कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोक्सी आरोपमा निर्मम कुटपिट

कुटपीटमा संलग्न एक पक्राउ
डीआर पन्त

धनगढी — देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा कैलालीको दुर्गम थारू बस्तीमा बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरिएको छ । निर्मम कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बोक्सी आरोपमा निर्मम कुटपिट

घोडाघोडी नगरपालिका–५ देउकलीस्थित घरमा बिहान आँगन सफा गरिरहेका बेला आइपुगेका गाउँकै सात जनाको समूहले उनलाई जबर्जस्ती बाँधेर लगेका थिए । नजिकै छिमेकी किस्मती चौधरीको आँगनमा कुरिरहेका भोलेबाबा भनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै उनीमाथि निर्मम कुटपिट गरेका हुन् । पीडित चौधरीको पेट, छाती, टाउको, खुट्टा, घाँटी, नाक, कानलगायत शरीरका अन्य भागमा गम्भीर चोट छन् ।


कुनै समय सानोतिनो व्यापारमा संलग्न भए पनि अहिले आफूलाई भोलेबाबा बताउने २५ वर्षीय रामबहादुरले बोक्सी भगाउने भन्दै कुटपिट गरिरहँदा भेला भएका सयौं स्थानीयमध्ये कसैले पनि नरोकेको पीडितका बुवा जोखन चौधरीले दुखेसो पोखे । ‘लगातार छोरीमाथि कुटपिट भयो,’ उनले भने, ‘सबैले नाटक हेरेजस्तै हेरिरहे, कसैले रोक्ने प्रयास गरेनन् ।’


‘घटना एकाएक भयो, छोरीको हातखुट्टा बाँधेर लिएर गए, गुरुवा (थारू समुदायको झाँक्री) भएको ठाउँमा पुग्दा सयौं मान्छे जम्मा भइसकेका थिए,’ उनले भने, ‘हामी एक्लाको कुरा कसले सुन्ने ? कसैले सुनेनन् ।’ पीडित राधाकी आमा फूलकेशरीले कुटपिट रोक्नुको सट्टा जम्मा भएका स्थानीयले ताली बजाएको बताइन् । ‘हामी रोइकराइ गरिरहेका थियौं, अरू ताली बजाइरहेका थिए,’ उनले सुनाइन् । प्रहरीले समेत सुरुमा कुरा सुन्नै नमानेको उनले गुनासो गरिन् । ‘गाउँकै किस्मती चौधरी लगायतको समूहले छोरीलाई जबर्जस्ती लगेका हुन्,’ उनले भनिन् ।

‘बिहान आँगन सफा गरिरहेकी थिएँ, एकाएक जबर्जस्ती मलाई बाँधेर बाबा भएको ठाउँमा लगे,’ शुक्रबार उपचारका लागि सेती अञ्चल अस्पताल ल्याइएकी पीडित चौधरीले भनिन्, ‘उनीहरूले बोक्सी झार्नुपर्छ भन्दै जबर्जस्ती उठाएर किस्मतीको आँगनमा पुर्‍याए ।’ आफूलाई पुर्‍याइँदा त्यहाँ धेरै मान्छे जम्मा भइसकेको बताउँदै उनले भनिन्, ‘मेरा संवेदनशील अंगदेखि शरीरभरि कुटपिट भयो ।’ उनले ‘बोक्सी हुँ’ भनेर नस्वीकार्दासम्म घण्टौं कुटपिट भइरहेपछि स्वीकार्न बाध्य भएको बताइन् ।


आफूलाई दैवीशक्ति प्राप्त भएको भन्दै बोक्सी आरोपमा कुटपिट गर्ने रामबहादुरलाई शुक्रबार मात्र प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय सुखडमा ल्याइएका भोलेबाबालाई छुटाउन सयौंको संख्यामा स्थानीय प्रहरीकहाँ पुगेका थिए । प्रहरीले घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा भोलेबाबा उर्फ रामबहादुर चौधरीलाई छाडेको सई दिनेश विष्टले बताए । नगरप्रमुख चौधरीले घटनाबारे आफूलाई जानकारी नभएको जवाफ दिए । ‘बिहीबार म मलामी गएको थिएँ, साँझ अबेर मात्र घटनाबारे जानकारी पाएको हुँ,’ उनले भने ।


कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले घटनाबारे अनुसन्धान भइरहेको बताए । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयको टोली अस्पताल पुगी घटनाबारे पीडित र आफन्तसँग जानकारी लिएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७४ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?