कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरो व्यवस्थापन गर्न स्थलगत अवलोकन

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका ४ बांगाबगड पारि भारततर्फको खोतिला पहिरो व्यवस्थापनका लागि नेपाल र भारतका अधिकारीहरूले स्थलगत अवलोकन गरेका छन् । दुवै पक्षका प्राविधिक सम्मिलित टोलीले बुधबार स्थलगत अवलोकन गरेको हो । 

पहिरो व्यवस्थापन गर्न स्थलगत अवलोकन

वर्षात्अगावै उक्त स्थानमा रहेको पहिरोको बीच भागमा अड्किएको माटो ढुंगा नहटाए वर्षात्मा जोखिम बढ्ने भन्दै दुवै पक्ष पहिरो व्यवस्थापन गर्न सहमत भएका छन् । पहिरोको बीच भागमा ठूलो ढुंगा रहेकाले कुनै पनि बेला ती ढुंगा खसे महाकालीको पानीको बहाव रोकिने अवस्था छ ।

दुवै देशलाई खतरा हुने भन्दै पहिरो हटाउन भारतलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । भारतीय पक्षले उक्त पहिरो व्यवस्थापनका बारे विस्तृत प्रतिवेदन नेपाली पक्षलाई ३ दिनमा दिने जनाएको छ ।


नेपाली पक्षले उक्त स्थानमा नदीको बहाव नेपालतर्फ मोडिएको हुनाले पक्की तटबन्ध निर्माण गर्न अप्ठ्यारो भएको जनाएको छ । ‘पूरै पहिरो व्यवस्थापन गर्न समय लागे पनि नदी किनारको ढुंगा सम्याएर नदीलाई सोझो अघि बढ्न सक्ने बनाए पुग्छ,’ महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलचन्द्र देवकोटाले भने, ‘उक्त स्थानमा नदीको चौडाइ २.५ मिटर मात्र छ । नदी किनारको ढुंगा हटाए नदीको चौडाइ बढ्दा तटबन्ध निर्माण गर्न सजिलो हुन्छ ।’ गत अगस्ट अगाडिसम्म पहिरो खसेको ठाउँमा महाकालीको चौडाइ ५ मिटरभन्दा बढी थियो । पछि वर्षात्मा बिस्तारै पहिरो बस्दै गएपछि अहिले २.५ मिटर चौडाइमा नदी बगिरहेको उनको भनाइ छ ।


भारतीय पक्षले उक्त पहिरो हटाउन गत वर्ष नै ठेकेदार कम्पनी छनोट गरी कार्य अगाडि बढाए पनि स्थानीय खोतिलावासीले बाटोको व्यवस्था गरेपछि मात्र हटाउन भनेपछि काम रोकिएको भारत धारचुला तहसिलका एसडीएम राजकुमार पाण्डेयले बताए । स्थानीयको अवरोधपछि ठेकेदार कम्पनीले काम छोडेको उनको भनाइ छ ।


भारतीय सिँचाइ विभागका प्रतिनिधि पहिरो हटाउन जोखिम रहेको भन्दै आनाकानी गरिरहेका थिए । नेपाली पक्षले उक्त कार्य गर्न नसक्ने भए आफूलाई अनुमति र सुरक्षा दिनुहोस्, आफू तयार रहेको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख देवकोटाले भनेपछि भारतीय पक्षले यसको विस्तृत प्रतिवेदन ३ दिनमा दिने जनाए । यसअघि सोमबार भारतको पिथौरागढमा बसेको नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा दुवै देशका प्राधिकरण टोलीले प्राविधिक अध्ययनका लागि स्थलगत अवलोकन गर्न सहमत भएका थिए ।


पहिरोबीचमा रहेको ठूलो ढुंगा हटाउन विस्फोट गराउनुपर्ने हुँदा यसका लागि दुवै पक्षका अधिकारीहरूको समन्वयमा गरिने जनाइएको छ । पहिरोको जोखिम घटाउने, खोतिलाका स्थानीयलाई बाटोको व्यवस्था र नदी किनारका ठूला ढुंगा मिलाएर नदीलाई सिधा बग्ने किसिमको रिपोर्ट तयार गर्न भारतीय सिँचाइ विभागका अधिकारीलाई निर्देशन दिइएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?