१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पर्यटक आकर्षित गर्न ताल संरक्षण

मोहन शाही

डोटी — समृद्धिका लागि मुख्य आधार पर्यटनलाई छनोट गरेको शिखर नगरपालिकाले महाभारत पर्वत शृंखलामा रहेका तालहरूको संरक्षण गर्न थालेको छ । महाभारत पर्वत शृंखलामा पर्ने तेलेलेक क्षेत्रका प्राकृतिक तालहरूको संरक्षण गरी पाँच वर्षभित्र पर्यटकका लागि मुख्य गन्तव्य बनाउने नगरपालिकाको लक्ष्य छ ।

पर्यटक आकर्षित गर्न ताल संरक्षण

तेलेलेक क्षेत्रमा रहेका देउताल, बाटुलीताल, चुरमुनि ताल, लामीताल, खकरेताल लगायतको संरक्षणका लागि नगरपालिकाले प्राविधिक टोली खटाएको नगर प्रमुख सीताराम जोशीले जानकारी दिए । ती तालहरू अहिले सुकेर सुख्खा पाटनका रूपमा परिणत भएका छन् ।

प्राविधिक सर्वेपछि केहीमा पानी जम्मा गरी ताल बनाउने तथा केहीलाई घेरबार गरी हरिया पाटनका रूपमै प्रवद्र्धन गर्न नगरपालिका अघि बढिरहेको छ । ‘समुद्री सतहबाट २ हजार देखि ३ हजार मिटरको उचाइमा रहेका तालहरू संरक्षण गरेर संसारभरका पर्यटकलाई बोलाउने छौं,’ नगरप्रमुख जोशीले भने, ‘हामीले नगरको शीरमा रहेको तेलेलेक र पाउमा रहेको सेती नदीमा पर्यटनको मुख्य आधारका रूपमा लगानी गरिरहेका छौं ।’

तेलेलेकको सबैभन्दा उचाइमा रहेको लाटा काफली शिखर देवतालाई डोटीबासी मुख्य धार्मिक आस्थाका रूपमा मान्छन् । काफली शिखर देवता वरपर रहेका ठूलाठूला हरिया पाटन, ताल, वन्यजन्तु र जडीबुटीको संरक्षण गरी पर्यटकलाई आकर्षण गर्न सकिने शिखर नगरपालिकाका प्राविधिक अमर रावतले भने । ‘देउताल र बाटुलीतालमा कृत्रिम बाँध बनाएर तत्कालै पानी जम्मा गरी पर्यटक भित्र्याउन सकिने सम्भावना देखेका छौं,’ प्राविधिक सर्भेपछि रावतले भने, ‘पाटनहरूको संरक्षणका लागि घेरबार तथा तालहरूको अस्तित्वका लागि पानी जम्मा गर्न सकिने निचोडमा हामी पुगेका छौं ।’

संरक्षण नहुँदा पाटनहरूमा भइरहेको चरचिरनले सौन्दर्य कुरुप हुनु थालेपछि नगरपालिकाले घेरबार गरी हरियाली बनाउन खोजेको हो । सर्भेको विस्तृत निष्कर्षपछि तालहरूको क्षेत्रफल, गहिराइ, बाँध बाँध्न लाग्ने समय र लगानीबारे थाहा हुनेछ ।

लेकाली जंगलको बीचमा रहेका तालहरू हेर्न आउने पर्यटकका लागि त्यहाँ रहेका खर्कहरूलाई होमस्टेका रूपमा लैजाने नगर प्रमुख सीताराम जोशीले बताए । लेकहरूमा वर्षौंदेखि शिखर, जोरायल, डडेल्धुराको गन्यापधुरा क्षेत्रका मानिसहरू हिउँदपछि वर्षासम्म खर्क बनाएर बस्ने चलन छ । अहिले पनि तेलेलेक क्षेत्रका लामीताल, खकरे, चनकट्टे, पल्लेपानी, दउताद लगायतका क्षेत्रमा खर्क बनाएर किसानहरू बसेका छन् ।

लेकाली क्षेत्रको जीवनशैली झल्कने गरी खर्कहरूलाई नमुनाका रूपमा होमस्टे बनाउने उद्देश्य रहेको नगर प्रमुख जोशीले बताए । अहिले पनि तेलेलेक घुम्न आउने आन्तरिक पर्यटकहरू खर्कमै बस्ने गर्छन् । तेलेलेक घुम्न मात्रै कम्तीमा चार दिन लाग्ने स्थानीय लालबहादुर महरा आफ्नो अनुभव सुनाउँछन् । नगरपालिकाले पर्यटन क्षेत्रमा गरिरहेको लगानीबारे जीवनभर खर्कमा जीवन गुजारा गरेका किसानहरूमा खुसियाली छाएको छ । तेलेलेकको लामीतालमा भैंसी पालन गर्दै आएका गोरखबहादुर मल्लले पर्यटन क्षेत्रका रूपमा प्रवद्र्धन गरे झनै खुसी हुने प्रतिक्रिया दिए ।

प्रकाशित : चैत्र २८, २०७४ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?