२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

 रिक्साले फेरिएको जिन्दगी

अर्जुन शाह

धनगढी — दार्चुलाको धाप गाउँका ३० वर्षीय विष्णुभक्त बिष्ट पोलियो ग्रसित भएर जन्मिए । दुवै खुट्टा राम्ररी चलेनन् । अहिले पनि अवस्था त्यस्तै छ । बैसाखीको सहारामा बसउठ गर्न सक्छन् ।

पहाडको बसाइ, हिँडडुल गर्न नसक्दा जीवन कष्टकर थियो । अन्य बालबालिका र युवाको जस्तो रहर त उनलाई पनि नभएको त कहाँ हो र ? तर शरीरले उनलाई त्यो सुविधा दिएन ।

दाइभाउजूले धनगढीमा घर बनाएकाले दुई वर्षअघि उनलाई पहाडबाट तराई झर्ने बाटो खुल्यो । तराई झरेपछि पहिलाभन्दा केही सजिलो भइहाल्यो उनको दैनिकी । उनका पाइला बाटामा वरपरसम्म हिंडडुल गर्न सजिलो हुन थाल्यो ।

त्यसबेला धनगढी बजारमा भर्खरभर्खर विद्युतीय रिक्सा खुलेका थिए । तीनपांग्रे र केही हलुकासमेत हुने भएकाले बिष्टका मनमा पनि रिक्सा आफूले चलाउन पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । ‘एक दिन छिमेकीको विद्युतीय रिक्सा हेर्दै चलाउन सक्छु कि भनेर कोसिस गरेँ, केहीबेरमै मैले त्यो रिक्सा चलाएँ,’ बिष्टले भने, ‘त्यसपछि त रिक्सा किन्न पाए हुन्थ्यो भन्ने लागेर दिनरात बेचैन मन भइरह्यो ।’

मनमा रहर जागेर मात्रै कहाँ पुग्थ्यो र ? विद्युतीय रिक्सा किन्न कम्तीमा ३ लाख आवश्यक हुने उनले थाहा पाए । त्यति पैसा उनीसँग हुने कुरै थिएन । दुई जना दाजु भए पनि भर्खरै घर बनाउँदा दाजुहरूको खल्ती पनि रित्तिएको थियो । विष्णुभक्तका मनमा रिक्सा चलाउने एकोहोरो धुन जागिसकेको थियो । मनमा अनेकौं उपाय खेलाउन थाले उनी । केही सीप नचलेपछि मनमनै दिदीभिनाजुले सहयोग गर्लान् कि भन्नेमा मनमनै आस जाग्न थाल्यो । तर अर्काकी हिस्सा भइसकेकी दिदीलाई कसरी पैसा माग्नु अप्ठ्यारो मानेर हप्तौंसम्म मनभित्रै कुरा लुकाएर राखे ।

संयोगवश एक दिन भिनाजु घरमा आएको मौका छोपेर उनले आफ्नो कुरा राखे । ‘आजकल बजारमा चलिरहेका रिक्सा भए मेरो जीवन बदलिनसक्ने कुरा भिनाजुलाई सुनाएँ,’ बिष्टले भने, ‘भिनाजुले मेरो योजना सुनेपछि सहयोग गर्ने वचन दिए ।’ दुई महिनापछि भिनाजुले रिक्सा ल्याएर मेरो हातमा थमाए । ‘त्यो दिन मेरो जीवनको सबैभन्दा खुसीको दिन थियो,’ उनले भने, ‘त्यो दिन अपांगताका कारण भोग्नुपरेका सबै दु:खकष्ट हराए ।’

सुरुसुरुतिर भएकाले बजारमा अहिले जस्तो बाक्लो संख्यामा इ रिक्सा थिएनन् । काम सुरु गरेकै दिनदेखि राम्रै कमाइ हुन थाल्यो । अहिले दैनिक सरदर हजार रुपैयाँ कमाइ हुने गरेको उनले बताए । महिनामा ५ हजारजति मर्मतसम्भारमा खर्च हुने गरेको उनी बताउँछन्् । अचेल महिनाको २० देखि २५ हजारसम्म आम्दानी गर्ने भएपछि दाजुभाउजूका प्यारा भएका छन् उनी । उनकै कमाइले परिवारको घरखर्च टरेको छ । ‘२८ वर्षको उमेरसम्म भोगेको शारीरिक पीडा सबै यही रिक्साले बिर्साएको छ,’ विष्णुभक्तले भने, ‘यही रिक्साले मेरो जिन्दगी बदल्यो ।’

प्रकाशित : फाल्गुन २६, २०७४ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?