विकास निर्माणले भारत जाने घटे

मनोज बडू

दार्चुला — स्थानीय तहमा विकास निर्माणका कामले प्राथमिकता पाएपछि रोजगारीका लागि भारत जाने कामदारको संख्या घट्दै गएको छ ।

विकास निर्माणले भारत जाने घटे

विगतमा यो समयमा कामको खोजीका लागि भारत जाने युवाहरूले आफ्नै गाउँघरमै विकास निर्माणका काममा रोजगारी पाउन थालेपछि भारत जानेको संख्या घटेको हो ।


‘गाउँमै दैनिक ज्यालादारीमा नियमित काम पाएकाले आफूहरू भारतमा मजदुरी गर्न नजाने व्यास गाउँपालिका ३ का कमलसिंह धामीले बताए । उनले भने, ‘यसअघिका वर्षमा एक/दुई महिना मात्र ज्यालादारीमा काम पाइन्थ्यो, बाँकी समयमा रोजगारीका लागि भारतकै भर पर्नुपथ्र्यो ।’ ‘गाउँमा पाएको कामको ज्याला पनि वर्ष दिनपछि दिन्थे,’ उनले भने, ‘पछिल्लो समय स्थानीय तहमा विकास निर्माणका काम हुन थालेपछि रोजगारी पाउन सहज पनि भएको छ ।’


स्थानीय तहका ग्रामीण बस्तीहरूमा सानातिना योजना भए पनि निर्माणको क्रम चलिरहेको छ । ‘बाटो निर्माण, सिँचाइ कुलो निर्माण तथा मर्मतमा स्थानीय मजदुर नै काम गरिरहेका छन्,’ दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले भने, ‘विकास निर्माणका कार्यक्रमले भारतमा मजदुरी गर्न जाने सबै स्थानीय आफ्नै ठाउँको विकास निर्माणमा जुटेका छन् ।’


भौतिक पूर्वाधारका कामहरू चालु आवको दोस्रो चौमासिकबाट धमाधम भइरहेका छन् । जिल्लाका ९ वटै स्थानीय तहमा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हुनाले विकाससँगै स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ । स्थानीयवासी आफैं अग्रसर भएर सडक, खानेपानी, सिँचाइ कुलो, घोरेटो बाटो निर्माणमा संलग्न भएको देख्दा ठूलो योजना पनि नियमित सञ्चालन गर्न सके मजदुरको कमीका कारणले निर्माण नरोकिने अध्यक्ष कार्कीको भनाइ छ ।


‘जिल्लामा सञ्चालित ठूला योजनामा कामदारको अभावले विकास निर्माण प्रभावित भएको खबर विगतदेखि भोग्दै आएका छौं,’ दुहु गाउँपालिकाका अध्यक्ष कार्कीले भने, ‘कामदारको अभावभन्दा व्यवस्थापनको कमी भयो जस्तो लाग्छ ।’ मजदुरलाई नियमित काम र काम गरेबापतको पारिश्रमिक समयमै दिने हो भने स्थानीयस्तरमा कामदारको अभाव नहुने उनले ताए ।


स्थानीय तहमा अहिले भइरहेका सबै निर्माण कार्यहरू उपभोक्ता समिति मार्फत भइरहेका छन् । स्थानीय टोलमा भइरहेको निर्माण कार्यमा स्थानीयवासी संलग्न छन् । ‘सामूहिक विकासको अवधारणाअनुसार युवालाई विकासमा संलग्न गराउने उद्देश्यका साथ भौतिक पूर्वाधार निर्माणमा स्थानीयको आपनत्व महसुस गराउनु आवश्यक देखिन्छ,’ महाकाली नगरपालिका ७ का वडाध्यक्ष दिनेशराज जोशीले भने, ‘विगतका स्थानीय निकायमा गरिने विकास निर्माणका कार्य र अहिले भइरहेको कार्यमा धेरै भिन्नता रहेको छ ।’ जनप्रतिनिधि आउँदैमा विकासको मूल फुटदैन, यसका लागि स्पष्ट कार्यदिशा र योजनाको खाँचो रहेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २१, २०७४ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?