१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

घरमै भत्ता पाउँदा खुसी

‘बल्ल सिंहदरबार गाउँमा आएको महसुस भयो,’ ६४ वर्षीया गीता शाहीले खुसी हुँदै भनिन्, ‘विगतमा भत्ता बुझ्न पाइएको दु:ख यो वर्ष स्वाट्टै हरायो ।’
मोहन शाही

डोटी — आफ्नै आँगनको कुर्सीमा बसिरहेकी मानमती बिक शनिबार हजार हजारका नेपाली नोट औंलामा थुक लगाउँदै पटकपटक गनिरहेकी थिइन् । कर्मचारीहरूले शिखर नगरपालिका–१ कपल्लेकीमा रहेको पहिलोपटक आफ्नै घरमै आएर सामाजिक सुरक्षा भत्ता बुझाएपछि ७४ वर्षीया बिक मक्ख परेकी थिइन् ।

घरमै भत्ता पाउँदा खुसी

यसअघि भत्ता बुझ्न ८ किमि पैदल लट्ठीको सहारामा हिँडेर तत्कालीन गाविस कार्यालय पुग्नुपथ्र्यो । ‘यसपालि नगरपालिकाका कर्मचारी र वडाध्यक्ष घरमै आएर हातमा आठ हजार थमाएर गए,’ खुसी हुँदै मानमतीले भनिन्, ‘घरमा नपुर्‍याइदिए त म हिँडेर भत्ता बुझ्न जानै नसक्ने भएकी थिएँ ।’ भत्ताबाट आएको रकमले नाति सरोजका लागि कापीकलम तथा नयाँ वर्षका दिन मासुभात खाने योजना उनले सुनाइन् ।


गुठ्युरीकी ६४ वर्षीया गीता शाही पनि आइतबार कर्मचारीहरूले घरमै आएर चार हजार बुझाएर गएपछि खुसी थिइन् । भत्ता बाँड्न आएका कर्मचारीलाई धन्यवादसहित उनले आशीर्वादसमेत दिइन् । ‘बल्ल सिंहदरबार गाउँमा आएको महसुस भयो,’ उनले कर्मचारीहरूलाई खुसी हुँदै भनिन्, ‘विगतमा भत्ता बुझ्न पाइएको दु:ख यो वर्ष स्वाट्टै हरायो ।’ जिल्लाका अधिकांश स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता गाउँ–गाउँमा वितरण गर्ने नीति ल्याएपछि लक्षित वर्गमा खुसियाली छाएको छ । तर सबै स्थानीय तहले घरघरमा गएर भत्ता बाँड्न सकेका छैनन् । जनप्रतिनिधिहरूले चुनाव लडदा नै सामाजिक सुरक्षा भत्ता घरघरमै आएर उपलब्ध गराउने चुनावी नारा बनाएका थिए । दोस्रो किस्ता वितरण भइरहेको सामाजिक सुरक्षा भत्तामा अधिकांश खुसी छन् । केही भने घरमै पुगेका कर्मचारी, स्वयम्सेवकहरूले नाम छुटेको, विवरण नमिलेको जस्ता कारण देखाएर वडा कार्यालयमा बोलाएको प्रति भने खिन्नता प्रकट गरे । निर्वाचन सकेलगत्तै सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्‍याउने प्रतिबद्धता गरेका जनप्रतिनिधिहरूले पहिलो किस्तामा आएको भत्ता वाचाअनुरूप वितरण
गर्न सकेका थिएनन् ।


शिखर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न टोलस्तरमा छुट्टाछुट्टै सूची बनाएर घरघरमा वितरण गरिरहेको वडाध्यक्ष खडक शाहीले बताए । उनले वडास्तरमा एकमुष्ट भएका तथ्यांकलाई टोलटोलमा विभाजन गरेर सूचीकृत गर्न हप्ता दिन लागेको बताए । ‘घरघरमा भत्ता बाँड्ने नगरकै नीति हो,’ शाहीले भने, ‘तर अधिकांश वडाले छुट्टा छुट्टै सूची बनाउन नसकेकाले वडा तहमै बाँड्ने गरेका भए पनि कपल्लेकीमा घरघरमा बाँड्न सकेका छौं ।’ कपल्लेकीमा एकै दिन जनप्रतिनिधि, कर्मचारी र स्वयम्सेवक खटाएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।


घरघरमा भत्ता बाँड्न पुराना बदलेर नयाँ परिचयपत्रसमेत शिखर नगरपालिकाले दिइरहेको छ । ‘घरमा पुगेर बाँडदा जनप्रतिनिधिहरूलाई अरू पनि उपलब्धि भएका छन्,’ शिखर नगरपालिकाका नगरप्रमुख सीताराम जोशीले भने, ‘जनताका सुख दु:ख प्रत्यक्ष जान्नबुझ्न पाइएको छ, उहाँहरूले प्रत्यक्ष गुनासो पनि राख्ने मौका पाउनुहुन्छ ।’


केआईसिंह बडीकेदार गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता गाउँगाउँमा गएर बाँड्ने गरेका छन् । पूर्वीचौकी, सायल, आदर्श गाउँपालिकाहरूले भने कर्मचारी अभावमा घरघरमा पुग्न नसके पनि गाउँ तथा टोलमा पुगेर वितरण गर्ने प्रयास गरिरहेको बताए । जिल्लाका अधिकांश वडामा वडासचिव नहुँदा काम प्रभावित हुने गरेका छन् ।


राष्ट्रिय जनगणना ०६८ अनुसार डोटीमा २ लाख ११ हजार जनसंख्या रहेकामा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउने मात्रै २८ हजार वृद्धवृद्धा छन् । त्यसबाहेक अपांग, दलित, एकल महिलालगायतलाई छुट्टै सामाजिक सुरक्षा भत्ताको व्यवस्था छ ।

प्रकाशित : वैशाख ३, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?