आयुर्वेदिक उपचारले राहत 

कान्तिपुर संवाददाता

बझाङ — छबिस पाथिभेरा गाउँपालिका खतेडाका ईश्वर जोशीको दुवै हातका जोर्नीहरू दुख्ने समस्या भएको धेरै भयो । उनले उपचारका लागि जिल्लाका धेरै स्वास्थ्य संस्थामा धाए । जिल्लामा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज, नेपालगन्जसम्म पनि पुगे । थुप्रै औषधिको प्रयोग र थेरापीको अभ्यास गरे पनि निको भएनन् । धेरै रकम खर्च र समयको बर्बादी मात्र भयो । 

हातको उपचारका लागि थुप्रै ठाउँ धाएका उनले हेरिहालौं न त भनेर गाउँकै आयुर्वेदिक औषधालयमा जाँच गराए । औषधालयका कविराजले उनलाई केही आर्युर्वदिक औषधिको साथै स्वेदनकर्म विधि (बाफबाट सेकेर उपचार गरिने आर्युर्वेदिक पद्धति) बाट उपचार गर्न सुझाए । नभन्दै उनको हात निको हुन थाल्यो । ‘पानीको अम्खरा पनि उठाउन नसक्ने गरी दुवै हातले काम गर्न छोडिसकेका थिए,’ जोशीले सुनाए, ‘अरू उपचारले कुनै काम गरेको थिएन । आयुर्वेदिक उपचारका कारण अहिले हात निको हुन थालेको छ । पहिलाभन्दा निकै सुधार हुँदै छ ।’

उपचार गर्दागर्दै थाकेका उनले आयुर्वेदिक उपचार चामत्कारिक रहेको प्रतिक्रिया दिए । छबिस पाथिभेरा गाउँपालिकाको व्यासी आयुर्वेदिक औषधालयले एक महिनाअघि मात्र सुरु गरेको बाफबाट उपचार गर्ने यो विधिले जोर्नि दुख्ने, हात खुट्टा दुख्ने, झमझमाउने, लाटो हुने, निदाउने, पक्षाघात हुने आदि विभिन्न खालका बाथ रोग चामत्कारिक ढंगले निको हुन थालेपछि यहाँ उपचार गर्न आउनेहरूको भीड बढ्न थालेको छ ।

प्रत्येक हप्ताको सोमबार र बिहीबार सञ्चालन गरिने यो विधिको उपचार सेवा लिन दैनिक सयको हाराहारीमा बिरामी आउने गरेको औषधालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?