कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुष्ठरोगको उच्च जोखिम

‘ग्रामीण भेगमा अहिले पनि कुष्ठरोग भन्नेबित्तिकै लुकेर बस्ने तथा पूर्वजन्मको पाप हो भन्ने चलन व्याप्त छ,’

कञ्चनपुर — कञ्चनपुरमा जिल्लास्तरीय कुष्ठरोग निवारण अभियान सुरु हुने भएको छ । प्रदेश ७ का अन्य जिल्लाको तुलनामा उच्च जोखिममा रहेका कारण चैत ४ देखि ७ सम्म अभियान सुरु गरिने भएको हो ।

सरकारले नेपालमा २०१० मै कुष्ठ रोग निवारण भएको घोषणा गरे पनि विभिन्न जिल्लाहरूमा भने अझै पनि जोखिम उच्च रहेका कारण जिल्लास्तरमै कार्यक्रम गरिन लागेका हुन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रति १० हजारमा १ जना भन्दा कममा रोग देखिए निवारण भएको मानिन्छ ।

‘समग्र देशभरिमा निवारण भए पनि जिल्ला तहमा भने अझै जोखिम कायमै छ,’ अभियानका बारे बिहीबार पत्रकारहरूसँग आयोजित अन्तरक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय–कुष्ठ अधिकृत उद्धवबहादुर ठगुन्नाले भने, ‘प्रदेश ७ का कैलाली, कञ्चनपुर र अछाम अझै उच्च जोखिममा छन् ।’ उनका अनुसार कञ्चनपुरमा कुष्ठरोगीको संख्या प्रति १० हजारमा १ कै हाराहारीमा रहेको र विगत ८/१० वर्षदेखि घट्न सकेको छैन । यस वर्ष उक्त संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा गत आर्थिक वर्षमा ५२ जना नयाँ रोगी भेटिएका थिए । चालु आवको पहिलो चौमासिकमै ५३ जना भेटिएकाले जोखिम बढदै गएको ठगुन्नाले बताए । गत वर्षभन्दा अघि ४७ जना उपचाररत थिए । ‘ग्रामीण भेगमा अझै पनि कुष्ठरोगी लुकेर बसेका कारण बिरामीको संख्या बढ्न थालेको देखिन्छ,’ उनले भने, ‘त्यस्ता रोगीलाई घरघरमै पुगेर खोज्ने तथा उपचार गराउने गरी अभियान सुरु हुन लागेको हो ।’ ४ दिनसम्म सञ्चालन हुने अभियानअन्तर्गत जिल्लाका ६ वटा नगरपालिकामा ६ सय १८ जना स्वयंसेविका र १ सय ३० जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् । उनीहरूले घरघरमै पुगेर बिरामी खोज्ने र उनीहरूलाई स्वास्थ्य संस्थासम्म ल्याउनेछन् । यसका साथै कुष्ठरोगका लक्षण, उपचार विधि र सरुवा रोग भएका कारण समयमै उपचार गर्नुपर्ने लगायतका जनचेतना समेत ग्रामीण भेगमा दिनेछन् । अभियानका क्रममा २०/२५ जना थप नयाँ बिरामी भेटिने अनुमान गरिएको ठगुन्नाले बताए । यतिबेला जिल्लास्तरमा अभिायनको तयारीका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया कार्यक्रमहरू चलिरहेको उनले बताए ।

जिल्लाका महाकाली, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा र पुनर्वास नगरपालिकामा यो अभियान सुरु हुनेछ । जिल्लाका अन्य बेलौरी नगरपालिका तथा बेल्डाडी र लालझाडी गाउँपालिकामा विगतका वर्षमा पनि यस्ता कार्यक्रम सञ्चालन भएकाले यस वर्ष नगरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

‘ग्रामीण भेगमा अहिले पनि कुष्ठरोग भन्नेबित्तिकै लुकेर बस्ने तथा पूर्वजन्मको पाप हो भन्ने चलन व्याप्त छ,’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख भवानीदत्त जोशीले भने, ‘त्यही बुझाइलाई हटाउन जनचेतनामूलक कार्यक्रम पनि गरिनेछ ।’ उपचार गर्ने भन्दा बिरामीलाई टाढा राख्ने समस्याका कराण १० वर्षको अवधिमा रोगीको संख्या घट्न नसकेको उनले बताए । सरुवा रोग भएका कारण घनाबस्ती भएको ठाउँमा यसको प्रकोप बढी हुने गरेको छ । भीमदत्त नगरपालिकामा जिल्लाकै सबैभन्दा बढी १७ नयाँ रोगी भेटिएको जनस्वास्थ्यको तथ्यांक छ ।

प्रकाशित : चैत्र २, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?