांसद भरत खडकाले नामकरण र स्थायी राजधानीको सन्दर्भमा सबै सांसदको साझा धारणा हुनुपर्ने बताए । ‘सत्तापक्ष र हामी विपक्षमा रहेका दल तथा सांसदबीच गहन छलफल र विमर्श गरेर निर्णय लिनुपर्छ,’ सांसद खडकाले भने । सत्तापक्षमा रहेका एमाले र माओवादी केन्द्र दुवै दलले यस एजेण्डालाई औपचारिक छलफलको विषय बनाएका छैनन् ।

बाजुरा नागरिक समाजका अगुवा नीरबहादुर शाहीले पनि ‘खप्तड’ नाम नै उपयुक्त हुने धारणा राखे । मुख्य चर्चामा रहेका नाममध्ये अर्को मुख्य चर्चा ‘सेती–महाकाली’ नाम हो ।

धेरैजसो सांसदले सेती–महाकाली वा खप्तडमध्ये एक नाम उपयुक्त हुने बताए । कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा २ बाट निर्वाचित सांसद नेपालु चौधरीले भने, ‘खप्तड र सेती–महाकालीमध्ये जुन नाम राखे पनि उपयुक्त हुन्छ ।’

प्रकाशित : फाल्गुन १४, २०७४ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?