लोप हुँदै परम्परागत संस्कृति

अर्जुन शाह

धनगढी — प्रदेश राजधानी धनगढीको पार्कभित्र शुक्रबार आयोजित होली विशेष कार्यक्रममा ‘हयाप्पी होली’ लेखिएका सेता टिसर्ट लगाएका युवायुवती दिनभर आधुनिक संगीतमा 
झुमेका थिए ।

होली मेलामा युवायुवतीको संख्या बराबरीजस्तै थियो । सेतो टिसर्ट र जिन्सको हाफ प्यान्टमा सजिएका युवतीहरू आधुनिक संस्कृतिले ढपक्कै थिए । उनीहरूको पहिरन, संगीत शैलीले पहिचान विलय गराए झैं लाग्थ्यो । यो जमातमा थारू किशोरीको संख्या पनि बाक्लै थियो । पछिल्लो समयमा मौलिक संस्कृति हराउँदै गएको थारू समुदायका किशोरीहरू परम्परा थाहै नहुने अवस्थामा पुगेका छन् ।


धेरैजसोलाई थारू नाच आउँदैन । उनीहरूलाई त्यसप्रति मोह पनि देखिँदैन । ‘हाम्रा छोरीहरूलाई थारू नाच आउँदैन,’ तारानगरका ठाकुराम चौधरी भन्छन्, ‘आधुनिक गीतसंगीतमै उनीहरूको मोह देखिन्छ ।’


बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा बसोबास भएका थारू समुदायको आफ्नो छुट्टै कला र सांस्कृतिक पहिचान छ । तर पछिल्लो समय नयाँ पुस्ताको सामीप्य आधुनिक सस्कृतिसँग बढै गएको छ । उनीहरूको मौलिक परम्परा लोप हुने अवस्थामा पुगेका छन् । माघी र दसैंमा यो समुदायले मनाउने मौलिक परम्परासमेत औपचारिकतामै सीमित हुन थालेका थारू अगुवाहरू स्विकार्छन् ।


डेढ सय परिवारको बसोबास रहेको तारानगर र जाईमा रहेको बस्ती धनगढी बजारबाट सबैभन्दा नजिक पर्छ । यी बस्तीमा दशकअघिसम्म राति भएपछि दैनिजसो थारू नाच चल्थे । परम्परागत रूपमा बनाइएका काठका घरको छानामाथि राखिएका माइकबाट घन्किने आवाजले थारू बस्तीको चिनारी दिन्थे । बिहानै भाले बासेसँगै बस्तीमा धान कुट्ने ढिकीको आवाजले आसपासका छिमेकीलाई ब्युँझाउँथ्यो । अहिले त्यो छैन । थारू र अन्य समुदायको बस्ती नछुट्टिने अवस्था छ ।


थारू परिवारमा उहिले एक हल राँगा, बंगुर, कुखुरा नहुने घरै हुँदैनथे । ६०/८० जनाको परिवार सगोलमै बस्थे । घरमूलीले परिवारका सबै सदस्यहरूको कामको बाँडफाँट गरेका हुन्थे । मूलीकै निर्देशनबमोजिम चल्थ्यो पूरै परिवार । अहिले त्यो हराएको छ । एउटा परिवारमा बढीमा ८/१० भन्दा बढी सदस्य हुँदैनन् । भाइहरू छुट्टिएर बस्छन् । तारानगरमा पहिलाको जस्तो सगोल बस्ती छैन ।


थारू समुदायअन्तर्गतका डगौरा, देसौरी, दङाहामा पुरानो पुस्ताका महिला–पुरुषले दसैंमा आआफ्नो वेशभूषामा सजिएर पहिचान झल्कने नाचगान गरी परम्परा जोगाएका छन् । दसैंमा मोरहिया गाउने र मादल बजाउने चलन छ । उनीहरूले लगाउने वस्त्र र गहनाको आकर्षण बेग्लै हुन्छ । तर अहिलेका किशोरीहरू यस्ता मौलिक वस्त्र र गहना लगाउन छाडेका छन् ।

थारू समुदायमा दशौरा, मघौटा, डेवारी, सखिया, लठहवालगायत नाच पछिल्लो युवा पुस्ताले बिर्सन थालेपछि संस्कृति र पहिचान बिस्तारै हराउँदै जान थालेको छ ।

प्रकाशित : फाल्गुन १९, २०७४ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?