कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सवारी दुर्घटनामा वृद्धि

धनगढी — प्रदेश ७ मा भएका सवारी दुर्घटनाबाट औसत दुई दिनमा एकजनाको मृत्यु हुने गरेको छ । दुई दिनमा हाराहारीमा एउटा दुर्घटना हुने गरेको ट्राफिक प्रहरी तथ्यांकमा उल्लेख छ ।

७ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार यो वर्षको साउनदेखि फागुनसम्म १ सय १ दुर्घटना भएको छ । यो अवधिको २ सय ३२ दिनमा १ सय २ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते ७४ र सामान्य घाइते १ सय २५ छन् । सबैभन्दा बढी दुर्घटना हुने सवारीसाधनमा मोटरसाइकल छन् । मान्छेको मृत्युको संख्या भने बढी बस दुर्घटनाबाट भएको देखिन्छ ।

मोटरसाइकल दुर्घटनामा घाइतेको संख्या बढी देखिन्छ । बस, ट्रकलगायतका ठूला सवारीसाधनको दुर्घटनाको संख्या तराईको भन्दा पहाडतिर बढी भएको छ । पछिल्ला वर्षमा दुर्घटनाको सख्यामा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष ०७१/०७२ मा कुल १ सय ५० दुर्घटना भएकोमा १ सय ४७ जनाको मृत्यु भएको छ । ०७२/०७३ मा १ सय ५ दुर्घटनामा १ सय २१ जनाको मृत्यु भयो । त्यस्तै ०७३/०७४ मा १ सय ८४ दुर्घटना भएकोमा १ सय ३२ जनाको मृत्यु भएको छ । हरेक वर्ष दुर्घटना संख्या र मृत्युको बढदै गएको अवस्थामा आर्थिक वर्ष ०७४/०७५ मा समेत वृद्धि हुने देखिन्छ । यो आर्थिक वर्षको ७ महिनाको तथ्यलाई अधार मान्दा बाँकी ५ महिनामा विगतको दुर्घटनाको संख्यामा वृद्धि हुने देखिन्छ । ट्राफिक प्रहरीको एक अध्ययन प्रतिवेदनले सडक दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर ड्राइभिङ गर्नु, सडकमा छाडा चौपाया, जथाभावी सडक पार गर्नु र ओभर लोडलगायत छन् ।

७ नम्बर प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुर पालले सडकको अवस्था र चालकको लापरबाही नै बर्सेनि दुर्घटना बढनुको मुख्य कारण भएको बताए । ‘यस प्रदेशको पहाडी क्षेत्रको सडक साँघुरो र सवारी चाप बढी छ,’ प्रहरी उपरीक्षक पालले भने, ‘सवारी दुर्घटनाका अध्ययन र अनुसन्धानबाट चालकको लापरबाहीबाट घटना वृद्धि भएको देखिन्छ ।’ उनका अनुसार ६० प्रतिशतभन्दा बढी दुर्घटना चालककै लापरबाहीबाट भएको देखिएको छ । ‘मोटरसाइकल दुर्घटना वृद्धि हुनुको कारण तीव्र गतिमा मदिरा सेवन गरेर हाँक्नु नै रहेको छ’ एसपी पालले भने ।

उनका अनुसार ७ नम्बर प्रदेशका पहाडी राजमार्गमा दैनिक ३ देखि ४ सय यात्रुवाहक गाडी चल्ने गरेका छन् । कैलाली–कञ्चनपुर राजमार्गमा दैनिक ७/८ सय यात्रु र मालवाहक सवारीसाधन गुड्ने गरेका छन् ।

दुर्घटना न्यूनीकरणमा जनचेतनाको समेत उत्तिकै आवश्यक भएको पालले बताए । ट्राफिक प्रहरीले यातायात व्यवसायी, चालक, कन्डक्टर, खलासी, यात्रु र स्कुले विद्यार्थीका लागि विभिन्न समयमा यससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको पाल बताउँछन् । दुर्घटना न्यूनीकरणका लागि हाइवेमा ट्राफिक चेकजाँच, टाइम कार्ड र रिफ्रेस सेन्टर राखिएको पालले जनाए । ‘यात्रु आफैं पनि दुर्घटना न्यूनीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्,’ पालले भने, ‘चालकले तीव्र गति, मदिरा सेवन र क्षमताभन्दा बढी यात्रु राखेको खबर ट्राफिकलाई गरेर दुर्घटना रोक्न मद्दत पुर्‍याउन सक्छन् । अर्काेतिर सडक क्रस गर्दा यात्रुले समेत ट्राफिक नियम पालन गर्नु जरुरी छ ।’ सडकमा छाडा चौपायाले पनि दुर्घटना बढेकाले छाडा चौपाया व्यवस्थापनमा नगरपालिकालगायतका निकायबाट समेत काम हुनुपर्ने उनले बताए ।

प्रकाशित : चैत्र ३, २०७४ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?