१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

५५ हजार २ सय २८ एसईई परीक्षार्थी

धनगढी — प्रदेश ७ बाट यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ५५ हजार २ सय २८ विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाको सबै तयारी पूरा भइसकेको क्षेत्रीय शिक्षा निर्देशनालय डोटीले जनाएको छ ।

५५ हजार २ सय २८ एसईई परीक्षार्थी

प्रदेशका ९ वटै जिल्लाका १ हजार ४९ विद्यालय यस वर्षको परीक्षमा सहभागी हुँदै छन् । प्रदेशभर २ सय ५ परीक्षा केन्द्र निर्धारण गरिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नियमिततर्फ ५० हजार २ सय २९, एक्जाम्टेडतर्फ ४ हजार ८६, र ९ सय २१ प्राविधिकतर्फका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।


क्षेत्रीय शिक्षा निर्देशक मानसिंह विष्टका अनुसार गत वर्षको तुलनामा यसपटक ७ हजार ४ सय ९८ परीक्षार्थी घटेका छन् । प्रक्रिया नपुगेका कारण यो प्रदेशबाट ३ हजारको हाराहारीमा विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । प्रदेशभर निर्धारित २ सय ५ केन्द्रबाट परीक्षामा सञ्चालन हँुदै छ ।


यस वर्षबाट आंशिक ग्रेड वृद्धिका परीक्षार्थीहरू सहभागी छैनन् । प्राविधिकतर्फका ९ सय २१ परीक्षार्थी थपिएका छन् । गत वर्षसम्म प्राविधिकतर्फका परीक्षार्थीहरू यस प्रदेशमा थिएनन् । आंशिक ग्रेड वृद्धिका लागि गत वर्ष ९ हजार ९ सय ११ परीक्षार्थी थिए ।


निर्देशनालयका परीक्षा शाखा प्रमुख पूर्ण शाहका अनुसार प्रदेशका सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका र आवश्यक जनशक्ति पुगिसकेका छन् । उनका अनुसार परीक्षा केन्द्रमा खटिएका सबै कर्मचारीलाई आवश्यक अभिमुखीकरण तालिमसमेत दिइएको छ ।


परीक्षा मर्यादित र व्यवस्थित बनाउन ४ तहमा अनुगमनको व्यवस्था मिलाइएको विष्टको भनाइ छ । केन्द्र, प्रदेशस्तरबाट छुट्टाछुट्टै अनुगमन टोली ९ वटै जिल्लामा खटाइएको छ । जिल्ला परीक्षा समिति र स्थानीय तहहरूले पनि बेग्लाबेग्लै अनुगमन गर्ने भएका छन् । पहिलोपटक जनप्रतिनिधीहरूले एसईईको अनुगमन गर्ने जिम्मेवारी पाएका छन् ।


सबैभन्दा बढी कैलालीबाट र कम बाजुरामा
यस वर्ष बाजुराबाट नियमिततर्फ २ हजार ९ सय ७, एक्जाम्टेडतर्फ ३ सय ३८ र प्राविधिकतर्फ ४८ परीक्षार्थी छन् । बझाङमा ३ हजार ९ सय ३३ नियमिततर्फ, ३ सय १९ एक्जाम्टेड र ९१ प्राविधिकतर्फका परीक्षार्थी छन् । अछाममा नियमिततर्फ ४ हजार ३ सय ९, एक्जाम्टेडतर्फ ८ सय २५ र प्राविधिकतर्फ १ सय २४ परीक्षार्थी छन् । डोटीमा नियमिततर्फ २ हजार ५ सय ४८, एक्जाम्टेडतर्फ १ सय ५७ र प्राविधिकतर्फ ९४ परीक्षार्थी सहभागी हुँदै छन् ।


कैलालीमा सबैभन्दा बढी १६ हजार ९२ नियमित, ७ सय एक्जाम्टेड तथा १ सय ७० प्राविधिकतर्फका परीक्षार्थी छन् । कञ्चनपुरमा ९ हजार ६ सय ८७ परीक्षार्थी नियमिततर्फ छन् भने एक्जाम्टेडतर्फ ६ सय ४५ र प्राविधिकतर्फ १ सय ७७ परीक्षार्थी छन् । दार्चुलामा २ हजार ९ सय ७६ नियमित, ४ सय १५ एक्जाम्टेड र प्राविधिकतर्फका ६१ परीक्षार्थी छन् । बैतडीमा ५ हजार ३ सय १ नियमित, ५ सय ५ एक्जाम्टेड र प्राविधिकतर्फका ८८ परीक्षार्थी छन् । यस्तै डडेलधुरामा २ हजार ४ सय ७६ नियमित, १ सय ८२ एक्जाम्टेड र प्राविधिकतर्फका ६८ परीक्षार्थी रहेका छन् ।


३ हजार परीक्षा दिनबाट अयोग्य
यसपटक प्रदेशभरबाट ३ हजार हाराहारीमा विद्यार्थी प्रवेशिका परीक्षा दिनबाट अयोग्य ठहरिएको निर्देशनालयले जनाएको छ । परीक्षा फाँट प्रमुख शाहले भने, ‘सबै जिल्लाबाट तथ्यांक आउन बाँकी रहेकाले परीक्षाबाट वञ्चित हुनेको संख्या एकिन भएको छैन ।’


फारम भरेर पनि समयमा दस्तुर नबुझाएका, फारम गलत भरेका, नाम, ठेगाना फरक परेका, ७५ प्रतिशत कक्षामा हाजिर नभएकाहरू परीक्षाबाट वञ्चित भएको शाहले बताए । शिक्षा विभागले सेन्टअप परीक्षा खारेज गर्दै विद्यालयमा ७५ प्रतिशत हाजिर हुने विद्यार्थीलाई अनिवार्य पास गर्नुपर्ने प्रावधान बनाए पनि सो प्रावधान पूरा नगर्ने विद्यार्थी परीक्षाबाट वञ्चित भएको उनले बताए । प्रदेश ७ का प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक हर्कबहादुर रावलले जिल्लाले माग गरेअनुसार परीक्षाका लागि सुरक्षाकर्मी खटाइसकेको बताए ।

प्रकाशित : चैत्र ८, २०७४ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?