१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

४ वर्षमा १ सय १० को मृत्यु

सवारी दुर्घटना
मोहन शाही

डोटी — ७ नं. प्रदेशमा सबैभन्दा बढी सवारी दुर्घटना हुने डडेल्धुरा र डोटीमा ४ वर्षको अवधीभित्र १ सय १० जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय डोटी र जिल्ला ट्राफिक कार्यालय डडेलधुराको तथ्यांक अनुसार ४ वर्षको अवधीमध्ये आर्थिक वर्ष ०७१/०७२ मा सवैभन्दा बढी दुर्घटना भएका छन् ।

४ वर्षमा १ सय १० को मृत्यु

डोटी–

आर्थिक वर्ष ०७१/०७२ मा डोटीमा ३३ जनाको मृत्यु ५ वटा सवारी दुर्घटनाबाट भएको छ । डडेल्धुरामा सोही वर्षमा १२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नगारीले बताए । पछिल्लो समय दुर्घटना हुनेमा सबै भन्दा बढी ग्रामिण सडकका छन् । अनियमित तरिकाले मापदण्ड विपरित बनेका सडकमा गुड्ने सवारी साधन बढी दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रबक्ता प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले बताए । उनले सवारी दुर्घटना न्यूनीकरणका लागि कडारुपमा नियमन गरेपनि सफल हुन नसकेको प्रति असन्तुष्ट ब्यक्त गरे । ‘ग्रामिण सडक र सवारीचालकको लापरबाही सवारी दुर्घटनाका मुख्य कारण देखिएका छन्’ प्रबक्ता सिंहले भने, ‘हामीले हाइवे क्षेत्रमा जति कडाई गरेपनि पछिल्लो समय ग्रामिण क्षेत्रमा दुर्घटना बढिरहेका छन् ।’

प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद खत्रीले ग्रामीण सडकमा सवारी चलाउन आफुले अनुमति नदिएको बताए । उनले नियम बिपरित सवारी साधन चलाउने ब्यवसायीहरूलाई प्रशासनमा बोलाएर सचेतीकरण गरिरहेको तर्क गरे । यातायात ब्यवसायीहरू पनि सवारी दुर्घटना हुनुको मुख्य कारण सडकको दुरावस्थालाई दोष दिने गर्छन् । शैलेश्वरी यातायात ब्यवसायी समितिका अध्यक्ष गणेश मलासीले ग्रामिण सडकमा सवारीसाधन चलाउनु आफुहरूको जबर्जस्ती नभएर यात्रुको दबाब रहेको बताउँछन् । ‘हामी यस्ता कुरामा ब्यावसायिक रुपले बढी ध्यान दिन्छौं, यात्रुहरू गएनन् भने किन गाडी चलाउथ्यौं र ?’, मलासीले भने, ‘जान नचाहे पछि यात्रुहरू दबाब दिएर लैजान्छन् हामी के गरौं ?’ डडेल्धुराको राइमोड, भातकाडा, सकायल क्षेत्र र डोटीको छतिवन,गैरागाउ, सानागाउ, चौखुट्टेमा बढी सवारी दुर्घटना हुने गरेको छ ।

सवारी चालकले मदिरा पिएर सवारीसाधन चलाउने, सवारी अनुमति पत्र नलिएर काम चलाउने, कलिलो उमेरमै गाडी चलाउने जस्ता कारणले बढी सवारी दुर्घटना हुने गर्छन् । ‘त्यसमा पनि ९० प्रतिशत सवारीचालक नै बढी दोषी छन्’ जिल्ला प्रहरीका प्रबक्ता सिंहले भने, ‘फेरी ग्रामिण सडकमा त्यस्तै सवारीचालकले चलाउँदा बढी दुर्घटना हुने कारण छन् ।’ ग्रामिण क्षेत्रका सडकमा ओभरलोड भर्ने, युवतीहरूसँग जिस्कने, समयको ख्याल नगर्ने, दु्रत गतिमा सवारी चलाउने कारणले पनि दुर्घटना बढी हुने गरेका छन् । डोटीमा आर्थिक वर्ष ०७१ /०७२ मा ५ वटा सवारी दुर्घटनाबाट ३३ को ज्यान गएको छ भने ७४ घाइते छन् । सोही आर्थिक वर्ष डडेल्धुरामा भने ४ दुर्घटनामा १२ को मृत्यु ३२ घाइते भएका छन् । ०७२ /०७३ मा १३ को मृत्यु ७ घाइते, ०७३/०७४ मा १० को मृत्यू ७ घाइते, चालु आवमा २२ को मृत्यु ६७ जना घाइते भएका थिए ।

त्यस्तै डडेल्धुरामा आर्थिक वर्ष ०७१/०७२ मा १२ को मृत्यू र ३२ जना घाइते भएका छन् । त्यस्तै ०७२।०७३ मा ७ जनाको मृत्यू तथा १५ जना घाइते, ०७३/०७४ मा १० जनाको मृत्यु ५६ जना घाइते, चालु आवमा ३ को मृत्यु ३ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय डडेल्धुराका इन्चार्ज गणेश सिंह नगारीले जानकारी दिए ।

प्रकाशित : वैशाख ५, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?