कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अन्धविश्वासको पीडा

बिरामीलाई डाक्टरकहाँ लैजानुभन्दा पहिला धामी झाँक्रीबाट झारफुक गराउने सुदूरभरिको आम प्रचलन हो
अर्जुन शाह

धनगढी — प्रदेश राजधानी कैलालीमा बोक्सी आरोपमा मरणासन्न हुने गरी एक किशोरीमाथि निर्घात कुटपिटको घटनाले देशभरि तरंग ल्याएको छ ।

घटनास्थल पुग्ने, दोषीउपर कारबाही माग गर्दै जिल्ला प्रदेशदेखि केन्द्रसम्म ज्ञापन बुझाउनेहरूबीच यतिबेला तछाडमटाड चलेको छ । तर रुढीवादी संस्कारबाट हुने घटनाका अरू पाटाहरू केलाउँदै जाने हो भने कैलाली देवकलियाको बोक्सी प्रकरण सुदूरपश्चिमका लागि एक प्रतिनिधिमूलक घटना मात्र हो ।

सुदूरपश्चिमले केवल आर्थिक विपन्नता मात्रै झेलिरहेको छैन । अहिले पनि यो क्षेत्र अर्थात हालको ७ नं प्रदेश बोक्सी, छाउपडी, जातीय छुवाछुत, बालविवाह, धामीझाक्री, सुत्केरीलाई गोठमा राख्ने चलन, लैंगिक विभेद, हलिया, खलिया, कमैया र कमलरी लगायतका रुढीवादी परम्पराको डरलाग्दो पीडाभित्र जकडिएको छ । माघ दोस्रो साता साविकको वीरपथ गाविस ७ की ४० वर्षीया डिक्रादेवी ढकालको छाउपडी गोठमा सुतिरहेको अवस्थामा मृत्यु भयो । ‘छाउपडी सुदूरपश्चिमको डरलाग्दो कुप्रथाका रूपमा रहेको छ’ प्रदेशसभा सदस्य दुर्गा कामी भन्छिन्, ‘हालसम्म अछाममा छाउपडी गोठमा १२ जना महिलाहरूले ज्यान गुमाएका छन् ।’ अछामको ग्रामीण समूदायका महिलाहरूले मात्रै ‘छाउ’ बार्छन भन्ने होइन् । कतिपय पढेलेखेका शिक्षित र बजार क्षेत्रमा बसोबास भएका महिलाहरूसमेत महिनावारीका बेला छाउगोठमा बस्छन् ।

साँफेबगरस्थित मष्टामाडाैं आधारभूत विद्यालयकी शिक्षिका ज्ञानु ठकुल्ला महिनावारी भएका बेला बिदामा बस्छिन् । अरु शिक्षिका पनि बिदा लिएर बस्छन् । विद्यालय नजिकै देवताको मन्दिर भएकाले शिक्षिका महिनावारीका बेला विद्यालय जाँदैनन् । जिल्ला शिक्षा अधिकारी झंकरबहादुर विष्टले भन्छन्, ‘महिनावारी भएका बेला विद्यालय नै नआउने शिक्षिका थोरै भए पनि छाउ बार्ने शिक्षिकाहरू भने धेरै छन् ।

छाउगोठमा निसासिएर मृत्यु भएकी तुर्माखादकी गौरी बुढा नागरिक सचेतना केन्द्रकी सदस्य रहेकी सामाजिक अगुवा पनि थिइन् । त्यसअघि छाउगोठमै मृत्यु भएकी ढकारीकी लक्ष्मी बुढा, रिडिकोटकी शर्मिला भुल र गाज्राकी रोशनी तिरुवा पनि पढेलेखेकी थिइन् । अन्धविश्वास र रुढीवादी परम्पराको जटिल समस्याबाट बाजुरा पनि आक्रान्त छ । यता अछाममा छाउपडी गोठमा बस्नुपर्ने पीडा छ ।

