बीउ संरक्षण गर्दै किसान

डोटी — ३ वर्षदेखि जोरायल गाउँपालिका २ घण्टेश्वरकी इन्द्रा ओली ‘दाब्बी’ नामको स्थानीय गहुँ जोगाउन दिनरात जुटेकी छन् ।

बीउ संरक्षण गर्दै किसान

ओसिलो क्षेत्रमा पनि फल्ने तथा पिठो नरम हुने विशेषता रहेको दाब्बी गहुँ घण्टेश्वर क्षेत्रमा मात्र पाइन्छ । गहुँको महत्त्वबारे गाउँका बूढापाकाबाट थाहा पाएपछि उनी ३ वर्ष यता उक्त गहुँ संरक्षणमा जुटेकी छन् । ‘गत साल असिनापानीले सबैको गहुँ नष्ट गर्‍यो तर दाब्बी गहुँलाई केही भएन’ गहुँको अर्को महत्त्वबारे जानकारी दिंदै इन्द्राले भनिन्, ‘यसको विशेषता भनेको यो गहँुलाई असिनापानी र किराफट्यांग्राबाट सहजै जोगाउन सकिन्छ ।’

त्यस्तै घण्टेश्वरका चपरताली बस्तीका ९ जनजाति परिवारले पाखो जमिनमा स्थानीय भोटे सिमी र प्याजको संरक्षण गरिरहेका छन् । ‘जिजुबाजेको पालादेखि लगाउँदै आएको प्याज र सिमी आजभोलि सबै ठाउँमा पाउन सकिन्न,’ जोरायल गाउँपालिका २ चपरतोलीका पदमबहादुर थापाले भने, ‘हामीले त्यसको संरक्षण किन नगर्ने भनेर बस्तीका ९ परिवार अहिले लागिपरेका छौं ।’ किरमिरे, लाहुरे नामका वर्षायाममा लटरम्म फल्ने रातो रङको सिमी पनि स्थानीयले संरक्षण गर्न थालेका छन् ।

स्थानीय प्याजको नाम भने किसानलाई थाहा छैन । ठूलो दाना हुने, सलादका रूपमा खान उपयुक्त हुने विशेषता रहेको स्थानीय प्याज उत्पादन पनि राम्रो हुने गरेको किसानहरूले बताए । प्याजको एउटै दाना ८ सय ५० ग्रामसम्मको फलाएको किसानहरूले जानकारी दिए । घण्टेश्वरमा अरू किसान पनि स्थानीय बीउ संरक्षण अभियानमा लागेका छन् । लोप हुन थालेका स्थानीय बालीनाली तथा तरकारीका बीउ संरक्षणमा जोरायल गाउँपालिका २ घण्टेश्वरका किसान सामूहिक रूपमा समेत लागिपरेका छन् ।

धान, मकै, सिमी, मुला, कोदो, फापर, धनियाँ, लसुन जस्ता विभिन्न स्थानीय बालीनालीको बीउ संरक्षणमा जोड दिएका छन् । स्थानीय ७३ प्रजातिका लोपोन्मुख बीउहरू संरक्षण गरिएको दाबी किसानहरूले दाबी गरेका छन् । उनीहरूले ०७० सालबाट जैविक विविधता संरक्षण कृषि सहकारी संस्था बीउ बैंकका रूपमा समेत स्थापना गरेका छन् ।

उक्त सहकारीमा ३ सय ६० किसानहरू आबद्ध छन् । जैविक, पर्यावरण संरक्षणमा त्यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको ली वर्ड नामक संस्थाले स्थानीय बीउ संरक्षणका लागि जागरणमूलक कार्यक्रमहरू किसानमाझ ल्याएपछि स्थानीवासी हौसिएका हुन् । ‘बाहिरबाट आयात हुने बीउ, तरकारी बालीले स्थानीय प्रजातिहरू हराउन लागेको अनुभूति नै थिएन,’ सहकारीका अध्यक्ष भोजबहादुर मल्लले भने, ‘स्थानीय बीउको महत्त्वबारे ली वर्डले सम्झाउन, बुझाउन लागेपछि हामीहरू संरक्षणमा सामूहिक रूपमा जुट्यौं ।’ सहकारीमार्फत घण्टेश्वरका किसानहरूले सरकारले काठमाडौं खुमलटारमा स्थापना गरेको राष्ट्रिय जिन बैंकमा जिल्लाका ५८ स्थानीय बालीनालीका प्रजातिहरू संरक्षणका लागि पठाइसकेको सहकारीका प्रबन्धक गणेश विष्टले जानकारी दिए ।

प्रकाशित : चैत्र २, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?