१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

यातायात कार्यालयमा घुस

अर्जुन शाह

धनगढी — यातायात व्यवस्था कार्यालयका ३ कम्प्युटर तोडफोड भएका छन् । तेब्बर रकम लिएर अफलाइन माध्ययमद्वारा गुपचुपमा आवेदन फारम लिइदैँछ ।

यातायात कार्यालयमा घुस

फर्जी कागजातमा हस्ताक्षर नगर्ने अधिकृतको सरुवा भएको छ । कर्मचारीबीच घुस रकम भागवण्डाको किचलो छताछुल्ल भएपछि यातायात कार्यालय धनगढीमा खैलाबैला मच्चिएको छ ।

खुलेआम ६ हजार बुझाएपछि मोटरसाइकलको चालक अनुमतिपत्रका लागि लिखित र ट्रायल पास गर्नु पर्दैन । हाल धनगढीको यातायात कार्यालयले आवदेन शुल्क वाफत निर्धारित राजस्वभन्दा तेब्बर रकम लिएर लाखौं रकम असुल्दै आएको छ ।

पछिल्लो समय अनलाइन माध्ययमबाट मात्र आवेदन दिन मिल्ने भएपछि कार्यालय प्रमुख र उपल्लो तहका प्रमुखको संलग्नतामा नियम विपरीत भित्रभित्रै अफलाइन माध्यमद्धारा भरेको पाइएको छ ।

अफलाइन माध्यमबारे कार्यालयका पनि सिमित कर्मचारीलाई मात्र जानकारी दिइएको हुन्छ । आवदेन शुल्क ५ सय भए पनि अफलाइन चलाएर डेढ हजार असुल्ने गरिएको छ । ‘अफलाइन माध्ययम प्रयोग गरी आवदेन शुल्क वाफत मात्रै कम्तीमा ५ लाख बढि संकलन गरिएको छ’ कार्यालयका एक कर्मचारीले भने, ‘मोटर साइकलको लाइसेन्स वाफत मात्रै प्रत्येक लटमा कम्तीमा २ करोड संकलन हुन्छ ।’

शाखा अधिकृत केशव जोशी आफुले कार्यालय प्रमुखलाई बारम्वार अफलाइन माध्यमबाट काम गर्न नहुने सुझाएको भएपनि केही नचलेको बताउँछन् । ‘बाहिर हल्ला हुन थालेपछि ३ पटक त परिपत्र नै जारी भएको छ’ जोशीले भने, ‘अफलाइन प्रयोग गरी आवेदन लिइएको जानकारी भए कार्वाही हुने प्रष्टै उल्लेख छ ।’ नियम विपरित रकम असुल्ने कार्यको नेतृत्व कार्यालय प्रमुख कृष्णप्रसाद भुषालले गरेका हुन् । पछिल्लो समयमा संकलित करोडौ रकममा एकलौटी गरेपछि कार्यालयभित्र बाँड फाँटको प्रसंगमा कर्मचारी बिच खैलाबैला मच्चिएको हो । ‘३ कर्मचारी मात्र उनलाई साथ दिइरहेका छन्, अरु सबै विरोधमा छन्’ कार्यालयकै एक कर्मचारीले भने ।

कार्यालय प्रमुख भुषालले अफलाइन माध्यमबाट आवेदन फाराम भरिएको स्विकारे । ‘कुनै अति जरुरी ब्यक्तिका लागि यसको प्रयोजन गरिएको हो’ उनले भने, ‘रकम असुल्न प्रयोग भएको छैन ।’ तर एजेन्टले संकलन गरेका फारमहरू अफलाइनबाट गुपचुपमा रातको समयमा भर्दै गर्दा दुई साताअघि कार्यालय तोडफोड भएको थियो ।

के हो अफलाइन माध्यम
यातायात ब्यवस्था विभागले अनियमितता न्यूनिकरण गर्न तथा सर्वसाधारणको सहजताका लागि अनलाइन माध्यमबाट आवेदन भर्ने ब्यवस्था गरेको छ । तर अनलाइनले ६ हजार आवेदक पुगेपछि थप आवेदन लिदैँन । त्यस्तो हुँदा आवेदन शुल्क वाफत उठाउदै आएको अतिरिक्त रकम प्राप्त हुने बाटो बन्द भयो ।

