कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लिंकरोड निर्माण सुस्त

कान्तिपुर संवाददाता

कञ्चनपुर — महेन्द्रनगरदेखि ब्रह्मदेव जोड्ने टनकपुर लिंकरोड निर्माणको काम सुरु भएको ८ वर्ष भयो । तर अझै पनि कल्भर्ट र पुल निर्माणकै चरणमा छ । कहिले बजेट अभाव त कहिले निर्माण सामग्री अभाव झेल्दै आएको उक्त सडक अहिले निर्माण कम्पनीका कारण ढिला भएको प्राविधिकहरू बताउँछन् । 

गत वर्षदेखि समयमै योजना सक्ने लक्ष्यसहित ठेक्का सम्झौता गरी काम भइरहेको छ । तर, अझै निर्माणको गति भने बढ्न सकेको छैन । २०७३ फागुनमा सम्झौता भई ०७६ भदौसम्म सडक कालोपत्रेसहित सम्पूर्ण काम सम्पन्न गर्ने सम्झौता भए पनि अहिलेको गतिअनुसार समयमै काम सम्पन्न हुने सम्भावना नरहेको प्राविधिकहरू बताउँछन् ।

योजना बनेको झन्डै दुई दशकपछि ०६७/६८ मा ट्रयाक खोलिएको हो । त्यतिबेलादेखि काम सुरु भए पनि हालसम्म ५ कल्भर्ट र ३ पुलसँगै माटो भर्ने काम मात्रै भएको छ । ‘अझै पनि २ साना र १ ठूलो पुल निर्माणको काम बाँकी छ,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका सब–इन्जिनियर सुमन खड्काले भने, ‘ती पुल निर्माण हुन अझै ४/५ महिना लाग्छ ।’ उनका अनुसार कामीकाटे खोलामा २ र तिलाचौरमा १ गरी ३ पुल निर्माणाधीन छन् ।

सब इन्जिनियर खड्काका अनुसार अहिले पुल निर्माणसँगै सडकमा माटो भर्ने काम भइरहेको छ । यो काम करिब ७० प्रतिशत सकिएको छ । नेपालको सबैभन्दा छोटो राजमार्गका रूपमा परिचित उक्त सडकले ट्रयाक खोल्ने काम सुरु भएदेखि नै गति लिन सकेको छैन ।

बहुचर्चित महाकाली सन्धिमा टनकपुर बाँधलाई पूर्व–पश्चिम राजमार्गसँग महेन्द्रनगरमा जोड्न बाह्रै महिना चल्ने सडक (अल वेदर लिंक रोड) सन्धि लागू भएको १ वर्षभित्र भारतीय पक्षले निर्माण पूरा गर्ने व्यवस्था छ । सन्धि भएको केहि समयपछि भारतीय कम्पनी राइट कन्सल्टेन्सले सडक निर्माणका लागि सर्भेसमेत गरेको थियो । तर सन्धि लागू भएको डेढ दशकसम्म भारतीय पक्षले सडक निर्माणमा चासो नदेखाएपछि नेपाली पक्षले आफ्नै लगानीमा ट्रयाक खोलेर काम सुरु गरेको हो । आव ०६७/६८ मा ट्रयाक खोल्दा ६ करोड बढी खर्च भएको प्राविधिकहरू बताउँछन् ।

अझ पनि पूर्वपश्चिम राजमार्गसँग जोड्न टनकपुर ब्यारेजदेखि सीमा क्षेत्रसम्म १२ सय मिटर सडक भारतीय पक्षले नै निर्माण गर्नुपर्ने हो । तर यस विषयमा अहिले कुरा नै हुन छाडेको प्राविधिकहरू बताउँछन् । भारतीय पक्षले टनकपुर ब्यारेजको पुल निर्माणमा प्राविधिक त्रुटि रहेको भन्दै ठूला सवारी साधन चल्न दिएको छैन । त्यही कारण देखाएर लिंक रोड निर्माणमा समेत चासो नदिएको यस क्षेत्रका स्थानीय बताउँछन् । लिंक रोड अन्य सडकसँग पहुँच नभएपछि अब यो ग्रामीण सडकजस्तै हुने देखिन्छ ।

प्रकाशित : फाल्गुन २०, २०७४ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?