कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुद्दा हेर्न छुट्टै भवन

वसन्तप्रताप सिंह

बझाङ — जिल्ला प्रहरी कार्यालयमा महिला तथा बालबालिकाका मुद्दा हेर्ने शाखाको लागि छुट्टै सुविधायुक्त भवन निर्माण गरिएको छ ।

मुद्दा हेर्न छुट्टै भवन

एसियाली विकास बैंकको आर्थिक सहयोगमा प्रहरी प्रधान कार्यालयले बझाङ प्रहरी कार्यालयको हाताभित्र नै महिला बालबालिका सेवा केन्द्रको भवन निर्माण गरेको हो ।

१ करोड ३२ लाख रुपैयाँ लागतमा २ वर्षभन्दा बढी समय लगायर निर्माण गरिएको उक्त भवनको नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक तथा प्रदेश नं ७ का प्रहरी प्रमुख माधवप्रसाद नेपालले सोमबार उद्घाटन गरेका छन् । प्रहरी प्रमुख नेपालले महिला तथा बालबालिका सेवा केन्द्रको छुट्टै भवन भएका थोरै पहाडी जिल्लाहरूमा बझाङ पनि एक भएको बताए । उनले भवन मात्र राम्रो भएर प्रहरीको सेवा राम्रो नहुने बताउँदै जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए । केही दिन पहिला कैलाली र कञ्चनपुरमा भएका महिला हिंसाका घटनाले राष्ट्रिय स्तरमा प्रदेश नं ७ मा बढी महिला हिंसा हुने गरेको सन्देश गएको बताउँै महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना न्यूनीकरणका लागि पनि प्रहरीले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो ।

महिला तथा बालबालिकाका घटनामा अपराधीलाई उन्मुक्ति दिनका लागि राजनीतिक दबाब आउने गरेको समेत उनले बताए । कतिपय अवस्थामा प्रहरीभित्र भएका कमजोरीका कारणले महिला बालबालिकाहरूले न्याय पाउन नसकेको बताउँदै नेपालले प्रहरीले आफूलाई सुधार्दै लगेको दाबी गरे । क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक मोहनराज जोशीले पछिल्लो समयमा महिला तथा बालबालिकामाथि हुने अपराधको प्रकृतिहरू फेरिएको र दर बढ्दै गएकोले प्रहरी चनाखो हुनुपर्ने बताएका थिए ।

१० वटा कोठा रहेको अढाईतले उक्त भवनको निर्माण पछि सेवा केन्द्रको काममा प्रभावकारिता आउने बझाङका डीएसपी क्रृषिराम कँडेलले बताए । महिला तथा बालबालिका माथि हुने अपराधको सवालमा बझाङ प्रहरीले शून्य सहनशीलताको नीति अख्तियार गर्दै आएको बताउँदै भवन निर्माणपछि सेवा केन्द्र भौतिक पूर्वाधार सम्पन्न भएको बताए । पीडित महिलालाई आवाससमेतको व्यवस्था रहेको सेवा केन्द्र भवन निर्माण भएपछि उजुरी दिन आउँदा अलपत्र पर्नुपर्ने अवस्थाको अन्त्य हुने कँडेलको भनाइ छ ।

भवन उद्घाटनको क्रममा ८७ वर्षीया वृद्धा रञ्जना खड्कालगायत महिला तथा बालबालिका सेवा केन्द्रमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी र भवन निर्माण कम्पनीका प्रतिनिधिहरूलाई सम्मानित गरिएको थियो ।

प्रकाशित : चैत्र ६, २०७४ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?