कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हेलो सरकार’ प्रभावकारी बनाइने

डोटी — मुख्यमन्त्रीले प्रत्यक्ष रूपमा जनताको गुनासो सम्बोधन गर्ने गरी ल्याएको हेलो सरकार कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ ।

‘हेलो सरकार’ प्रभावकारी बनाइने

प्रदेश ७ का प्रमुख सचिव लक्ष्मीराम पौडेलले बिहीबार दिपायलमा आयोजना गरेको कार्यक्रम हेलो सरकारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले अध्ययन गरिरहेको जानकारी दिए । उनले क्षेत्रीय र जिल्लास्तरका सबै कार्यालयहरूमा गुनासो अधिकारी नियुक्त गरी जिल्ला प्रशासन र क्षेत्रीय प्रशासनमा जानकारी दिन मातहतका कार्यालय प्रमुखलाई निर्देशन समेत दिएका छन् ।

चैत महिनाभित्रै कैलालीस्थित सबै कार्यालयमा हेलो सरकार लागू गर्ने योजना प्रदेश सरकारको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचारविरुद्ध प्रदेशलाई सुशासन मैत्री बनाउने भन्दै हेलो सरकार अभियानलाई प्रभावकारी बनाउने यस अघि बताइसकेका छन् ।

‘मन्त्रालयहरूमा तत्कालै गुनासो अधिकारी समेत तोकेर हेलो सरकारलाई प्रभावकारी बनाउन लाग्दै छौं,’ प्रमुख सचिव पौडेलले भने, ‘स्थानीय तहमा पनि यसलाई अनिवार्य बनाउने प्रयास भइरहेको छ ।’ मुख्यमन्त्री र प्रधानमन्त्रीले जनताको गुनासो सोझै सुन्न मिल्ने गरी हेलो सरकार अभियान प्रभावकारी बनाउन लागिएको हो ।

बाबुराम भट्टराईले प्रधानमन्त्री भएका बेला हेलो सरकारको अवधारणा अघि सारेका थिए । सो अवधारणाअनुरूप गुनासो व्यवस्थापन र अनुगमन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन सुशासन (व्यवस्था सञ्चालन) ऐन र नियमावलीले व्यवस्था गरे बमोजिम ०६८ सालमा हेलो सरकारसम्बन्धी कार्यविधि लागू गरिएको छ । निर्देशिकामा गुनासोको प्रकृति हेरी एक हप्ताभित्र सरोकारवालालाई जवाफ दिने प्रावधान छ ।

प्रधानमन्त्रीले ल्याएको हेलो सरकार अभियान प्रदेशस्तरमा खुलेको भने थोरैलाई मात्र जानकारीमा छ । ०७२ सालमै क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा छुट्टै हेलो सरकार कक्षको स्थापना गरिसकिएको थियो । तर प्रचारप्रसारको अभावमा हेलो सरकारको अवधारणा भने खासै उपयोगमा ल्याउन नसकेको क्षेत्रीय प्रशासन कार्यालयका उप प्रशासक शंकर विष्टले स्विकारे ।

क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा दर्ता भएका उजुरी सोझै प्रधानमन्त्री र मुख्य मन्त्रीले हेर्न, सुन्न र पढ्न पाउँछन् । ‘जनताको गुनासो समाधान गर्ने यो प्रभावकारी औजार हो,’ उपप्रशासक विष्टले भने, ‘तर विभिन्न कारणले अहिले उपयोगमा नआए पनि अब यसलाई सुशासनको मुख्य खम्बाका रूपमा लैजाने भएका छौं ।’ दिपायलमा रहेको हेलो सरकारमा स्थापना भएदेखि अहिलेसम्म एक सय ७ मात्र गुनासोहरू दर्ता भएका छन् । दर्ता भएकामध्ये पनि अधिकांश सुरक्षा निकाय र जिल्ला प्रशासनसँग सम्बन्धित रहेका छन् । हेलो सरकारमा फोन, एसएमएस, फेसबुक, टवीटर लगायतका माध्यमबाट गुनासो राख्न सकिन्छ ।

उपप्रशासकको संयोजकत्वमा प्रदेशमा हेलो सरकार चलाउने गरिएको छ । उपप्रशासक विष्टले पैसा नलाग्ने टोलफ्रि नम्बर ११११ मा फोन तथा एसएमएस मार्फत गुनासो दर्ता गर्न सकिने जानकारी दिए । क्षेत्रीय र जिल्ला स्तरका सबै सार्वजनिक कार्यालयले गुनासो सुन्ने अधिकारी अनिवार्य राख्नुपर्ने भए पनि अहिलेसम्म तोकेका छैनन् ।

प्रकाशित : चैत्र २, २०७४ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?