१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘पञ्चेश्वर अर्को पुस्ताले पर्खिनु पर्दैन’

डीआर पन्त

धनगढी — भारतीय राजदूत मञ्जीवसिंह पुरीले पञ्चेश्वर परियोजना अर्को पुस्ताले पर्खिनु नपर्ने बताएका छन् । पञ्चेश्वर परियोजना र दोधारा चाँदनीमा रहेको सुख्खा बन्दरगाहको अवलोकनमा आएका पुरीले यसै पुस्ताले पञ्चेश्वरबाट हुने समृद्धि उपभोग गर्न पाउने बताएका हुन् ।

‘पञ्चेश्वर अर्को पुस्ताले पर्खिनु पर्दैन’

‘पञ्चेश्वर नेपाल र भारतको समृद्धिका लागि उत्तिकै आवश्यक भएकाले यसको निर्माणमा लागिपरेका छौं,’ राजदूत पुरीले भने, ‘यो परियोजना चाँडै निर्माण हुने कुरामा सवैलाई ढुक्क हुन आग्रह गर्दछु ।’ राजदूत पुरीले नेपाल भारत मैत्री संघ कैलालीले बिहीबार धनगढीमा गरेको स्वागत कार्यक्रममा भने, ‘पञ्चेश्वरका विषयलाई लिएर प्रधानमन्त्री ओलीसँग पनि कुरा भएको छ ।’ विकास र समृद्धिका लागि दृढ इच्छाशक्ति र इमान्दारीका साथ काम गर्ने हो भने छोटो अवधिमा धेरै काम हुन सक्ने बताउंँदै उनले दुवै देशले विकासका साझा अवधारणामा काम गर्नुपर्नेमा जोड दिए ।

यसअघिका भारतीय राजदूतहरूले समेत सुदूरपश्चिम भ्रमणमा पटकपटक पञ्चेश्वर निर्माण भारतको प्राथमिकताको विषय भएको बताउँदै आएका थिए । सम्झौता भएको २२ वर्षदेखि डीपीआर समेत तयार हुन नसकेको पञ्चेश्वर परियोजनालाई लिएर राजदूत पुरीले पनि आफ्ना पूर्ववर्तीजस्तै भारतको प्राथमिकतामा रहेको बताएका हुन् ।

लामो समयदेखि प्रदेशको एकमात्र व्यापारिक नाका गौरीफण्टा–पलिया सडकमार्ग सुधार र नाका स्तरोन्नतिको माग गर्दै आएका यस क्षेत्रका व्यवसायीलाई राजदूत पुरीले उक्त नाकाको स्तरोन्नति हुन नसक्ने बताए । पुरीले भने, ‘एसियाको दोस्रो ठूलो दुधवा नेसनल पार्कको मध्यभागबाट बनेको सडक साविकभन्दा ठूलो हुन नसक्ने र यसको स्तरोन्नति समेत गर्न सकिँदैन ।’ साविकको सडकलाई कालोपत्रे गर्ने र सामान्य सुधार बाहेक अरू स्तरोन्नति पनि हुन सक्दैन । मालवाहक गाडी आउने सडकका रूपमा नेसनल पार्कभित्र थप निर्माण हुन नसक्ने पनि पुरीले बताए । ‘बर्दिया निकुञ्जभित्र सडक निर्माण गर्न खोजे सम्भव छ र ?’ पुरीले प्रतिप्रश्न गर्दै भने, ‘यो नाका स्तरोन्नति हुन कठिन छ, जुन अवस्थामा छ त्यही स्थितिमा रहिरहन्छ ।’ दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनेपछि गौरीफण्टा नाकाको धेरै महत्त्व नरहने पनि राजदूत पुरीले बताए । पुरीले भने, ‘दोधारा चाँदनी कति टाढा हो र ? सुख्खा बन्दरगाह बनेपछि यो पूरै क्षेत्रको व्यावसायिक विकासमा ठूलो परिवर्तन हुन्छ ।’

राजनैतिक विषय र प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा भने राजदूत पुरीले कुरा गर्न चाहेनन् । उनले यति मात्र भने, ‘दुवै देशको सम्बन्ध उच्च बिन्दुमा पुगेको छ ।’

प्रदेशका मुख्यमन्त्रीसँग भेट
यसअघि प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग भारतीय राजदूत मञ्जीवसिंह पुरीले बिहीवार उनकै कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटघाटमा सीमा क्षेत्रका समस्या, कृषि क्षेत्रको विकास र सीमा नाकाको स्तरोन्नति लगायतका विषयमा छलफल भएको मुख्यमन्त्रीले जानकारी दिए । धनगढी र झुलाघाट नाकाको पञ्चेश्वर लगायतका सवालमा सामान्य छलफल भएको मुख्यमन्त्री भट्टले बताए ।

मुख्यमन्त्रीले भने, ‘यो सामान्य शिष्टाचार भेट मात्र हो ।’ परराष्ट्र मन्त्रालयको समन्वयमार्फत पुरीले आफूसँग शिष्टाचार भेट गरेको उनले बताए । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका क्रममा यस प्रदेशको विकासका लागि समावेश गरिनुपर्ने सवालहरू भ्रमणअघि नै प्रधानमन्त्रीसमक्ष पेस हुने भट्टले बताएका छन् ।

प्रकाशित : चैत्र १६, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?