१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

खच्चड व्यवसायबाट राम्रो आम्दानी

मनोज बडू

दार्चुला — जिल्लाका सडक सञ्जालले नजोडिएका ठाउँमा ढुवानीको माध्यम खच्चड बनेका छन् । भौगोलिक विकटताका कारण अधिकांश ठाउँमा खच्चडबाट सहज रूपमा सामान ढुवानी गर्न मिल्ने हुँदा खच्चड व्यवसायको आकर्षण बढेको हो ।

खच्चड व्यवसायबाट राम्रो आम्दानी

पहाडी र हिमाली भेगमा खच्चडबाट सहजै सामान ढुवानी गर्न सकिने तथा यसबाट आम्दानी पनि राम्रै हुने खच्चड व्यवसायी बताउँछन् । ‘उहिले भेडाबाख्रा र मानिस आफैंले विभिन्न सामान ढुवानी गर्थे,’ व्यास गाउँपालिका ५ धौलाकोटका खच्चड व्यवसायी कल्यानसिंह धामीले भने, ‘पछिल्लो समय खच्चडबाट जुनसुकै सामान ढुवानी हुन थालेपछि यसमा आकर्षण बढेको हो ।’ सडक नपुगेको ठाउँमा भरियाबाट सामान ढुवानी निकै महँगो हुने हुँदा खाद्य तथा गैरखाद्यान्न सामग्री ढुवानीमा खच्चड प्रयोग भइरहेको उनले बताए ।

४/५ खच्चड भए यो व्यवसायबाट नोक्सानी नहुने र नियमित ढुवानी मिले यसबाट आम्दानी राम्रो रहेको धामीले बताए । ‘सदरमुकाम खलंगाबाट व्यास गाउँपालिकाको धौलाकोट, सुन्सेरासम्म एकतर्फी ढुवानीको प्रतिकिलो भाडा १०/१२ रुपैया पर्छ,’ उनले भने, ‘अहिले मसँग ११ खच्चड भएकाले राम्रै कमाइ भएको छ ।’ २५ वर्ष अगाडि भारतमा खच्चड व्यवसायीसित नै काम गरेको र १२ वर्षदेखि स्वयं आफूले खच्चड खरिद गरी व्यावसायिक रूपमा ढुवानी कार्य गरिरहेको उनी बताउँछन् ।

धामीले भने, ‘१२ वर्ष अगाडि ४ खच्चडबाट व्यवसाय सुरु गरेर अहिले परिवारको खर्च चलाएर कमाएको रकमबाट ११ खच्चड जोड्न भ्याएको छु ।’ भाइ–बहिनी तथा छोराछोरीको पढाइ खर्चदेखि घरको सम्पूर्ण खर्च यही व्यवसायबाट चलिरहेको उनको भनाइ छ । अहिले आफ्नो गाउँमा मात्रै ८ जनाले व्यावसायिक रूपमा खच्चडबाट विभिन्न सामग्री ढुवानी गर्दै आएको उनले बताए ।

त्यस्तै, ७ वर्षदेखि शैल्यशिखर नगरपालिका आगरका भरत साउद र नरे लुहारले खच्चड व्यवसाय राम्रोसँग चलाएका छन् । सडक नपुगेका ठाउँहरूमा दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानी गरेर मासिक रूपमा २५ देखि ३० हजार रुपैयाँसम्म वचत भइरहेको उनीहरू दुवैले जानकारी दिए । ‘ग्रामीण भेगमा व्यवसाय पनि राम्ररी चलेको छ, घरायसी काममा पनि परिवारलाई सघाउन पाइएको छ,’ भरतले भने, ‘लाखौं रुपैयाँ ब्याजमा ऋण लिएर विदेश जानुभन्दा यो व्यवसाय कैयांै गुणा राम्रो लाग्यो ।’ मिहिनेत धेरै लगाउनुपरे पनि आफ्नै ठाउँमा जमेर व्यवसाय गर्न पाउँदा खुसी लागेको नरेको भनाइ छ ।

सडक नपुगेका कारण आयस्रोतमा टेवा पुर्‍याउन थालेपछि खच्चड व्यवसायी बढ्दै गएका छन् । ‘मार्मा गाउँपालिका–१ पारीबगरदेखि अपिहिमालसम्म अहिले खच्चड व्यवसायीले सामान ढुवानीको काम पाएका छौं,’ अपिहिमाल गाउँपालिका–३ का रामसिंह बोहराले भने, ‘खच्चडबाट सुरक्षित रूपमा मालसामान ठाउँमा पुग्ने हुँदा मार्मादेखि अपिहिमालसम्म खच्चडबाट नै सामान ढुवानी भइरहेको छ ।’ पारिबगरदेखि अपिहिमाल केन्द्रसम्म खाद्यान्न ढुवानीमा प्रतिकिलोग्राम १२ रुपैयाँ, सिमेन्ट प्रतिकिलो १७ रुपैयाँ र खुद्रा सामान प्रतिकिलोग्राम २० रुपैयाँमा ढुवानी गरिंदै छ ।

अपि हिमालमा हाल १ सय ७५ वटा खच्चडबाट दैनिक सामान ढुवानी हुने गरेको छ । यसअघि खच्चड व्यवसायीले सामानको भाडामा मनपरी उठाउन थालेपछि गाउँपालिकाको पहलमा खच्चड व्यवसायी समिति गठन गरिएको समितिका अध्यक्ष मोहन ठेकरेले बताए । खच्चड व्यवसायी समिति गठन गरेर सामान ढुवानीदरमा एकरूपता ल्याइएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए । भौगोलिक रूपमा विकट रहेको क्षेत्रका नागरिकलाई सहज रूपमै सामान पुर्‍याउने उद्देश्यले समान भाडा कायम गरिएको हो ।

प्रकाशित : वैशाख २, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?