कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घटाल मन्दिरमा ‘बिशु जाँत’

चित्रांग थापा

डडेलधुरा — डोटीखोलाको पुछारमा रहेको घटाल थान क्षेत्रमा आइतवार विहानै देखि दर्शनार्थीको घुँइचो लागेको थियो । नदी किनारको घटाल बाबाको घट र मुर्ति रहेको ठाउँमा भक्तजनको ठूलो भिड थियो ।

घटाल मन्दिरमा ‘बिशु जाँत’

उता नजिकै घटालका धामी काम्ने स्थानमा पनि बाजा गाजाको रमाइलो वातावरणमा धामीहरु काम्न थालेपछि जाँत ( मेला ) मा पुगेकाहरु उतै जान हतारिएका देखिन्थे ।

बर्षेनी नयाँबर्षको दोस्रो दिन घटालथानमा बिशु जात धुमधाम संग धार्मिक आस्थाका साथ मनाइने गरेकोछ । डोटीखोला आसपासका गाउँबस्ती संगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरु बिशु जाँतका बेला घटाल बाबाको पुजा आजा संगै यो बिशेष अवसरमा काम्ने घटालका धामीबाट आशिष सहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन ।

‘बिशु जाँतको अघिल्लो दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा पुर्‍याइन्छ’ स्थानिय दामोदर अवस्थीले भने, ‘दोस्रोदिन विहानै अशिग्राम मन्दिरबाट देउरो घटालस्थानमा आएपछि बिशुजात सुरु हुन्छ ।’ उनका अनुसार देउरो सहित बाजागाजा बजाएर एक बिशेष ठाउँमा सवै भेला भएपछि घटालका धामी कामेर जिल्लाको र देश कै बर्षदिनभरीको अवस्था बताएर भक्तजनहरुका पीरमर्का सुनेर भाका दिने गर्छन । ‘धामीले दिएको भाका पुग्ने आमजनतामा बिश्वास छ’ अवस्थीले भने, ‘त्यसैले बिशु जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि जाँतका बखत एकै दिनका लागि भएपनि घर फर्कने गरेका छन ।’

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए । उनले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । लडाइ मैदान मै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाइ कलियुगमा ख्यातिप्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेकोछ । ‘सदियौ.देखि त्यहि मान्यता अनुरुप घटाल बाबालाइ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका हुन’ डोटी चम्सालका पदम बोहरा बताउँछन ।

घटाल बाबालाइ अनिकाल, रोगव्याधी र प्राकृतिक प्रकोपबाट जोगाउने देउताका रुपमा पनि लिइन्छ । विगतमा जव जव खडेरी परेर अनिकालको अवस्था आयो, त्यतिवेला पानी माग्न खलंगा समेत बिभिन्न गाउँबस्तीका किसान यहि घटाल थानमा भेला हुन्थे’ दामोदर अवस्थी भन्छन, ‘घटालका धामी कमाएर पानी माग्ने गरिन्थ्यो, घटाल प्रसन्न भएर पानी दिन्थे अर्थात खेतिपातीलाइ पुग्ने बर्षा हुन्थ्यो ।’ उनका अनुसार यो चलन अझैपनि कायमै छ ।

सूर्यग्रणका बखत उपयुक्त तिथि र अनुकुल समय मिलाएर घटाल बाबाको स्नान गर्ने समारोह आयोजना हुने गरेकोछ । स्नान कार्यक्रम डडेलधुराको भित्रिमधेश क्षेत्रमा पर्ने महाकाली किनारको परशुराम धाममा हुने गरेकोछ । ‘घटालका सम्पूर्ण सुनचाँदीबाट बनाइएका बिभिन्न बस्तु र गहना तथा भक्तजनले चढाएका बहुमुल्य बस्तुहरु घटाल थान नजिकै चमसालमा रहेको देवघरमा राखिएकोछ’ अवस्थीले भने, ‘स्नानका बखत ति सवै बस्तु सहित स्थानियवासी, धामीहरुको लर्को सहित पैदले चुरे पहाड पार गरि परशुराम धाम पगेर स्नान पछि फर्किेने गरिएकोछ ।’ उनका अनुसार यो स्नान यात्रा करिव १ साताको हुन्छ । ‘स्नान समारोहमा घटाल थान आसपासका गाउँहरुका महिलाहरु समेत सहभागी हुन्छन, यो लश्कर परापूर्वकालदेखि चल्दै आएकोछ’ उनले भने ।

बिशुजाँतको अर्को आकर्षण आफन्तजनहरु संगको भेटघाट केहि समयका लागि भएपनि एकै थलोमा बसेर सुख दुख साँटासाँट गर्न पाउनु पनि हो । हालका बर्षमा बैदेशिक रोजगारी तिर जानेहरुको संख्या बर्षेनी बढन थालेकोछ । त्यसैले विगतमा जस्तो पुरुष भन्दा मेलामा महिलाहरुको उपस्थिति बढदै गएको देखिन्छ । ‘रोजगारीका लागि जानेहरुले मात्र होइन, बसाइ सरेर तराइ झर्नेहरु पनि बढे’ अवस्थीले भने, ‘तर जहाँ पुगेको भए पनि आफ्ना देवी देउता र थातथलोको मायाँले यस्तो जाँत मेलामा घर फर्केकै हुन्छन ।’

प्रकाशित : वैशाख ३, २०७५ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?