बाजुराका कतिपय दुर्गम बस्तीमा सुत्केरीका बखत पशुचौपाया राख्ने गोठमा बस्नुपर्ने बाध्यता छ । गर्भवतीलाई सुत्केरी व्यथा सुरु हुने बित्तिकै स्वास्थ्य संस्था लैजानुको साटो यहाँको विकट क्षेत्रका परिवारले हत्तपत्त गोठमा सार्छन । जस्तोसुकै चिसो सिरेटोको सास्ती बेहोर्नुपरे पनि आमाले शिशुसँगै पूरापूर एक महिना त्यहीँ जेलको छिँडीजस्तो गोठभित्र गुजार्नुपर्छ । ‘सुत्केरीलाई गोठमा राख्दा आमा तथा शिशुको स्वास्थ्य नराम्ररी बिग्रने गरेको पाइन्छ,’ बाजुरा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रूपचन्द्र विश्वकर्माले भने ।

विरामीलाई डाक्टरकहाँ लैजानुभन्दा पहिला धामीझाँक्रीबाट झारफुक गराउने सुदूरभरिको आमप्रचलन हो । बाजुराकै कुल्देवमाडौंकी मनु सार्की गत वर्ष जंगलको भिरालोमा लडेर टाउकोमा गम्भीर चोट लागेर अचेत भइन् । घरपरिवारले बेहोस भएकी मनुलाई अस्पताल लैजानुको साटो नजिकको धामी झाँक्री बोलाएर झारफुक गराउन थाले । छिमेकी गाउँका धामीलाई बोलाएर घरपरिवारले चार दिनसम्म सिकिस्त बिरामीको झारफुक गराए । बिरामीको अवस्था भने दिनदिनै जटिल हुदै गयो । ढिलोगरी चिकित्सकलाई देखाउँदा बिरामीलाई समयमा उपचार नगर्दा टाउकोमा रगत जमेर पक्षघात भएको बताए ।

बाजुराको समाजमा उमेर नपुगी विवाह गर्नु र विद्यालय छाड्नु कुनै अनौठो कुरा मानिदैन । दुई वर्षअघि परिवारकै समर्थनमा छताराकी १२ वर्षीया काजु विकले विवाह गरिन् । गुदुखाती–४ का १५ वर्षीय भरत धामीले पनि घरपरिवारकै सहमतिमा विवाह गरे । बाजुरा बाह्रबिसका मनसरा रावत पनि तारासंगै पढथन् । १४ वर्षकै उमेरकी मनसरा समेत विवाह गरेर हिँडेलगत्तै विद्यालय पनि रोकियो । ‘पढ्दा–पढ्दै विवाह गरेका किशोर किशोरीहरू अधिकांशले विवाहपछि पढाइ छाड्छन्’ रत्न उच्च माध्यमिक विद्यालयका प्राचार्य रतनबहादुर अयडीले भने, ‘बालविवाह बाजुराको कुप्रथासंँगै पीडा पनि हो ।’

सुदूरकै अर्को जिल्ला बझाङ जातीय छुवाछुतबाट ग्रसित छ । साविकको रिलु गाविसका ५५ वर्षीय लालसिंह आग्रीलाई स्थानीय रुद्र कठायत, मान कठायत, गोर्खे कठायत लोकबहादुर ग्वाल, धनजित ग्वाल र गगे बोहराले दलित भएर मन्दिर परिसरमा गएको भन्दै दुव्र्यवहार गरे । उनलाई देउता बिगारेको भन्दै दुई हजार नगद र चार आना सुन पनि जरिवाना गराइयो । जातीय छुवाछुत गर्ने कार्य दण्डनीय भए पनि हालसम्म गाउँघरका पसलमा दलितहरूले चिया खाएको गिलास समेत आफैंले सफा गर्नुपर्ने अवस्था छ ।

प्रकाशित : चैत्र ७, २०७४ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?