दर्जनभन्दा बढीलाई शोषण

अभियुक्त चौधरीका २ महिना
डीआर पन्त

धनगढी — कैलालीको देवकलियामा भएको बोक्सी प्रकरणसँगै अभियुक्त रामबहादुर चौधरीको कर्तुत सार्वजनिक हुन थालेका छन् । बितेका दुई महिनामा चौधरीको आँगनमा दर्जनभन्दा बढी युवतीलाई यातना मात्र दिइएन । उनीहरूको यौन शोषणसमेत भएको खुलासा भएको छ ।

दर्जनभन्दा बढीलाई शोषण

भोलेबाबा बनेको दुई महिनाभित्रै दर्जनभन्दा बढी युवतीमाथि चौधरीले यौन शोषण गरेको स्थानीयले मुख खोलेका छन् । बाबाका नामले चर्चामा आएको सुरुका केही दिन उनले सामान्य झारफुक गरेर बिरामी घर फिर्ता गर्दिन्थे । तर, किस्मती र स्मारिका ‘पार्वती बनेर’ आएपछि लगातार दैनिकजसो उपचारका लागि आउने थारू युवतीहरूमाथि यातना र यौन शोषणको सिलसिला सुरु भएको देखिन्छ । एकै दिन बाबाले ४ जना युवतीलाई यातना दिएको भिडियो सार्वजनिक भइसकेको छ । आफ्नै आँगनमा लहरै युवतीलाई बोक्सी भगाउने निहुँमा संवेदनशील अंग समात्नु, यौनांगमा घोच्नु उनलाई सामान्यजस्तै भइसकेको थियो । एक पटक बाबाकहाँ उपचारका लागि आएकी युवतीले कि यातना खेप्नुपथ्र्यो नत्र यौन शोषणको सिकार बन्नुपर्ने स्थानीयको भनाइ छ ।

‘बाबा आदेश दिन्थे उनकी पार्वती यातना दिने गर्थे,’ स्थानीय रेणुका बोहराले भनिन्, ‘सयौंको अगाडि बाबाले युवतीहरूलाई पेन्टी र ब्रासमेत देखाउन बाध्य बनाउँथे ।’ आफूमा भूत–प्रेत बोक्सी चढेको स्वीकार नगर्दासम्म युवतीले यातना खेप्नुपथ्र्यो ।

‘स्वीकार गरेपछि लगातार १५ दिन बाबाको कथित आश्रममा बस्नुपथ्र्यो,’ उनले भनिन्, ‘चर्चा पाएको थोरै समयमा बाबाले धेरैको यौन शोषण गरेको र कथित पार्वतीहरूले चरम यातना दिएका छन् ।’ यातना दिनेमा बाबाभन्दा पार्वतीहरू अगाडि हुन्थे । बोहरा भन्छिन्, ‘सार्वजनिक भएका भिडियो मात्र प्रमाण होइनन्, बाबाका चर्तिकला देख्ने गाउँभरि धेरै छन् ।’

बाबाले अन्धविश्वासको आडमा ग्रामीण भेगबाट उपचारका लागि आएका पुरुषलाई सामान्य झारफुकपछि घर फिर्ता गर्दिन्थे । तर, युवतीलाई भने अनेक बहाना बनाएर कथित आश्रम आफ्नै घरमा बस्न बाध्य बनाउने गर्थे । प्राय: हरेक दिन उपचारका लागि आउने सयौंमध्ये कथित बाबाले युवतीहरूलाई मात्र यातना दिन लगाउँथे । ‘बोक्सी शब्दसमेत उच्चारण गर्न पाइँदैनथ्यो,’ प्रत्यक्षदर्शीहरू भन्छन्, ‘बाबाले भूत–प्रेत शरीरमा प्रवेश गरेको भन्थे र त्यो स्वीकार नगर्दासम्म विभिन्न किसिमले यातना दिन लगाइन्थ्यो ।’


११ कक्षासम्म पढेका कथित बाबालाई बोक्सी भनेपछि कानुनले समात्न सक्ने सम्भावनाका विषयमा राम्ररी जानकारी थियो । स्थानीय रोशन चौधरीले भने, ‘पार्वतीहरूले बोक्सी चढेको भनिरहँदा बाबाले बोक्सी भन्न नहुने भनेर उनीहरूलाई हप्काउने गथ्र्यो ।’ ‘हरेक दिन बाबाको आँगनमा भूत–प्रेत भगाउने नाटक मञ्चन हुन्थ्यो,’ रोशनले भने, ‘दुई महिनाको अवधिमा यसरी भूत–प्रेत भगाउने निहुँमा १३ जना युवती कथित बाबाको जालमा फस्न बाध्य भएका थिए ।’ ‘कसैका अभिभावकले बाबाप्रति शंका गरेर आफ्ना छोरी लगेर जान्थे भने अधिकांसले अन्धबिश्वासको आडमा उपचारका लागि बाबाकहाँ नै छोडेर जान्थे । बाबाकहाँ छोडेर जाने युवती भएको कोठामा बाबा मध्यरातमा पस्ने गरेका थिए,’ रोशनले भने, ‘त्यहाँ के–के हुन्थ्यो त्यो भन्न सकिने स्थिति नै छैन ।’ उपचार गर्न आउने अधिकांश ग्रामिण भेगका चौधरी समुदायका व्यक्ति हुन्थे । बाबाले जे गरे पनि जुन किसिमले उपचार गरे पनि बोल्ने साहस भने कसैले गर्दैन्थे । ‘बाबाको आँगनमा उपचारका क्रममा देखिने भीडमा गाउँका भन्दा पनि बाहिरबाट आएकाहरू बढी हुन्थे’ स्थानीय खेम सापकोटा भन्छन्, ‘यातना खप्न नसकेर युवतीहरू आफूमा भूत–प्रेत रहेको स्वीकार गर्थे र बाबाको घरभित्र लगिन्थे ।’

गाउँका भलमान्सा राजाराम चौधरीले सबै कुरा थाहा पाएपछि भोलेबाबाको त्रिशूल तामझाम सबै खेतमा फालेर चेतावनी पनि दिएका हुन् । तर त्यसको कुनै असर बाबामा परेन । उल्टै बाबाले भलमान्साविरुद्ध पनि आफ्नी पार्वती मार्फत गलत प्रचारबाजी गर्न लगाए ।

‘धेरै पटक सम्झाएर नमानेपछि मैले उसको तामझाम र त्रिशूल सबै लगेर खेतमा फालिदिएँ,’ भलमान्सा राजाराम चौधरीले भने, ‘तर अन्धविश्वासको जालोमा रहेको समाजमा मेरो कुरा धेरैले राम्रो मानेनन् ।’ आइतबार पीडित राधा चौधरीको घरमा भेटिएका भलमान्सा चौधरीका अनुसार अन्धविश्वासको आडमा बाबा र पार्वतीले ठूलै घटना गराउनुपूर्व नै राधा प्रकरणले सबै कुरा बाहिर ल्यायो ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?