२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

केरा उत्पादक कृषक आन्दोलित

भवानी भट्ट

कञ्चनपुर — कैलाली र कञ्चनपुरका केरा उत्पादक कृषकहरू आन्दोलित भएका छन् । भारतबाट अवैध रूपमा क्वारेन्टाइन जाँच नगरी आयात भइरहेको केरा रोक्नुपर्ने माग गर्दै किसानहरू आन्दोलित भएका हुन् ।

कृषकहरूले बुधबार भारतबाट आइरहेको केरा रोक्न माग गर्दै गड्डाचौकीमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयमा तालाबन्दी गरेका छन् । क्वारेन्टाइनले जाँच नगरी विषादी नभएको प्रमाणित गर्ने गरेकाले यस्तो कार्य रोक्न तालाबन्दी गरिएको कञ्चनपुर केरा उत्पादन तथा प्रवद्र्धन कृषि सहकारी संस्थाका अध्यक्ष पूर्णसिंह साउदले बताए ।


‘फर्जी कागजात बनाएर परिमाण घटाउनुका साथै विषादी भएको केरालाई विषादीरहित बनाइन्छ,’ उनले भने, ‘भन्सारमा पनि आधा मूल्य (अन्डर बिलिङ) घटाउनुका साथै पाकेको केरालाई काँचो भनेर शुल्क तिरिने गरेको छ ।’ उनले जिल्ला प्रशासनका कार्यालयसँगै भन्सार, क्वारेन्टाइन र कञ्चनपुर उद्योग वाणिज्य संघलाईसमेत ज्ञापनपत्र बुझाएको बताए । कम मूल्यांकन गरी आयात गर्दा भन्सार राजस्वसमेत भइरहेको उनले बताए ।
यस क्षेत्रका केरा उत्पादक कृषकहरूले ३ वर्षदेखि भारतबाट अवैध रूपमा आयात भइरहेको केरा रोक्नुपर्ने माग गर्दै आएका छन् । भन्सार कार्यालयमै केरा फालेर होस् वा भारतबाट आयात फलफूलका ट्रकहरू रोकेर होस् उनीहरूले विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।


‘हाम्रो आन्दोलन भारत वा अन्य देशबाट आउने केरा रोक्नु होइन,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा कैलाली कञ्चनपुर केरा विकास सञ्जालका अध्यक्ष सुरेन्द्र चौधरीले भने, ‘विश्व व्यापार संगठन र नेपाल सरकारले तोकेका मापदण्ड पुर्‍याएर मात्रै आयात गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले दुई दिनअघि मात्रै वनबसा नाकाबाट आयात गरिएको केरा भारतको क्वारेन्टाइन जाँचमा विषादी शून्य देखिएको र त्यही अत्तरियाको सब्जीमण्डीमा जाँच गर्दा ३३ प्रतिशत विषादी देखिएको बताए ।


‘गड्डाचौकी क्वारेन्टाइनले त हेरेरै ठीक छ भनिदिन्छ,’ उनले भने, ‘आँखाले हेरेर विषादी वा कीरा नभएको छुट्याउन सकिन्छ र ?’ उनले केरासँगै अन्य फलफूल तथा तरकारीसमेत यसैगरी आउने भएकाले सम्पूर्णको क्वारेन्टाइन जाँच गरेर मात्रै आउन दिनुपर्ने बताए ।


कैलाली र कञ्चनपुरमा अहिले १६ सय हेक्टरमा केरा खेती भइरहेको छ । जसबाट वार्षिक ७८ हजार मेट्रिकटन केरा उत्पादन हने गरेको छ । ‘यहाँ हुने उत्पादनले प्रदेश ७ को माग धान्छ, सिजनमा त बाहिर पनि पठाउन सकिन्छ,’ चौधरीले भने, ‘विगतमा हिउँदमा अभाव हुने अवस्था अहिले अन्त्य भएको छ ।’ उनले यसै वर्षदेखि हिउँदमा समेत उत्पादन गर्न सकिने प्रविधि अपनाएर ७५ हेक्टरमा केरा खेती गरिएको बताए । भारतबाट अवैध रूपमा आयात भइरहेको केराको मूल्य यहाँ उत्पादन हुने केराको लागतभन्दा सस्तो पर्ने भएकाले कृषकहरू मारमा परेको उनीहरूको गुनासो छ । भन्सार छलीसँगै भारतमा खपत नहुने न्यून गुणस्तरको केरा तथा फलफूल मात्रै नेपालमा आयात हुने गरेको कृषकहरू बताउँछन् । यहाँको गुणस्तरीय केराको मूल्य र भारतबाट आयात भएको भन्दा धेरै फरक हुन्छ ।

प्रकाशित : चैत्र ८, २०७४ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?