रकम असुल्न खप्पिस कर्मचारीहरूलाई त्यत्तिले बाटो बन्द गरेन । विभागका उच्च अधिकारीसहितको संलग्नतामा अफलाइन माध्ययमबाट भित्रीबाटोबाट आवदेन लिन थालियो । नियमित प्रकृयामा मोटरसाइकल चालक अनुमतिपत्रका लागि आवदेन फारम भर्न ५ सय लाग्ने गरेकोमा अफलाइनबाट भर्दा सिधै १५ सय असुल्न थालियो । ‘अनलाईनबाट अघिल्लै महिना आवेदन फारम बन्द भएपनि तेब्बर रकम बुझाएपछि कार्यालयकै एक कर्मचारीले शुक्रवार फारम दर्ता भई सकेको जानकारी दिएका छन्’ आवेदन फारम भर्न सफल एक सेवाग्राहीले भने ।

कार्यालय तोडफड
फागुन १७ होलीको अघिल्लो राती ११ बजे कार्यालयका नासु प्रविण श्रेष्ठ, सहायक लेखापाल र करार सेवाका नरेन्द्र कठरिया बढी शुल्क असुलेर ब्यक्तिगत रुपमा संकलित फारमहरू अफलाइन मार्फत भर्न बसेका थिए । अफलाइनबाट भित्रभित्रै आवेदन फारम भरिने गरेको ड्राइभिङ सेन्टरका प्रतिनिधिहरूले कर्मचारीहरूबाट सुइको पाए । ८ जनाको समूह कर्मचारी बसेकै कार्यालय कोठामा घुसे । उनीहरूबीच कुटाकुट भयो । ‘कार्यालयका ३ वटा कम्प्युटर तोडफोड भए’ त्यसबेला सोही कार्यालयमा शाखा अधिकृत रहेका केशव जोशीले भने, ‘हाकिमलाई जानकारी गराउदा वास्ता गरेनन् ।’ कार्यालय प्रमुख भुषालले भने कार्यालयमा कम्प्यूटर तोडफोड भएको जानकारी पाएको भएपनि त्यसबेला आफु काठमाण्डौ रहेको बताए ।

फर्जी रुजुगर्न नमान्दा सरुवा
कार्यालयमा ३४ कर्मचारी छन् । ती मध्ये दुई जना शाखा अधिकृत छन् । गएको साउन यता कार्यालय प्रमुख र अन्य कर्मचारीबीच मनमुटाव छ । कार्यालयले नियम विपरित आवेदन शुल्क, सवारी चालक अनुमतिपत्र वितरण गर्दा उठाएको करोडौं रकम कार्यालय प्रमुख भुषाल एक्लैले कुम्ल्याएपछि अधिकांश कर्मचारीहरू रुष्ट भए । लाइसेन्स वितरण गर्दा फारमको रुजुगर्ने काम सामान्यत: अधिकृतको भएपनि अधिकृतले हस्ताक्षर गर्न मानेनन् । झण्डै महिना दिनसम्म लाइन्सेन्स वितरण कार्य रोकियो । ‘प्रकृया नपुगेकाले हस्ताक्षर नगरेकै हो’ अधिकृत जोशीले भने । हाल कार्यालय प्रमुखले नासु तहका कर्मचारीलाई उक्त काममा खटाएका थिए । कार्यालय प्रमुख भुषाल र जोशीबीच बेमेल भएपछि जोशीको महेन्द्रनगर सरुवा भयो । आइतवार उनले रमाना बुझे ।

मनपरी असुली
साउनमा खोलिएको मोटरसाइकल चालक अनुमतिपत्रका लागि १४ हजारले आवेदन भरे । यी मध्ये आधा जसोले मात्रै निर्धारित राजश्व रकम ५ सय तिरेर आवेदन फाराम भर्ने मौका पाए । ‘लगभग ४ हजार आवेदकको दोब्बर रकम अर्थात एक हजार लिएर फारम भरिएको थियो’ कार्यालयकै नासु स्तरका अर्का एक कर्मचारीले भने । यसरी आवेदन शुल्कबाटै लाखौं रकम नियम विपरित असुलिन्छ ।

मोटरसाइकलको चालक अनुमतिपत्र प्राप्तगर्न ट्रायलमा उतीर्ण भएकाले २ हजार राजस्व तिरे लाइसेन्स हात पर्छ । तर ट्रायलमै फेल भएकालाई पनि लाइसेन्स प्राप्त गर्न कठिन छैन । लिखित र ट्रायलमा स्वयम उपस्थित भए ६ हजार तिरे लाइसेन्स हातमा आउछ । लिखित र ट्रायल दुबैमा उपस्थित हुन नसक्ने अवस्थामा भने १० हजार तिर्नुपर्ने हुन्छ ।

साउन महिनामा १४ हजारले आवेदन दिएका मध्ये ९ हजार उर्तीणको सूचिमा चढे ।

प्रकाशित : चैत्र ६, २०७४ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?