२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुदूर पहाडमा बिसुको रौनक

मनोज बडू

दार्चुला — नयाँ वर्षको पहिलो दिनलाई प्रदेश नं. ७ मा बिसु पर्वका रूपमा मनाउने चलन छ । केही दिनयता यहाँका गाउँबस्तीमा बिसु मनाउन बाहिर गएकाहरू धमाधम फर्कन थालेका छन् ।

सुदूर पहाडमा बिसुको रौनक

शुक्रबार नयाँ वर्षको अघिल्ला दिनसम्म सीमा नाका र नेपालतर्फबाट आएकाहरूको बसपार्कमा भीड लागेको छ । आफन्तहरू घर फर्किएपछि सुनसान पहाडी ग्रामीण बस्तीमा चहलपहल र खुसी छाएको छ ।

स्वदेशमा रोजगारी नपाइने भएपछि सुदूरका पहाडी जिल्लाबाट कामको खोजीमा अधिकांश भारतका सहरतिर पस्ने गर्छन् । उनीहरू हिउँदेबाली लगाएर रोजगारीका लागि गएका थिए । बर्सेनि प्राय: यहीबेला उनीहरू घरपरिवारसँगै चाडपर्व मनाउन फर्कने गरेका हुन् । ‘रोजगारीका लागि भारत नपसेर सुखै छैन,’ बिसु पर्व मान्न भारतको बैंग्लोरबाट घर फर्कंदै गरेका दार्चुलाको नौगाढ गाउँपालिका २ खारका विशनसिंह ठगुन्नाले भने, ‘खेतीपातीका लागि पानी लाग्ने राम्रो जग्गा छैन, यहाँको उब्जनीले पुग्दैन उता भारत गएर कमाएको पैसाले गुजारा चलेको छ ।’उनी ४ वर्षपछि घर फर्केका हुन् । ‘चाडपर्व आउँदा नरमाइलो लाग्ने गथ्र्यो, घरको यादले सताउँथ्यो,’ ठगुन्नाले भने, ‘परिवार सँगै बसेर बिसु मनाउन घर पुग्दा धेरै खुसी लागेको छ ।’ यतिबेला हिउँदेबाली भित्र्याउने समय भएकाले खेतीपातीको काम पनि हुने आफन्तसित बिसु मनाउँदा रमाइलो हुने विशनकी श्रीमती राजमतीको भनाइ छ ।

‘घरायसी कामसँगै दु:खसुखका कुराहरू गर्न पाइएको छ,’ उनले भनिन्, ‘नजिकका आफन्तले मात्र आफूहरूको पीडा सुनाउन सजिलो हुन्छ ।’ थोरै समयका लागि भए पनि मेलापात र घरमा सँगै बस्न पाउँदा साह्रै खुसी महसुस भएको उनले बताइन् । घरमा जति दिन बसिए पनि आफन्तलाई घरायसी काममा सहयोग गर्न पाउँदा भाग्यमानी भएको अनुभव विशनको छ ।

प्रदेश ७ का पहाडी जिल्लाका विभिन्न ठाउँमा नयाँ वर्षलाई बिसु पर्व मानेर खुसियाली मनाउने चलन छ । यहाँका बढीजसो भारत गएकाहरू बिसु मनाउन घर फर्किन थालेपछि गाउँघरमा चहलपहल बढ्दै गएको छ । नयाँ वर्ष अर्थात बिसु पर्व मनाउनकै लागि एक साताअघिदेखि नै घर फर्किने तथा बिहे गरेर गएका छोरीचेलीसमेत माइत आउने चलन छ ।वैशाख सुरु भएसँगै रोगव्याधि, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्य सँगै बसेर बिसु मनाउने चलन रहेको छ । हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियाली स्वरूप पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ । देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसुको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।

प्रकाशित : वैशाख १, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?