२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

खर्कमै बित्यो जिन्दगी

मोहन शाही

डोटी — पाँच वर्षे बालापनमा बुवाको औंला समाएर भैंसी चराउन तेलेलेक गएका थिए गोरख मल्ल । अहिले उनी ६४ वर्षका भए । त्यसबेलादेखि अहिलेसम्म उनी भैंसीखर्कमै रमाएका छन् । बिहानै उठ्छन्, ११ किला (बस्तु बाँध्ने खाँवा) भैंसीको स्याहारमा जुट्छन् । दिनभरि भैंसीसँगै लेक चहारेर बेलुकी लामीतालमा रहेको खर्कमा फर्कन्छन् ।

खर्कमै बित्यो जिन्दगी

गोरखका बुवा बहादुर मल्लले तेलेलेकमा भैंसी चराउँदा चराउँदै जीवन त्यागे । उनका ३६ वर्षका एक्ला छोरा यामबहादुरले पनि खर्कमै मृत्युवरण गरे । जसरी बुवा र छोराले खर्कमै जीवन त्यागे । त्यसैगरी खर्कमै सुखदु:ख सहेर गोरख पनि जीवन गुजार्न चाहन्छन् । तीन पुस्ताले खर्कमा बिताएको अनुभवपछि गोरखको जीवन जिउने आफ्नै सूत्र छ । ‘हाकिम हुनलाई लेखपढ गरिनँ, अरूको रवाफ सहन नोकरी गर्न सकिनँ,’ मल्लले भने, ‘भैंसीकै हाकिम र भैंसीकै नोकर भएर मेरा तीन पुस्ताले जीवन गुजारिसके, म पनि यसैमा रमाएको छु ।’

७४ वर्षीय देवबहादुर ऐर पनि ५ किला भैंसी पालेर देउतालस्थित खर्कमै रमाएका छन् । बुढेसकाल भए पनि लेकमा पाइने शान्ति र स्वतन्त्रता अन्यत्र नपाइने उनको अनुभव छ । उनले आफ्नो पूरै जीवन खर्कमा बिताएको सुनाए । ६८ वर्षका शिखर नगरपालिका ५ का देवराज भट्ट बुढ्यौली उमेरमा पनि ३०/४० किलो भारी भएका घाँस सोत्तर बोकेर लेकमा मजाले हिँड्छन् । भैंसीका संगीतमय घाँणो (घन्टी) का आवाज, पशुपक्षीका चिरबिरे बोली, सिरसिरे बतास र चिसो मौसम आफ्नो जीवनको अभिन्न अंगझैं बनेको उनीहरू बताउँछन् ।

आफ्नो पूरै जीवन भैंसी खर्कमा बिताएका वृद्ध किसानहरू लेकमा थुप्रै छन् । खर्कमा जिन्दगी बिताएका उनीहरू गाउँघरमा रमाउँदैनन् । उनीहरू अधिकांश निरक्षर छन् । सबैले छोराछोरीलाई पनि पढाउन सकेका छैनन् ।

गोरखबहादुर मल्लले आफ्नी दुई छोरीलाई पनि लेकमै ल्याएर राख्नुपरेको नमीठो कथा सुनाए । सानै उमेरबाट आफूले अभिभावक गुमाउँदा लेकमै जीवन बिताउनुपरेको बताउने गोरखले सन्तानहरूलाई पढाउन नपाउँदा भने खिन्नता महसुस भइरहने बताए । अहिले पनि केही खर्कमा बालबालिका, महिलाहरूसमेत भेटिन्छन् । उनीहरूले लेखपढ नगरी, सहरिया जीवनशैलीको अनुभूति नै नगरी जीवन व्यतीत गरिरहेको स्थानीय लालबहादुर महरा सुनाउँछन् ।

वर्षको ७ महिना खर्कमा
फागुनदेखि भदौ महिनासम्म लेकमा भेटिने उनीहरू खर्कमा चिसो बढेपछि भने घरतिर झर्छन् । लामीताल, खकरेताल, देवताल, गदीभैंसी, देउकापानी, पल्लेपानीलगायत ठाउँमा वर्षाैं पहिलेबाट खर्क बनाएर बस्ने चलन छ । ‘तेलेलेकका रक्षक भनेकै यिनै किसान हुन्,’ शिखर नगरपालिकाका नगरप्रमुख सीताराम जोशी भन्छन्, ‘वर्षाैंअघिबाट लेकका कुनाकन्दराहरूसँग परिचित भएका यिनीहरूले पुस्ताैंपुस्ता पनि बिताएका छन् ।’ शिखर नगरपालिकाले अहिले तिनै खर्कहरूलाई केही परिमार्जित र सुधार गरी होमस्टे बनाएर पर्यटन प्रवद्र्धनको प्रयास गरिरहेको छ । स्थानीय दही, दूध, कुखुरा, खसी, बोकाको मासु र पर्यावरणको सौन्दर्यमार्फत पर्यटकलाई भित्र्याउने लक्ष्यमा नगरपालिका रहेको नगरप्रमुख जोशीले बताए ।

लेकमा पनि किसानहरूको आफ्नै नियम र चलन छ । लेकमा हुने विषजन्य जडीबुटीका कारण बोका, बाख्राहरू कसैले पाल्न पाउँदैनन् । सबैले पाल्ने भनेकै मुख्य गरी भैंसी हो । तेलेलेकमा पालिएका भैंसी किन्न टाढाटाढाबाट मानिसहरू किनमेल गर्न आउँछन् । भैंसीलाई दुहुने उमेरसम्म पालेर उनीहरू बेच्ने गर्छन् । ‘आम्दानी भनेकै भैंसी बेचेर हो,’ शिखर नगरपालिका ५ का वडाध्यक्ष पदम बोहरा भन्छन्, ‘वर्षमा दुई वटाजति भैंसी पाले पनि लेकमा जीवनयापन गर्न पर्याप्त आम्दानी हुन्छ ।’

प्रकाशित : वैशाख ४, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?