महिलालाई अटेर

मेनुका ढुंगाना

अछाम — तुर्माखाद गाउँपालिकाको न्यायिक समिति गठन गर्दा उपाध्यक्ष अमृता बुढाले एक पुरुष र एक महिलालाई समितिमा राख्ने प्रयास गरिन् । पुरुष जनप्रतिनिधिले मानेनन् । सबै सदस्यमा पुरुष नै ल्याउनुपर्ने दबाब दिइयो उपाध्यक्ष बुढालाई ।

महिलालाई अटेर

ढकारी गाउंँपालिका उपाध्यक्ष लक्ष्मी साउदले निर्वाचित भएयता केही थान कागजपत्रमा हस्ताक्षर गर्नुबाहेक अरू भूमिका नै पाएकी छैनन् । न्यायिक समिति, अनुगमन, गाउँंपालिकाभित्र हुने हरेक विकास निर्माणमा समन्वय गर्नुपर्ने जस्ता उपाध्यक्षको अधिकार क्षेत्रमा रहेका कुनै पनि गतिविधिका विषयमा साउदले जानकारीसमेत पाएकी छैनन् ।

चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुँवरको अनुभव झन् नमीठो छ । पुरुष जनप्रतिनिधिले मात्र होइन कर्मचारीले पनि महिला जनप्रनिनिधिलाई हेप्ने गरेका छन् । उपाध्यक्षले निर्वाह गर्ने भूमिका पनि पुरुष जनप्रतिनिधिबाट गराउने र उपाध्यक्षलगायत महिला जनप्रतिनिधिको कुनै सरसल्लाहसमेत लिने नगरेको उनले गुनासो गरिन् । निर्वाचित जनप्रतिनिधि भए पनि महिलाले आफ्नो अधिकारसहित काम गर्न नपाएका यी केही उदाहरण मात्र हुन् । अधिकांश स्थानीय तहमा बितेको ८ महिने कार्यकालमा महिला जनप्रतिनिधिले भूमिकाविहीन भएर बिताएका छन् ।

‘ताली बजाउने र साक्षी बस्नेबाहेक अरू कुनै पनि भूमिका दिइएको छैन,’ ढकारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी साउदले भनिन्, ‘गैरसरकारी संस्था, विकास निर्माणका उपभोक्ता समिति, अनुगमन र न्यायिक समितिका काम पनि कर्मचारीसँग मिलेर पुरुष जनप्रतिनिधिले नै गरिरहेका छन् ।’ गाउँपालिकाका विकास निर्माणदेखि कुनै पनि गतिविधिका विषयमा उनलाई कहिल्यै जानकारी हुँदैन । ‘मैले आजसम्म सार्वजनिक कार्यक्रममा जाने र जनप्रतिनिधि हुँ भनेर चिनाउने अवसरसमेत पाएकी छैन । कतै हस्ताक्षर गर्नुपर्‍यो भने मात्र अध्यक्ष र कर्मचारीले खोजी गर्ने गरेको उनले बताइन् ।

‘आफूले पाएको जिम्मेवारी आफ्नो ढंगले पूरा गर्न पाइरहेकी छैन,’ तुर्माखाद गाउंँपालिका उपाध्यक्ष अमृता बुढा हरेक काममा पुरुष प्रतिनिधिको हस्तक्षेप हुने गरेको बताउँछिन् । ‘न्यायिक समिति गठन भएको दुई महिना भयो तर एउटा पनि मुद्दा टुंगो लाग्न सकेको छैन,’ उनले भनिन्, ‘महिला जनप्रतिनिधिको क्षमतालाई स्वीकार नै गर्दैनन् ।’

दर्ता भएका मुद्दामध्ये २ वटा जग्गा बाहेकका अरू मुद्दा महिला हिंसा, घरेलु हिंसा, छूवाछूतसँग सम्बन्धित रहेको बुढाले बताइन् । ८ वटा वडा रहेको तुर्माखाद गाउँपालिकामा महिला वडा सदस्य, दलित महिला वडा सदस्य, कार्यपालिका सदस्य र उपप्रमुख गरी १७ जना महिला जनप्रतिनिधि छन् ।

चौरपाटी गाउँपालिकाका उपाध्यक्ष माया कुँवरले महिला जनप्रतिनिधिलाई पुरुष जनप्रतिनिधिले मात्र नभई कर्मचारीले पनि नटेर्ने गरेको गुनासो गरिन् । ‘महिला त हुन् । यिनीहरूले केही गर्न सक्दैनन् भन्ने सोचेर हेप्न खोज्छन्,’ उनले भनिन्, ‘महिलाको क्षमतामाथि शंका गर्छन् । विश्वास गर्दैनन् ।’

उपभोक्ता समिति गठन गर्दा उपप्रमुखको समन्वयकारी भूमिका हुने भए तापनि त्यसमा पुरुषले नै दाबी गर्ने गरेको कुँवरले सुनाइन् । ‘गाउँपालिकामा के कार्यक्रम गर्ने ? कसरी गर्ने भन्नेबारे हुने निर्णय अन्तिममा मात्र जानकारी हुन्छ । ताली बजाउनका लागि मात्र महिलालाई प्रयोग गर्छन् ।’ गाउंँपालिकामा उनीसहित १५ महिला जनप्रतिनिधि कामविहीन भएका छन् ।

प्रकाशित : वैशाख ४, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?