१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वार्डेन सम्मेलन हुँदै 

मनोज बडू

दार्चुला — ‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका लागि भावी कार्यदिशा’ मुख्य नारासहित ३४ औँ राष्ट्रिय वार्डेन सेमिनार तथा १६ औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरूको सम्मेलन दार्चुलामा हुँदै छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा हुने उक्त कार्यक्रम फागुन ३० बाट सदरमुकाम खलंगामा सुरु हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

देशभरिका राष्ट्रिय निकुञ्ज, सिकार आरक्ष क्षेत्र, संरक्षण क्षेत्रका प्रमुख (वार्डेन) हरूको राष्ट्रिय सम्मेलन अपि नाम्पा संरक्षण क्षेत्र रहेको दार्चुलामा गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव तथा सूचना अधिकारी नारायण रूपाखेतीका अनुसार सम्मेलनमा वन मन्त्रालय, निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रका प्रमुखका साथै तिनको सुरक्षामा तैनाथ सेनाका प्रमुख, मध्यवर्ती क्षेत्रका अध्यक्षहरू, सरोकारवाला निकाय, संरक्षणकर्मी र विशेषज्ञलगायत सहभागी हुनेछन् ।

चैत २ सम्म चल्ने सम्मेलनले वर्षभरि भएका संरक्षणका कार्यक्रमको समीक्षा गर्नुका साथै आगामी वर्षका लागि आवश्यक रणनीतिक कार्यक्रम तय गरिनेछ । वर्षभरि गरिएका कामहरूको समीक्षा गरी अनुभवका आधारमा नयाँ कार्यदिशा तयार गर्ने तथा संरक्षत क्षेत्र प्रणालीमा काम गर्ने व्यवस्थापकलगायत सरोकारवालाहरूलाई देशको भौगोलिक अवस्थाका बारेमा जानकारी दिने वार्डेन सम्मेलनको मुख्य उद्देश्य रहेको विभागका सूचना अधिकारी रूपाखेतीले जानकारी दिए । ‘त्रिपक्षीय समन्वयात्मक दृष्टिकोणका आधारमा संरक्षण क्षेत्र व्यवस्थापन प्रणाली चलेको छ,’ पत्रकार सम्मेलनमा उपसचिव रूपाखेतीले भने, ‘स्थानीय, संरक्षणकर्मी र सुरक्षाकर्मी मिलेर प्रणालीगत रूपमा अगाडि बढेका छौं ।’


राष्ट्रिय निकुञ्जलगायत देशभर २० ठाउमा संरक्षण क्षेत्रहरू छन् । गत वर्षको सेमिनारको नारा आय आर्जनमा जोड थियो । पारस्थितिक प्रणाली सन्तुलन तथा जैविक विविधता संरक्षणका लागि संरक्षण क्षेत्र आवश्यक रहेको हुँदा विविध कारणले वन्यजन्तुको बासस्थान नासिँदै गएकाले मानव वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ । यस हिसाबले यो वर्षको सेमिनारको नारा यसैसँगै गाँसिएको छ ।


मानव र वन्यजन्तुको द्वन्द्व बढिरहेको अवस्था भए पनि त्यसलाई न्यूनीकरण समयसापेक्ष रूपमा व्यवस्थापन गर्नु अहिलेको प्रमुख चुनौती छ । उनले थपे, ‘द्वन्द्व निराकरण गर्नु मुख्य उद्देश्य भए पनि द्वन्द्वलाई न्यूनीकरण गर्ने दिशातर्फ उन्मुख हुनु आजको आवश्यकता हो ।’

अपिनाम्पा संरक्षण क्षेत्र त्रिदेशीय सीमामा अवस्थित भएको हुनाले वन्यजन्तुको अखेटोपहार चोरी सिकारीमा बदनामी कमाएको हुनाले संरक्षणको सुरक्षार्थ सेनाको खाँचो रहेको कुरा सञ्चारकर्मीहरूले पत्रकार सम्मेलनमा औंल्याउँदा सूचना अधिकारी रूपाखेतीले सबै क्षेत्रबाट पहल हुन सके राख्न सकिने जनाए । ‘उक्त क्षेत्रमा स्थानीयलाई बुझ्दा सुरक्षाको अभाव खड्किएको छ,’ रूपाखेतीले भने, ‘नेपाली सेनाको ८ वटा गुल्म र गण चलाउने निर्देशनालयका प्रमुख वा प्रतिनिधि यो सेमिनारमा आउने हुँदा र यहाँको आवश्यकता पनि लेखिएको हुनाले राख्ने सकिने पर्याप्त सम्भावना देखिन्छु ।’ देशकै सामरिक महत्व बोकेको क्षेत्र हुदा समेत राज्यले यसतर्फ खाशै ध्यान नपुर्‍याएको सन्दर्भमा सामरिक महत्वको क्षेत्र र संरक्षण क्षेत्रलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुरक्षाकर्मी चाहिने हुँदा सबैको पहल पुगे त्यो सम्भव रहेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन २८, २०७४ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?