कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जडीबुटी तस्करी रोक्न ‘एकीकृत अभियान’

तेलेलेकमा वर्षौं अघिबाट चितुवा, मृग, बँदेल, चित्तल, दुम्सी, कालिज लगायतको चोरी सिकार भइरहेको छ ।
मोहन शाही

डोटी — दुर्लभ वन्यजन्तु र जडीबुटीको भण्डार मानिने महाभारत पर्वत शृंखलामा भइरहेको संगठित तस्करी रोक्न डोटीमा एकीकृत अभियान सुरु गरिएको छ ।

जडीबुटी तस्करी रोक्न ‘एकीकृत अभियान’

जडीबुटी तथा वन्यजन्तुका लागि प्रख्यात मानिने महाभारत शृंखलामा अवस्थित तेलेलेक क्षेत्रमा व्यावसायिक रूपमा तस्करी भइरहेको हो । तेलेलेक क्षेत्रमा जिल्ला वनको अनुपस्थिति तथा स्थानीयको उदासीनताको फाइदा उठाउँदै भइरहेको चोरी सिकारी नियन्त्रण गर्न एकीकृत अभियान थालिएको हो ।

महाभारत क्षेत्रमा पर्ने शिखर नगरपालिका, जिल्ला वन र स्थानीयवासीले तस्करी नियन्त्रणका लागि एकीकृत अभियान अन्तर्गत पहिलो चरणमा सचेतना कार्यक्रम सुरु गरेका हुन् । अन्य स्थानीय तहसँग पनि समन्वय गरी अघि बढ्ने जिल्ला वनले जनाएको छ ।

तेलेलेकमा वर्षौं अघिबाट चितुवा, मृग, बँदेल, चित्तल, दुम्सी, कालिज लगायतको चोरी सिकार भइरहेको छ । सिकारीहरूले वन्यजन्तुका काँचो तथा सुकुटी मासु पहाडी जिल्ला, तराईका मुख्य बजार तथा काठमाडौंसम्म पुर्‍याउने गरेका छन् ।

यसरी अवैध रूपमा भइरहेको संगठित चोरी सिकारका कारण वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् । जनप्रतिनिधि, पत्रकार, जिल्ला वनका कर्मचारी लगायतको संयुक्त टोली पहिलो पटक सामूहिक रूपमा तस्करहरूलाई निरुत्साहित पार्न तेलेलेक क्षेत्रमा अनुगमन गरी शुक्रबार फर्किएको छ । अनुगमनका क्रममा चोरी सिकारी र तस्करहरूले प्रयोग गरिएका स्थान, वन्यजन्तु सिकार गर्ने तरिका, मारिएका वन्यजन्तुका हड्डी, छाला तथा उनीहरूले प्रयोग गरेका सामग्रीहरू टोलीले फेला पारेको छ ।

‘तीन दिनसम्म जंगलैजंगल घुमेर ठाउँठाउँमा तस्करहरूले वन्यजन्तु मारेका प्रमाणहरू भेट्टायौं, उनीहरूले प्रयोग गर्ने नाका, सहयोग लिने माध्यमहरूको पनि पहिचान गरेका छौं,’ जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले भने, ‘तेलेलेकमा भेटिएका गोठाला, आसपासका स्थानीयसँग त्यसबारे छलफल पनि गरिएको छ, अब सामूहिक रूपमा तस्करविरुद्ध अभियान सञ्चालन गरेका छौं ।’

तस्करहरूले जोरायल, गड्सेरा तथा घण्टेश्वरको नाका प्रयोग गरेको तेललेक क्षेत्रमा लामो समय भैंसी पालन गर्दै आएका किसानहरूले जानकारी दिएका छन् । तस्करहरू महिनादिनसम्मका लागि भरुवा बन्दुक बोकेर जंगलमै बसेर चोरी सिकारी गरेको उनीहरूले बताए । उनीहरूले बाहिरबाट आउने तस्करहरूलाई रोक्न जिल्ला वनले चाँसो राख्नु पर्ने सुझाव दिए । ‘लामीताल र गद्दीभैंसी क्षेत्रमा जिल्ला वनले बन रक्षकहरू राखेर क्याम्प खडा गर्नुपर्छ’ लामो समयदेखि तेलेलेकमै भैसी पाल्दै आएका गोरखबहादुर मल्लले सुझाव दिए, ‘त्यस्तो भयो भने तस्कर जहाँसुकै भए पनि उनीहरूको चाल थाहा पाउन सकिन्छ र तत्काल पक्राउ गर्न सजिलो हुन्छ ।’ आफूहरूले विरोध गर्दा तस्करहरूबाट असुरक्षित हुने डरले आवाज उठाउन नसकेको स्थानीयको प्रतिक्रिया थियो ।

डोटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, केआईसिंह गाउँपालिका, बोगटान गाउँपालिका, जोरायल गाउँपालिकाको मुख्य पानीको स्रोत नै तेलेलेक हो । पानीका मुहान सुक्ने, चोरी सिकारीको डरले वन्यजन्तु बसाइँसराइ गर्ने, बँदेलले किसानका खेतीपाती नष्ट गर्ने, बहुमूल्य जडीबुटीको अवैध निकासी हुने समस्याहरू देखिन थालेपछि स्थानीय चिन्तित भएका हुन् । ‘पहिले हामीले जडीबुटी संकलन, वन्यजन्तु मार्ने कार्यलाई स्वभाविक रूपमा लिँदै आएका थियौं तर त्यो गम्भीर रहेछ,’ शिखर नगरपालिका वडा नं. १ स्थित गोल्छेडाँडा सामुदायिक वनका अध्यक्ष यज्ञ शाहीले भने, ‘हामीले चासो नलिँदा तस्करहरू झन् बढ्दै गए, अहिले हामी त्यसका नकारात्मक असरहरू ब्यहोर्न बाध्य भइरहेका छौं ।’ जिल्ला वन अधिकृत कार्कीले तस्करहरूको पहिचान गरिरहेको र पक्राउका लागि रणनीतिक योजना समुदायकै साथ लिएर अघि बढिरहेको बताए । ‘तीन महिनाभित्र तस्करहरूलाई निस्तेज पार्ने योजना छ,’ उनले भने, ‘संरक्षित क्षेत्र घोषणा गर्न स्थानीयवासीले नै बढी सक्रियता देखाउनु पहिलो उपलब्धि हो ।’

संरक्षित क्षेत्र घोषणा गर्ने
डडेलधुराको ऐतिहासिक गन्यापधुरादेखि सुरु हुने तेलेलेक कर्णाली नदीको पश्चिम भागसम्म फैलिएको छ । तेलेलेकलाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी जिल्ला वनले गरिरहेको छ । संरक्षित क्षेत्रका लागि जिल्ला वनले विस्तृत सम्भाव्यता अध्ययन गरिरहेको सहायक वन अधिकृत सुरेश रोकायाले जानकारी दिए । सो अध्ययन प्रतिवेदनपछि तेलेलेक क्षेत्रमा रहेका वन्यजन्तुको विवरण, जडीबुटीका प्रजाति, सिमाना, क्षेत्रफल लगायतको विवरण आउनेछ । घोषणाका लागि मन्त्रिपरिषद्बाट निर्णय पारित गर्ने गरी प्रयास अघि बढिरहेको बताउँदै रोकायाले संरक्षित क्षेत्र घोषणापछि अवैध चोरी सिकारी तथा जडीबुटी निर्यात गर्ने गतिवधिमा कमी आउने बताए । अहिलेसम्म तेलेलेकमा रहेका प्राकृतिक सम्पदाबारे कुनै पक्षबाट आधिकारिक रूपमा अध्ययन अनुसन्धान हुन सकेको छैन ।

स्थानीय तहको साथ
शिखर नगरपालिकाले तेलेलेक क्षेत्रलाई मुख्य पर्यटकीय स्थल बनाउने घोषणा गरेको छ । पर्यटकीय स्थल बनाउन तेलेलेकमा रहेका वन्यजन्तु तथा जडीबुटीको संरक्षणका लागि साथ दिने प्रतिबद्धता नगरपालिकाले गरेको छ । जिल्ला वनसँग मिलेर शिखर नगरपालिकाकाले कार्ययोजना बनाएर अघि बढ्ने नगरप्रमुख सीताराम जोशीले बताए । ‘वन्यजन्तु र जडीबुटी तेलेलेकका गहना हुन्,’ तेलेलेकको देउतालमा आयोजना गरिएको अन्तक्र्रियामा जोशीले भने, ‘हामीले समुदायको सहयोग जुटाई संरक्षणका लागि के गर्नु पर्छ, त्यसका लागि अघि बढ्न तयार छौं ।’

प्रकाशित : चैत्र २५, २०७४ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?