कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दरबार पुनर्निर्माण रोकियो

मेनुका ढुंगाना

अछाम — माओवादी द्वन्द्वका बखत ध्वस्त भएको अछाम दरबार पुनर्निर्माणमा लापरबाही देखिएको छ । २०५८ मा माओवादीले आगजनी गरी ध्वस्त हुन पुगेको दरबार पुनर्निर्माणको काम २०६५ मा सुरु भएको हो । ठेकेदारको ढिलासुस्ती र अन्य कारणबाट निर्माणकार्य ७ वर्ष अवरुद्ध हुन पुग्यो । गत भदौमा पुन: सुरु भएको निर्माणकार्य यतिबेला फेरि रोकिएको हो ।

दरबार पुनर्निर्माण रोकियो

अछामको पहिचान बोकेको दरबार निर्माणमा लापरबाही हुँदा स्थानीय आक्रोशित बनेका छन् । ‘अछाम दरबारसँग हाम्रा पुर्खाको इतिहास जोडिएको छ,’ स्थानीय दिनेशकुमार स्वाँरले भने, ‘दरबार बनाउँछौं भनेर पटक–पटक अल्मल्याएर जनतालाई ठग्न पाइँदैन । अब हामी नै निर्माणकार्यमा भइरहेको ढिलाइका विरुद्ध उत्रिनेछौं ।’ दरबार निर्माणमा भइरहेको ढिलाइमा जिल्लाका सबै सरोकारवाला संलग्न भएकाले कसैले पनि यसको बारेमा बोल्न नचाहेको स्वारको आरोप छ ।

भदौमा सुचारु भएको काम किन रोकियो भन्नेबारे कुनै जानकारी नभएको जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले बताए । ‘भदौमा दरबार निर्माणका लागि आवश्यक पर्ने काठ जता पाइन्छ, त्यतैबाट ल्याउन प्रशासनले सहज गराइदिएर काम सुचारु भएको हो,’ उनले भने, ‘अनेक बहाना बनाएर ठेकेदारले नै लापरबाही गरेको छ ।’

अछाम क्षेत्र नम्बर २ का जनप्रतिनिधिले उम्मेदवार हुँदा दरबार पुनर्निर्माण दु्रत गतिमा लैजाने चुनावी एजेन्डा बनाए तापनि हालसम्म कसैले चासो नदिएको उल्टै ठेकेदारको बचाउ गरेको स्थानीयले आरोप लगाउन थालेका छन् । अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद यज्ञ बोगटीले निर्वाचित भएलगत्तै दरबारको काम रोकिएकोबारे खोजीनीति गरेको बताए । ‘ठेकेदार, सीडीओलगायत अन्य सरोकारवालासँग संयुक्त रूपमा बसेर काम किन रोकिएको हो भन्नेबारे जान्न खोजिरहेको छु,’ सांसद बोगटीले भने, ‘तर ठेकेदार नै सम्पर्कविहीन भएको र कहाँ छन् भन्नेबारे कुनै जानकारी आएको छैन ।’


दरबार निर्माणको ठेक्का २ करोड २५ लाखमा स्वीकृत भएको थियो । ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको दाबी गर्ने ठेकेदार जयबहादुर साउदले काम गरेबापतको ९० लाख रकम निकासा गरिएको बताए । ‘आवश्यक पर्ने निर्माण सामग्री सहज रूपमा उपलब्ध गराउन नसक्दा काम रोकिएको हो । अहिले निर्माण सामग्रीको व्यवस्थामा लागेको छु । चैत पहिलो साताबाट काम सुरु हुन्छ,’ साउदले भने ।

२०६७ सालमै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बताउँदै साउदले काठ अभावको कारण ७ वर्ष काम रोकिएको बताए । ‘२ वर्ष काम भयो, विभिन्न किसिमका समस्या आए,’ उनले भने, ‘अहिले निर्माण सामग्रीको भाउ पहिलेभन्दा दोब्बर बढ्यो तर त्यो पनि पाइँदैन ।’ पटक–पटक ठेक्काको म्याद थप्दै २०७५ असारसम्म अन्तिम म्याद थपिएको भए पनि काम सुरु हुनेमा शंका नै रहेको सरोकारवाला बताउँछन् ।


दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायत महत्त्वपूर्ण कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । माओवादी आक्रमणमा परी अछामका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसमेत मारिएका थिए । घटनामा सेनाका क्याप्टेनसहित ५३ जना, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो ।

जिल्लाका अन्य सरकारी कार्यालय पुनर्निर्माण गर्न तोकिएको समयसीमा नाघेपछि पुनर्निर्माण समितिले ठेकेदारलाई हर्जाना तिराएर काम गराएको भए पनि दरबार निर्माणमा भने वर्षाैंसम्म निर्माण सम्पन्न नहुँदा पनि यसका ठेकेदारलाई भने केही गरिएको छैन ।

प्रकाशित : फाल्गुन २८, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?