२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

परिचरलाई परीक्षा सञ्चालनको जिम्मा

शिक्षकहरू परीक्षामा अनुपस्थित, शिक्षक खोजी दिन माग गर्दै विद्यार्थी सदरमुकाममा

बझाङ — वार्षिक परीक्षा सञ्चालनको जिम्मा परिचरलाई दिएर सबै शिक्षक अनुपस्थितपछि विद्यार्थी र अभिभावकहरू आन्दोलित भएका छन् ।

सुर्मा गाउँपालिकाको ईश्वर निम्न माध्यमिक विद्यालय घोगाडा दौलीचौरमा प्रश्नपत्र परिचरको जिम्मा लगाएर शिक्षकहरू विद्यालयमा अनुपस्थित भएका छन् । परीक्षा सञ्चालन हुनुपूर्व शिक्षकहरू अनुपस्थित भएपछि विद्यार्थीहरू परीक्षा स्थगित गरेर शिक्षक खोजिदिन माग गर्दै जिल्ला शिक्षा कार्यालयमा धर्ना बसेका छन् ।

विद्यालयका परिचरले सञ्चालन गरेको वार्षिक परीक्षामा ३ दिनसम्म सहभागी भएका विद्यार्थीहरूले चौथो दिनसम्म पनि शिक्षकहरू नआएपछि बाँकी रहेका विषयका परीक्षा स्थगित गरेका हुन् । ८ जना शिक्षक रहेको उक्त विद्यालयका सबै शिक्षकहरू अनुपस्थित भएपछि परीक्षा छोडेर आफूहरू शिक्षकको खोजीमा आएको विद्यार्थीहरूले बताए ।

एक दिनको पैदल हिँडेर सदरमुकाममा रहेको जिल्ला शिक्षा कार्यालयमा शुक्रबार धर्ना दिन आएका कक्षा ८ मा अध्ययनरत धीरेन्द्र विकले प्रश्नपत्रको कुनै कुरा नबुझिए सोध्नका लागि समेत शिक्षक नभएपछि आफूहरू परीक्षा छाडेर जिल्ला आएको बताए । ‘प्रश्नपत्र तयार गरी परिचरलाई परीक्षा चलाउनु भनेर सबै सर–मिसहरू बिदामा बस्नुभएको रहेछ,’ उनले भने, ‘३ दिनसम्म त नेपाली भाषामा भएकाले समस्या भएन । चौथो दिन अंग्रेजीको प्रश्नमा नबुझेका कुरा बताइदिने कोही भएनन् । परिचरलाई सोध्दा आउँदैन भन्नुभयो । अनि कसरी परीक्षा दिने ? ।’

जिल्लाको दुर्गममा पर्ने यस विद्यालयमा पढाइ पनि नियमित नहुने अधिकांश समय एक/दुई शिक्षकको भरमा विद्यालय सञ्चालन हुने गरेको छ । अर्का विद्यार्थी मीनबहादुर विकले भने ‘अरू बेला शिक्षकहरू नआउँदा पनि हामीले केही भनेका थिएनौं । महिनाको पालो लगाएर पढाउने गर्नुहुन्थ्यो । परीक्षा नै परिचरका भरमा छोडेर गएपछि अति भएर सदरमुकाम आएका हौं ।’

करिब १ सय ७५ विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयको पाठ्यक्रम पनि आधा मात्र पढाइ भएको छ । शिक्षकहरू दुई/तीन महिनासम्म विद्यालयबाट गायब हुने र एकै दिन आएर महिनौंसम्मको हाजिरी गर्ने गरेको अर्का विद्यार्थी गणेश बोहराले बताए ।

विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कठायत केही महिनाअघि चैनपुरमा भेटिएको एक शिक्षक कलक बोहराले बताए । आफू शिक्षक सेवा आयोगको तयारीका लागि सदरमुकाम झरेको बताउने उनले अरू शिक्षकहरूका बारेमा आफूलाई थाहा नभएको बताए ।

जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहले शिक्षक पठाइदिन माग गर्दै जिल्ला शिक्षा कार्यालयमा पुगेका विद्यार्थी र अभिभावकलाई विद्यालयको यस्तो अवस्थाबारे आफूलाई हालसम्म जानकारी नभएको बताए । सम्बन्धित शिक्षकहरूलाई तुरुन्त विद्यालय पठाउने र कसैले अटेर गरेमा कारबाही गर्ने उनले आश्वासन दिएका छन् । जिल्ला शिक्षा अधिकारीको आश्वासनपछि शुक्रबार अभिभावक र विद्यार्थीहरूले धर्ना स्थगित गरेर केही दिन शिक्षकको प्रतीक्षा गर्ने बताएका छन् ।

प्रकाशित : चैत्र ३, २०७४ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?