कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दशकौंसम्म बनेन सडक

मनोज बडू

दार्चुला — जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएको गोकुलेश्वरदेखि खार–दल्लेख हुंँदै सदरमुकाम खलंगा जोड्ने सडक निर्माण सुरु भएको ३१ वर्षसम्म पनि पूरा भएको छैन ।

दशकौंसम्म बनेन सडक

०४२ सालमा निर्माण सुरु भएको ४४ किलोमिटर लामो उक्त सडक निर्माणमा अहिलेसम्म करोडौं रकम खर्च भइसकेको छ ।

तत्कालीन जिल्ला पञ्चायत, ०४६ पछि जिल्ला विकास समिति, गाउँ विकास समितिदेखि विभिन्न निकायको ठूलो बजेट खर्च भएको गोकुलेश्वर–दल्लेख खलंगा सडक तीन दशक बितिसक्दा पनि निर्माण हुन नसकेको हो । तीन दशकअघि हवाई सेवा सञ्चालनमा रहेको गोकुलेश्वरदेखि सदरमुकाम जोड्न छोटो दूरीको उक्त सडक निर्माण कार्य सुरु भएको थियो । चार वर्षअघि मात्र ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (डिलिप) ले उक्त सडक निर्माणमा ठूलो लागनी गरेको थियो ।

‘सडक निर्माणका लागि यसरी लगानी भएको यो पहिलोपटक होइन,’ दल्लेखका स्थानीय हर्क धामी भन्छन्, ‘यसअघि पनि पटकपटक विभिन्न निकायको बजेट खर्च भए पनि सडक भने निर्माण हुन सकेको थिएन ।’ सडकको ट्र्याक मात्र खोल्ने काम गरेको उक्त कार्यक्रमले पनि गर्नुपर्ने काम गर्न नसकेको स्थानीयहरूको गुनासो छ । उक्त सडक निर्माण सम्पन्न हुने हो भने जिल्लाको झन्डै आधा भूभागको विकासमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ ।

दार्चुलामा निर्माण सुरु भएको यो सडक उदाहरण मात्र हो । जिल्लामा पञ्चायत कालदेखि र प्रजातन्त्र आएपछि यसरी निर्माण सुरु भएको दुई दर्जन सडकको स्थिति उस्तै छ । जिल्लाका ग्रामीण क्षेत्रलाई जोड्ने उद्देश्यले सुरु भएका दुई दर्जन सडकमध्ये अधिकांश सडक ०४६ पछि सुरु भएका हुन् । हरेक वर्ष बजेट खर्च हुने तर मोटर कहिल्यै पनि गुड्न नसक्ने सडकको सूची पनि लामो छ ।

विगतमा स्थानीय निकायले कनिका छरेजस्तै बजेट विनियोजन गरेका सडकहरूलाई स्थानीय सरकारले पनि प्राथमिकतामा राखेको छ । आर्थिक वर्षको अन्ततिर सडक निर्माण सुरु हुने गोकुलेश्वरका धर्मानन्द जोशीले बताए । टुक्राटुक्रा गरेर बजेट खर्चिनुभन्दा प्राथमिकतामा परेका सडकमध्ये हरेक वर्ष दुई–दुई वटा सडक निर्माण गरे पनि अहिलेसम्म जिल्लाभरि यातायात सञ्चालन हुन सक्ने सडक सञ्जाल निर्माण हुन सक्ने जोशीको भनाइ छ । उनले भने, ‘बजेट मात्र खर्च हुन्छ तर निर्माण सुरु भएको दशकौंसम्म पनि यी सडकमा मोटर गुड्न सकेको छैन ।’

जिल्लालाई सडक सञ्जालमा जोड्न साविकको जिविसले १८ वटा सडक प्रस्ताव गरेको थियो । अढाई किलोमिटरदेखि ६२ किलोमिटरसम्म लम्बाइ भएका १८ ओटा सडक निर्माण सुरु गरे पनि हालसम्म अधिकांश सडक नाम मात्रका छन् । लाली–खरकडा–सर्माेली सडक, शंकरपुर–हुनैनाथ डाँडाकोट–लाली सडक, ऐरिछाना–रिठाचौपता–सर्मोली सडक, गोकुलेश्वर–रिठाचौपता सडक, गोकुलेश्वर–बोहरीगाउँ–पनेबाज सडक साविकको जिविसले प्रस्ताव गरेका सडक हुन् ।

त्यस्तै, धाप–निसिल–ग्वानी सडक, देथला–रानीशिखर–ग्वानी सडक, बंगाबगड–वीरेन्द्रवन–गल्फै सडक, खलंगा–देथला सडक, शिखर–बलाच–देथला सडक, डुङरी–छापरी–ब्रह्मदेव–धारी सडक, होपरी–सिप्टी–शेरी–तपोवन सडक पनि साविकको जिल्ला विकास समितिले निर्माण सुरु गरेका सडक हुन् ।

होपरी–सिप्टी–शेरी–तपोवन सडक खण्ड अहिले उपभोक्तामार्फत निर्माण भइरहेको छ । नौगाड गाउँपालिकाले उक्त सडक खण्ड निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजित गरेर निर्माण कार्य भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । त्यसैगरी खार–इयरकोट सडक, सिप्टी–सितोला सडक, बिटुले–लटिनाथ–पारीबगड–खण्डेश्वरी सडक, पारीबगड–गुल्जर–बुंगल सडक, हिकिला–सिद्धटोपी सडक र मकरीगाढ–घुसा सडक खण्ड गरी १८ ओटा सडक पनि लामो समयदेखि निर्माणाधीन रहेका छन् ।

गोकुलेश्वर–खलंगासम्मको ७२ किलोमिटर सडक कालोपत्रे कार्य यसअघि सम्पन्न भएको छ । गाकेुलेश्वर–लटिनाथ ३५ किलोमिटर कच्ची सडक निर्माणाधीन अवस्थामा छ । सडक डिभिजन कार्यालय बैतडीमार्फत उक्त सडक खण्ड विस्तार कार्य चलेको छ । महाकाली कोरिडोरको तिंकर सडक निर्माणाधीन अवस्थामा छ । जिल्ला समन्वय समिति दार्चुलाका संयोजक करबिर सिंह कार्कीले जिल्लामा साविकका सबै गाविसलाई जोड्ने उद्देश्यले सुरु भएका सडक अहिले पनि निर्माणाधीन अवस्थामा रहेको बताए ।

प्रकाशित : चैत्र १८, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?